आठौँ पार्टी पुनर्गठन दिवस

मानिसको व्यक्तिगत जीवनमा जस्तै क्रान्तिकारी पार्टीको जीवनमा पनि केही दिनहरू विशेष दिनका रूपमा सम्झिइन्छन् र मनाइन्छन् । मङ्सिर ८ नेकपाका लागि विशेष दिन हो । माओवादी आन्दोलनलाई अलपत्र छाडेर भागेका गद्दारका साथै अकर्मण्यतामा रुमल्लिरहेका छद्म संशोधनवादी र जडमतिवादसँग सम्बन्धविच्छेद गर्दै क्रान्तिको लालझन्डा पुनः उठाइएको दिन भएकाले यो दिन नेपालका क्रान्तिकारीहरूका लागि मात्र नभएर संसारकै परिवर्तनका पक्षधरहरूका लागि विशेष स्मरणीय दिन हो । यो दिन नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा जनताले आफ्नै जनमुक्ति सेना निर्माण गरेको ऐतिहासिक दिन पनि हो । त्यसैले यो दिन क्रान्तिकारीहरूका लागि उत्सवको दिन हो । नयाँ प्रतिबद्धता व्यक्त गरेर कार्यान्वयनमा अघि बढ्नुपर्ने दिन पनि हो ।

‘निरन्तर क्रान्ति जनताका लागि निरन्तर उत्सव हो’ भनेर कमरेड माओले क्रान्ति जारी रहेको समयमा गर्नुभएको उद्घोष सार्वभौम छ । नेकपाले ‘वैज्ञानिक समाजवाद स्थापना गरौँ’ भन्ने नाराका साथ यस वर्ष पनि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी उल्लासमय ढङ्गले आठौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको छ । एकीकृत जनक्रान्ति जारी रहेको र यसले वैज्ञानिक समाजवाद स्थापनाको सम्भावनालाई नजिकै ल्याइरहेको अवस्थामा नेकपाले हिजो संशोधनवादमा पतन भइसकेका पुष्पकमल दाहालहरूसँग गरेको विद्रोह र अकर्मण्यतावादसँग गरेको सम्बन्धविच्छेदको औचित्य अझ बढी सान्दर्भिक, अर्थपूर्ण र अपरिहार्य प्रमाणित हुँदै गएको छ ।

गतवर्ष सातौँ पार्टी पुनर्गठन दिवस मनाइरहँदा पार्टीमाथि केपी वली–पुष्पकमल दाहाल नेतृत्वको पुरानो सत्ताले लगाएको प्रतिबन्ध जारी थियो । तत्कालीन वली सरकारले पार्टीमाथि दमन बढाइरहेको थियो । पार्टी नेता–कार्यकर्ताका घरघरमा छापामार्ने, गिरफ्तार गर्ने र जेल–हिरासतमा लगेर यातना दिने क्रम बढाइएको थियो तर पनि सरकारी दमनको प्रतिरोध गर्दै पुरानो सत्ताभ्रमलाई निस्तेज पार्दै पार्टीको हेडक्वार्टरदेखि एकाइसम्मले क्रान्तिकै मैदानमा उल्लासपूर्वक पार्टी पुनर्गठन दिवस मनाएका थिए । जनतामा थप क्रान्तिकारी रक्तसञ्चार प्रवाह भएको थियो । नेकपाको आफ्नो विचार र कार्यक्रमप्रतिको दृढता र पार्टी पुनर्गठन दिवसको धक्कापूर्ण कार्यक्रमले समेत दलाल सरकारलाई पार्टीमाथि प्रतिबन्ध हटाउन दबाब परेको थियो ।

यस वर्षको पार्टी पुनर्गठन दिवससम्म आउँदा राष्ट्रिय राजनीतिक अवस्था केही परिवर्तित भएको छ । दलाल पुँजीवादी सत्ता चरम सङ्कटतर्फ धकेलिएको छ । आफूहरूलाई कम्युनिस्ट भन्दै जनताको झन्डै दुई तिहाइ मत प्राप्त गरेको दाबी गर्ने केपी वली र पुष्पकमल दाहाल महोदयले जनताको मत र पार्टीको झन्डा दुरुपयोग गर्दै जनतालाई फेरि धोका दिएका छन् । छट्टु स्यालले आकाशतिर चिल देखाएर भुइँको चल्ला चोरेझैँ जनताको भावना चोरेका छट्टु स्यालहरूले एकापसमा ‘गाँड कोराकोर’ र कुस्ताकुस्ती गरेर वामपन्थी मत दलाल पुँजीवादको अगुवा काङ्ग्रेसको पोल्टामा सुम्पिदिएका छन् । सत्ताको सडेगलेको अवस्था र सरकारका घिनलाग्दा चरित्रका कारण जनता यो दलाल पुँजीवादी संसदीय व्यवस्था नै असफल र बदनाम रहेको निष्कर्षमा पुगेका छन् । जनताले यो सत्ताको विकल्प छिटोभन्दा छिटो दिन नेकपालाई आह्वान गरेका छन् ।

यसै सन्दर्भमा सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको छ भने पार्टीले यो सत्ताको विकल्पमा प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनाको कार्यक्रम अघि सारेको छ । सरकार र नेकपाबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन भएको भए यतिबेला सत्ता र विद्रोही पक्षबीच सत्ता–सङ्कट समाधानका लागि नयाँ अर्थात् नेकपाले अघि सारेका विषयहरूमा वार्ता सुरु भइसकेको हुने थियो । तर दलाल सत्ताको चरित्र रूपान्तरण नभएकाले उसले सहमति कार्यान्वयन नगर्दा पुरानो सत्तासँगको वार्ता अघि बढ्न सकिरहेको छैन । पार्टी पुनर्गठन दिवसका अवसरमा देश र विदेशमा आयोजित कार्यक्रमहरूमा समवेत स्वरहरू उठेका छन्– सरकार सहमति कार्यान्वयन गर र निकास देऊ ।

कम्युनिस्ट नाउँका अरू समूह र दलहरू केवल सर्पका काँचुली हुन् । नजिक पुगेर नहेर्दासम्म काँचुलीले पनि सर्प वा शरीरको भ्रम दिन सक्छ । असली शरीर त क्रान्तिको मैदानमा छ । काँचुलीको भ्रममा परेकाहरू क्रमशः भ्रममुक्त बनिरहेका छन् । जनताको चेतनासँगै पार्टी पुनर्गठनको औचित्य पनि प्रमाणित भइरहेको छ र वैज्ञानिक समाजवाद स्थापना अब परिकल्पनाको नभएर व्यावहारिक विषय बन्दै गएको छ । आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा क्रान्तिकारीहरूले नयाँ प्रतिबद्धता व्यक्त गर्नुपर्दछ– मरणोन्मुख दलाल पुँजीवादलाई बलपूर्वक अन्त्य गरेर त्यसको चिहानमा वैज्ञानिक समाजवादको झन्डा फहराइनेछ र त्यो निकट भविष्यमै कुशलतापूर्वक सम्पन्न हुनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :