आठौँ पार्टी पुनर्गठन दिवस भव्य बन्दै

वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौँ : नेकपा

आठौँ पार्टी पुनर्गठन दिवस भव्य बन्दै

काठमाडौँ : संसारलाई ब्युँझाउने र झकझक्याउने गरी नेपाली भूमिमा सञ्चालित महान् जनयुद्धलाई दुष्ट जादुगरले जस्तै सम्झौता र षड्यन्त्रमा टुङ्ग्यएर पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू दुस्मन क्याम्पतिर जीवनको भिक माग्दै र भाग्दै गरेको समयमा क्रान्तिकारीहरूले २०६९ सालमा क्रान्तिको झन्डा उठाएका थिए । क्रान्तिकारी आशावाद बोकेको मालेमाको त्यही क्रान्तिकारी धारले झन्डै अढाइ वर्षसम्म क्रान्तिकारीहरूलाई समेट्दै छरपस्ट पारिएका सहिद र बेपत्ता योद्धाका सपना समालेको थियो । मोहन वैद्य ‘किरण’ को नेतृत्वमा सङ्गठित क्रान्तिकारी आन्दोलनभित्र छद्म रूपमा डेरा जमाएका मुख्यतः रामबहादुर थापा, देव गुरुङलगायत संशोधनवादीहरूका कारण त्यो पार्टीलाई पनि क्रान्तिकारी कार्यदिशा तय गर्न, क्रान्तिकारी कदम चाल्न र त्यसका लागि क्रान्तिकारी कार्यक्रम निर्माण गर्न बाधा परिरहेको थियो । त्यसैले विप्लव नेतृत्वमा क्रान्तिकारीहरूले सबैखाले संशोधनवाद, अवसरवाद र छद्म संशोधनवादका विरुद्ध विद्रोहको झन्डा उचालेको दिन थियो ८ मङ्सिर २०७१ को दिन । हो, त्यही दिनमा नेकपाले पार्टी पुनर्गठन गरेर मालेमामा विकास गरी एकीकृत जनक्रान्तिको क्रान्तिकारी कार्यदिशा तय गर्ने उद्घोष गरेको थियो । त्यो दिन अर्थात् पार्टी पुनर्गठन भएको मङ्सिर ८ गतेको दिन नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक बन्यो ।

किरणको नेतृत्वमा रहेको तत्कालीन पार्टीमा गम्भीर असहमति भएपछि क्रान्तिकारी धारको नेतृत्व गर्ने माओवादी नेता विप्लवले पार्टी नेतृत्वले लिएको विचार, नीति, शैली र व्यवहारसँग असहमति जनाउँदै बुझाएको सम्बन्धविच्छेदपत्रमा लेखएको थियो, ‘कमरेडका अभिव्यक्तिहरू पनि पूर्वाग्रहले खचाखच भरिएका एवम् असहिष्णु अनुभूत गरियो । उहाँको यो प्रस्ताव र भनाइहरूलाई स्वीकार्ने हो भने पार्टी राजनीतिक रूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ, साथसाथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको परिणाममा पु¥याउनेछ । यो प्रस्तावलाई कुनै पनि क्रान्तिकारीले स्वीकार गर्न सम्भव छैन ।’

पुष्पकमल दाहाल–बाबुराम भट्टराईहरूले क्रान्ति विसर्जन गरे भनेर विद्रोह गरेको पार्टीले पनि अढाइ वर्षसम्म क्रान्तिकारी कार्यदिशा र कार्यक्रम अघि बढाउने कुनै सुरसार नगरेपछि विप्लवको नेतृत्वमा क्रान्तिकारी युवाहरूले अर्को विद्रोह गरेका थिए । विद्रोह गर्नुपर्ने कारणहरू प्रस्ट पार्दै तत्कालीन पार्टी सचिव विप्लवले किरणलाई पत्रमा लेखेका थिए, ‘उल्लिखित परिस्थितिमा हामीले कमरेड किरणसहितको नेतृत्वसँग एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौँ । जब क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रूपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम–कार्यमा एकअर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउन चाहन्छौँ ।’

नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र जनक्रान्तिलाई गुणात्मक गति दिनका लागि गरिएको ऐतिहासिक कदम थियो । यो आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र छद्म संशोधनवादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय थियो । जनयुद्ध सञ्चालन गरेका नेताहरू असफल एवम् बदनाम संसद्वादमा पतन भएपछि क्रान्तिकारीले उठाएको क्रान्ति र विद्रोहको झन्डा थियो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र नयाँ आधारमा पुनर्सङ्गठित विद्रोह थियो । पार्टी पुनर्गठनपछि नेकपाले तय गरेको कार्यदिशा, नीति र कार्यक्रमहरूले पार्टी र अन्दोलनलाई देश, जनता र श्रमिक वर्गको मुक्तिको दिशातिर लगेर पुनर्गठनलाई व्यावहारिक रूपमै प्रमाणित गर्दै लगेको देखिन्छ ।

हो, यही स्पिरिटमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले यस वर्ष पनि पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाएको छ । ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौँ’ मूल नाराका साथ मङ्सिर ६, ७ र ८ गते देशभरि विभिन्न रचनात्मक काम गरी नेकपाले आठौँ पार्टी पुनर्गठन दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय समिति, देशभित्रका ७७ वटै जिल्ला समिति, विभिन्न जवस, मोर्चाहरू, विभागहरू र विदेशमा रहेका पार्टी समितिहरूले पनि तीनै दिन उल्लासमय ढङ्गले पार्टी पुनर्गठन दिवस मनाइरहेका छन् । पार्टीले ६ गते मोटरसाइकल र्याली आयोजना गरी पार्टी पुनर्गठन दिवसको प्रचारप्रसार गर्ने, पोस्टरिङ गर्ने, मङ्सिर ७ गते अतिरिक्त क्रियाकलाप, कविता, लोकगीत, वक्तृत्वकला प्रतियोगिता, ७ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिरजात्रा गर्ने, चियापान, युवा मार्च र बेलुका बजार, चोक र घरघरमा दीप प्रज्वलनका साथै उपहार आदानप्रदान गर्ने कार्यक्रम तय गरेको थियो । पूर्वघोषित कार्यक्रमअनुसार देशभर दुई दिनका कार्यक्रम सम्पन्न भइसकेका छन् भने सिङ्गो पार्टी र जवस/मोर्चाहरू ८ गतेको कार्यक्रमको पूर्ण तयारीमा छन् ।

६ देखि ८ गतेसम्म पार्टी पुनर्गठन दिवसका अवसरमा तय गरिएका कार्यक्रमहरूमा नेकपाका नेता–कार्यकर्ताहरूले सरकारसँग भएको तीनबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब दिइरहेका छन् भने प्रगतिशील संयुक्त सरकार, जमतसङ्ग्रह र वैज्ञानिक समाजवाद स्थापनाका पक्षमा बहस, अन्तरक्रिया, गोष्ठी र शुभकामना आदानप्र्रदान गरिहरहेका छन् ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो । प्रतिबन्ध फुकुवा भएपछि यो वर्ष नेकपाले विशेष तयारीका साथ आठौँ तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाएको हो ।

जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :