यसकारणले सम्बन्धविच्छेद

यसकारणले सम्बन्धविच्छेद

आदरणीय कमरेड किरण
अध्यक्ष, ने.क.पा.—माओवादी

विषय : जानकारी गराएको बारे

कमरेड, हाम्रो पार्टीमा केही समयदेखि नेपाली क्रान्ति र क्रान्तिकारी पार्टी निर्माणका विषयमा निकै गम्भीर र पेचिला बहस र सङ्घर्ष चल्दै आएको प्रस्टै छ । हामीले ती विषयलाई उचित समाधान दिन समूहगत रूपमा र एक्लाएक्लै निरन्तर अन्तरक्रिया, बहस र सङ्घर्ष गर्दै पनि आयौँ । परन्तु ती मामिलाहरू हल हुनुको सट्टा झन् गहिरिँदै गए । केन्द्रीय समितिको बैठकमा कमरेड किरणले पेस गर्नुभएको प्रस्तावसम्म पुग्दा त सँगै बस्न र सहकार्यमा रहन नै असम्भव बन्न पुग्यो । तिनको कारण निम्नानुसार रहेका छन् :

१) नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा गम्भीर अन्तरहरू देखापरे । पदाधिकारी र पीबीको छलफलबाट ती विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी निष्कर्ष निकाल्ने कुरा भयो । राष्ट्रिय सम्मेलनका लागि दस्ताबेजहरूसमेत तयार भए । जब दस्ताबेजहरू तयार भए, हठात् सम्मेलनलाई रोक्ने कुरा अगाडि आयो । सम्मेलन गरेर समाधानतिर जाऊँ, सके एउटै दस्ताबेज बनाऊँ नभए सम्मेलनमा आएका प्रतिनिधिहरूले जे पास गर्दछन् त्यसैलाई मानेर जाउँ भन्दा नेतृत्व तयार हुन सकेन । अन्ततः सम्मेलन स्थगित हुन पुग्यो ।

दसैँअगाडि कमरेड किरणसँग भेटी यथाशीघ्र पूर्ण केन्द्रीय समितिको बैठक बोलाई पार्टी दुई लाइन सङ्घर्षका विषयलाई विशेष महाधिवेशनमा लगेर समाधान गरौँ भनेर आग्रह गर्यौँ । कमरेड किरणले महाधिवेशनको कुरै छोडौँ, केन्द्रीय समितिको बैठकसमेत बोलाउन अस्वीकार गर्नुभयो । नेतृत्वको यो रबैयाले राजनीतिक परिस्थितिले सुम्पिएको सर्वहारा वर्गको कार्यभार कमजोर बन्न जाने अवस्था देखापर्यो ।

२) राजनीतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी र दलाल पुँजीवादीहरू देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रूपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रित बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक राजनीतिक पहलसहित केन्द्रीकृत र ध्रुवीकृत गर्न जरुरी छ । यसका लागि कमरेड किरणलाई यथाशीघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा पनि ग्रहण र मनन गर्ने अवस्था रहेन ।

प्रतिक्रान्ति र प्रतिक्रियावादी षड्यन्त्रबाट देश र जनतालाई बचाउँदै नेतृत्व गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने विषयमा हाम्रा बीचमा सहमति हुन नसकेपछि हाम्रो दस्ताबेजसँग सहमति राख्ने कमरेडहरूलाई देशभरिबाट बोलाई सुझाव लिने काम गर्नुपर्ने अवस्था आयो । विचार मिल्नेहरूसँग सबैले अन्तरक्रियाहरू गरिरहेकै थियौँ । हामीले पनि त्यही सिलसिलामा अन्तरक्रिया गर्यौँ । यसको मुख्य कारण समग्र पार्टी नेतृत्व क्रान्तिको उचित पहल गर्ने जिम्मेवारीबाट अलग हुन पुगेपछि कुनै न कुनै रूपमा उक्त पहललाई अगाडि बढाउनुपर्ने महसुस हुन पुग्नु थियो ।

३) पार्टी गम्भीर मोडमा पुगेको स्थितिमा पनि नयाँ आधारमा नयाँ सहमति भई अग्रगामी समाधान आउँछ भने त्यो उचित हुन्छ भन्ने ठानी हामी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी बन्यौँ । परन्तु सारा कमरेडहरूको अपेक्षाविपरीत कमरेड किरणले हदै मनोगत, अमर्यादित, पूर्वाग्रही, फुटपरस्त प्रस्ताव पेस गर्नुभयो ।

कमरेडका अभिव्यक्तिहरू पनि पूर्वाग्रहले खचाखच भरिएका एवम् असहिष्णु अनुभूत गरियो । उहाँको यो प्रस्ताव र भनाइहरूलाई स्वीकार्ने हो भने पार्टी राजनीतिक रूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ, साथसाथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको परिणाममा पुर्याउनेछ । यो प्रस्तावलाई कुनै पनि क्रान्तिकारीले स्वीकार गर्न सम्भव छैन ।

उल्लिखित परिस्थितिमा हामीले कमरेड किरणसहितको नेतृत्वसँग एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौँ । जब क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रूपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम–कार्यमा एकअर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउन चाहन्छौँ ।

प्रिय कमरेडहरू, नेपाली राजनीतिक वर्गसङ्घर्षको विशिष्ट वस्तुगत अवस्थाले हाम्रो सहकार्य हाललाई टुटे पनि हामी सबै नेपाली जनता, पार्टी, क्रान्ति, सर्वहारा वर्ग र वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित रहँदै जाँदा नयाँ सहकार्यको सुनौलो अवसर पनि प्राप्त हुनेछ भन्ने विश्वास छ । निश्चय नै यो हाम्रो जीवनको अप्रिय निर्णय हो ।

परन्तु यसलाई हामीले कुनै व्यक्तिगत आग्रह–पूर्वाग्रहको उपज नठानी एक–अर्काप्रति सरल र शिष्ट बन्दै क्रान्तिको नयाँ प्रक्रियामा अगाडि बढौँ भन्ने विशेष अपिल गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित ।
विप्लव
(सचिव)
ने.क.पा.—माओवादी
मिति : ८ मङ्सिर, २०७१

(छुट्टिने बेला क. विप्लवले क. किरणलाई लेखेको पत्र)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :