धरान हिरासतमा कमरेड वीरजङ्गसँग

धरान हिरासतमा कमरेड वीरजङ्गसँग

एकजना जुझारु र पाको कमरेड वीरजङ्गको असामयिक निधनले पार्टीपङ्क्ति, नेतृत्व र जनतालाई स्तब्ध र दुःखी बनाएको छ । कमरेड वीरजङ्गका विषयमा स्मृतितत्व र संश्लेषण (कर्म र व्यक्तित्व) भइरहेका छन् । ‘बलिदानलाई प्रतिरोधसँग जोड्ने’ प्रक्रिया चलिरहेको छ । कमरेड वीरजङ्ग र म केही महिनाअघि मात्र सुनसरी जिल्लाको धरान इप्रका हिरासतमा केही दिन एउटै कक्षमा थियौँ । यो लेखमा त्यही ‘स्मृति–तत्व’ उधिन्ने प्रयास गरिनेछ ।

गिरफ्तार हुनुभन्दा अगाडि नै कमरेड वीरजङ्गलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । दाङ जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि केही समय जेल बसेर उहाँले धरौटी बुझाउनुभयो । त्यसपछि अदालत परिसरबाटै गिरफ्तार गरेर काठमाडौँ लगियो र धुलिखेल हिरासतपछि अड्डासार गर्दै धरान इप्रका पुर्याइएको थियो । धरान पुर्याउँदा भोजपुर र सङ्खुवासभा जिल्ला हिरासतबाट धरान पुर्याइसकेको थियो जहाँ हाम्रो भेट भएथ्यो ।

लेखक : अनिल शर्मा

धरान हिरासतमा म एक्लै थिएँ । एक दिन प्रहरी निरीक्षकसहित एउटा टोली आयो । ‘सर एक्लै हुनुहुन्छ, साथी ल्याइदिऊँ ?’, निरीक्षकले सोधे । मलाई कुनै थप साथीहरू पक्राउ भए कि भन्ने लाग्यो । जिज्ञासा राखेँ । उनीहरूले कसैलाई पनि गिरफ्तार नगरेको बताए । त्यसपछि ‘कसैलाई कतैबाट ल्याउँदै हुनुहुन्छ कि ? मेरो प्रश्न थियो । त्यसपछि प्रहरीहरूले को होला अनुमान गर्नुस् त भने । मैले चितवन हुँदै उहाँलाई भोजपुर लगेको थाहा पाएको मात्र होइन, धुलिखेलबाट भोजपुर लगेको समाचार प्रकाशित गर्न ढिलो भएकोमा सम्बन्धित कमरेडहरूप्रति गुनासो पनि गरेको थिएँ । तिनै घटना र सन्दर्भहरू सम्झिएँ । ‘वीरजङ्गलाई ल्याउँदै हुनुहुन्छ ?’, मेरो जिज्ञासा थियो । ‘कसरी थाहा पाउनुभयो ?’, हाँस्दै प्रहरी निरीक्षकले भने । अर्को सादा पोसाके प्रहरीले ‘आफ्नो मान्छे कता–कता छन्, के हुँदैछ, थाहा भइहाल्छ नि हैन !’ भन्यो । अब कैयौँ दिनदेखिको एकान्तपन टुट्ने भयो भनेर एकप्रकारको खुसी भइयो । यता जवानहरूले उहाँका लागि प्रहरीकै खाट ल्याए । प्लास्टिकको गुन्द्री र फल्याक भुइँमा राखिदिए । भुइँमा पानी जमेका कारण बस्न खाट दिएका थिए । जेल र हिरासतमा अपवादबाहेक खाट दिइन्न । अबेर वीरजङ्ग आउनुभयो । आउनुभयो के भन्नु ल्याइनुभयो । त्यसपछि हाम्रा बीचमा भलाकुसारी हुन थाल्यो ।

धुलिखेलबाट भोजपुर लग्दा सयौँ प्रहरी चौकीमा ओराल्ने र चढाउने गरेर उहाँलाई हैरान पारिएको थियो । सप्तरीमा त चर्पीको गुहेकीरा यत्रतत्र स्याउँस्याउँ भएको कोठामा रातभरि थुनिएको थियो । त्यहीँ फोहोर थालमा खाना ल्याइदिएछन् । ‘के हामी पशु हौँ ? यस्तो कोठा बस्न, खाना खान सकिन्छ ? तेरो भात लात्ताले उछिट्टिने गरी हानौँ ?’ भनेपछि अर्को कोठामा लगे । अर्को खाना दिए । त्यो सम्झिँदा अहिले पनि दिग्मिग हुन्छ सर– उहाँले भन्नुभएको थियो । भोजपुर जेलमा उहाँलाई ढाकाटोपी खरिद गर्न बाध्य गरिएको थियो । भोजपुरमा धर्मनिरपेक्ष राज्य भेटिन्न । नेपाली राष्ट्रिय पोसाक पञ्चायतकै निरन्तरता छ । उहाँबाट सूचना लिएर मैले ‘भोजपुर जेलमा पञ्चायती भूत’ शीर्षकमा समाचार बनाएर बाहिर पठाएको थिएँ । उहाँलाई सङ्खुवासभा जिल्लामा अँध्यारो कोठामा थुनेका थिए र हैरान परिएको उहाँको अनुभूति थियो । सङ्खुवासभाको जिल्ला हिरासत नयाँ भवन भएकाले हामीले भने त्यस्तो अुनभूति गरेनौँ । म वीरजङ्गभन्दा पछि पुगेको थिएँ । वीरजङ्गको त्यस्तो अुनभूतिका कारण छलफल गर्ने अवसर मिलेन ।

धरान हिरासतले उहाँको कोभिड १९ परीक्षण गर्यो । असई आएर हामीलाई टाढाटाढा भनेर गयो, कारण भनेन । हामी सतर्क थियौँ । खाने कुरा, लुगा, पुस्तक, कलमसमेत अलग–अलग गथ्र्यौं । धरान हिरासतमा आएको अर्को दिन बिहान ‘सर, आज त चोँचे खाने है’ भन्नुभयो । हामीले चोँचे मगायौँ । होटेलको केटा ‘इलामको कालो बङ्गुर’ विज्ञापन गर्दै थियो । ‘काठमाडौँमा धराने कालो बङ्गुर भन्छन्, धरानमा इलामे भन्दैछौ नि भाइ ?’, मैले भनेँ । ‘इलाममा दार्जिलिङ्गे कालो बङ्गुर भन्छन्, सर्दै जान्छ हजूर !’, उसले भन्यो । अर्को दिन सुमनकी आमा (झापा) र जमुनासहित दुईजना धराने पत्रकार भेट्न आएका थिए । प्रतिबोध साप्ताहिक हेर्दै उहाँ धरानबाट यत्ति राम्रो पत्रिका निस्कँदो रहेछ है भन्नुहुन्थ्यो । राजनीतिक कुरा हुँदा उहाँ पटक–पटक ‘सत्ता कत्ति निर्मम हुनसक्दो रहेछ है ?’ भन्नुहुन्थ्यो । यस्तो छलफल चलिरहेको हुन्थ्यो । एक दिन प्रहरी आएर ‘दाइ तपार्इंलाई कोरोना देखियो । सुविधा सम्पन्न अस्पताल छ, जाऊँ’ भन्दै लिएर गए । उहाँले घरतिर खबर गरिदिनू तर आउनु पर्दैन भनिदिनुहोला भन्नुभएथ्यो । उहाँको सुझावअनुसार ‘ड्युटी गार्ड’ को फोनबाट प्रकाश डुम्रेलाई खबर गरेँ । उहाँलाई सङ्खुवासभामा नै सङ्क्रमण भएको रहेछ । हाम्रो अनुभवअनुसार भोजपुर प्रहरी स्वास्थ्य मापदण्डप्रति सतर्क र गम्भीर थियो । सङ्खुवासभा ल्याङ्फ्याङ रहेछ । सङ्खुवासभा प्रहरी सबैजसो सङ्क्रमित भइसकेका थिए । अस्पताल जाँदै गर्दा ‘सर मेरो जे पनि हुनसक्छ । हल्ला गरिदिनुहोला । सरकारले हाम्लाई मार्नै चाहेको छ, मारोस् !’ भन्नुभयो । ‘जे पनि हुनसक्छ’ अर्थात् मारिन पनि सक्छु… यस्तो सुन्दा नरमाइलो भयो । मेरो पालो पनि आउने त होला भन्ने लाग्यो । हिरासतमा फेरि एक्लोपन र तनाव सुरु भयो । प्रहरीहरू आधाजसो सङ्क्रमित थिए । प्रहरीहरू आफ्ना साथीहरूलाई बोलाउँदा ‘ए कोरोना’ भन्थे । । जति तनाव हुन्छ, म भने त्यत्ति लेख्न बल गर्थें । विचारधारात्मक र राजनीतिक रुपले प्रतिरोध कायम राख्थेँ ।

उहाँ सायद ५ दिनमै एकान्तबासबाट फर्किनुभयो । फर्काइनुभयो भन्नुपर्ला । ‘दाइले त ५ दिनमै कोरोनालाई जितेर आउनुभयो’, प्रहरीहरूले भनेथे । वीरजङ्गले सुविधा सम्पन्न भनिएको, त्यसरी प्रचार गरिएको अस्पतालको हृदयविदारक कथा–व्यथा सुनाउनुभयो । ‘त्यो त नरक रहेछ सर, त्यहाँ त उपचार होइन, मार्छन् । लालबहादुरको बेहाल छ’, उहाँले भन्नुभयो । त्यसपछि मैले ‘नकरबाट फर्के वीरजङ्ग’ शीर्षकमा समाचार बनाएर सञ्चारलाई पठाएको थिएँ । उहाँ डायरीमा घटनाक्रमहरू टिपिरहनुहुन्थ्यो । मैले रिहा भएपछि ‘डायरी लेख्नुपर्छ’ भनेको थिएँ । ‘मैले किताब लेखेँ भने मान्छे दङ्ग पर्लान् है’, उहाँले हाँस्दै भन्नुभयो ।

वीरजङ्गको टाउकोदुखाइ बढ्दै थियो । एक दिन फेरि प्रहरीले घोपाक्याम्प अस्पताल लग्यो । आकस्मिक सेवा कक्षमा जाँच गरियो । चिकित्सकहरूले केही छैन भनेर पठाए । उहाँलाई थप समस्या भयो । प्रहरीले केही घन्टाभित्रै दोस्रोपटक अस्पताल लग्यो तर चिकित्सकले ‘टिकट काटेर भोलि आउनुस्, अनावश्यक दुःख दिने ?’ भनेछ । उहाँ ‘म रमाइलो गर्न आएको हो र !’ भनेर जङ्गिनुभएछ । हामीलाई अदालतमा पेस गर्ने दिन अर्थात् थुनछेक आदेश हुने दिन नजिकिँदै थियो । हामीलाई कता लग्ने हुन्, थाहा थिएन । ‘जता लगे पनि एकैतिर लगे हुन्थ्यो, कता–कता लैजाने हुन्’ पटकपटक भन्नुभएको थियो । थुनछेक आदेश भएपछि म भोजपुर, वीरजङ्ग काठमाडौँ र लालबहादुर उदयपुर लगिनुभयो । त्यसपछि हाम्रो कहिल्यै भेट भएन ।

अहिले वीरजङ्ग हाम्रा बीचमा हुनुहुन्न । यतैकतै भैरहेझैँ, कार्यक्रममा, बैठकमा किन नआएको होला भनेझैँ लागिरहन्छ । मेरो अनुभूतिमा उहाँले हिरासतमा असुरक्षित अनुभूति गर्नुभएको, रोग नयाँ नदेखिने तर समस्या बढ्दै गएको थियो । आफ्नो स्वास्थ्यप्रति कम ध्यान दिने, सधैँ कामको तनाव हुन्थ्यो । जनताका बीचमा भएको भए आफन्त र साथीहरूले निगरानी राख्थे । उपचारमा मद्दत हुन्थ्यो । खानपान र औषधी–उपचार मिल्थ्यो तर लामो समय हिरासतमा राखियो । समयमा उपचार भएन । बिरामीमैत्री खाना भएन । जतिबेला रिहा हुनुभयो, धेरै ढिला भइसकेको रहेछ । कमरेड गोन्जालो मर्ने निश्चित भएपछि सैनिक अस्पताल लगिएको थियो । त्यस्तै ओली–बादल गिरोहले कमरेड वीरजङ्गलाई मृत्युको मुखमा पुर्याएर, उपचार र बिरामीमैत्री खानासमेत नदिएर कमरेड वीरजङ्गको हत्या गर्यो । वीरजङ्गको मृत्यु होइन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरेको हत्या हो ।

७ कात्तिक, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :