नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : रणवीर

नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : रणवीर

मन्थली (रामेछाप) : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज भरत बम ‘रणवीर’ ले नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को निधन बलिदान र सहादत स्तरको रहेको बताएका छन् । नेकपा रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा श्रद्धाञ्जली मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा नेता रणवीरले भने, ‘नेकपामाथि प्रतिबन्ध लगाएर, झूट्टा मुद्दा लगाएर, नेताहरूलई जेल हालेर उपचार नगराई मारिएको छ । जेलबाट उपचारका लागि सीधै अस्पताल लगिएका नेता वीरजङ्गको निधन स्वाभाविक मृत्यु नभएर राज्यले उपचार नगरेर र यातना दिएर गरेको हत्या हो । यो सहादत स्तरको निधन हो ।’

पेरू कम्युनिस्ट पार्टी साइनिङपाथका अध्यक्ष गोन्जालो र इटालियन कम्युनिस्ट पार्टीका नेता ग्राम्सीलाई त्यहाँका फासिवादी शासकहरूले जेलमै हत्या गरेजस्तै नेता वीरजङ्गको मृत्यु पनि सामान्य नभएकाले यस किसिमका हत्याका विरुद्ध देशव्यापी भण्डाफोर र प्रतिरोध आन्दोलन आवश्यक रहेको नेता रणवीरको भनाइ थियो । देश, जनता, आफ्नो वर्ग र क्रान्तिका पक्षमा निरन्तर लागिरहने नेता वीरजङ्ग अनुकरणीय चरित्र र स्वभाव भएका व्यक्तित्व भएकाले उनीबाट क्रान्तिकारीहरूले पाठ सिक्नुपर्ने नेता रणवीरले बताए ।

इमानदार र क्रान्तिकारी कम्युनिस्ट नेता वीरजङ्गको निधनले घरपरिवार र पार्टी परिवार दुवै शोकसन्तप्त रहेको भन्दै उनले मर्माहत सबैलाई शोकलाई शक्तिमा रूपान्तरण गर्न र वीरजङ्गहरूको हत्या गर्ने राज्यसत्ताका विरुद्ध विस्फोट हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । समाजका लागि, आमूल परिवर्तन र क्रान्तिका लागि व्यक्तिगत स्वार्थ त्यागेर हिँडेकाहरू नै महान् बन्ने उदाहरण प्रस्तुत गर्दै नेता रणवीरले हामी सबैले गौरवशाली जीवन, गौरवपूर्ण मृत्यु र अमर बन्ने यात्रामा लामबद्ध हुनुपर्ने धारणा राखे ।

नेता वीरजङ्गको जीवनी र सङ्घर्षको इतिहास प्रस्तुत गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले योद्धाहरूको मृत्यु पहाडभन्दा गह्रौँ र कायरहरूको मृत्यु प्वाँखभन्दा हलुका हुने माओको उद्धरण नेता वीरजङ्गको जीवनमा लागू हुने बताए । इमानदारी, जुझारुपन, लगनशील र क्रान्तिकारिताका पर्याय वीरजङ्गको निधन सहादतको स्तरमा रहेको र निधनको प्रकृति कृष्णलाल, गोन्जालो र ग्राम्सीहरूकै स्तरको रहेकाले सहिद घोषणा गर्नुपर्ने धारणा राखे ।

निजी जीवनलाई त्यागेर सिङ्गो परिवारलाई नै क्रान्तिकारीकरण गर्ने नेकपाका नेता वीरजङ्गबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । क्रान्तिका दलाल र गद्दारहरूलाई ललकार्दै हरेक विद्रोहमा क्रान्तिकारीहरूको साथ दिने नेता वीरजङ्ग दुर्लभ त्यागी नेताहरूको कोटीमा अग्रभागमा रहेको उनले सुनाए ।

अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका संयोजक हरि श्रेष्ठले वीरजङ्गको मृत्यु स्वाभाविक नभएर विष ख्वाएर गरिएको हत्या भएको आशङ्का व्यक्त गरे । उनले पार्टीका अरू नेताहरूलाई पनि यसप्रकारको षड्यन्त्रबाट बचेर क्रान्ति अघि बढाउन सुझाव दिए ।

नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षता र सञ्चालनमा सम्पन्न श्रद्धाञ्जलीसभामा नेकपा रामेछापका पूर्वइन्चार्ज तथा सेक्रेटरीहरू तीर्थ कार्की, यमन बस्नेत ‘गुन्जन’, कुलदीप मगर ‘अभिलाष’, विभिन्न जवस मोर्चाका संयोजक, जिल्ला पार्टीका सदस्य र जवस मोर्चाका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :