कमरेड वीरजङ्गका सपना

कमरेड वीरजङ्गका सपना

जन्मपछि मृत्यु हुने कुरा सत्य हो । कतिपयले मृत्यु हुनुलाई जीवनको समाप्ति पनि ठान्ने गरेका छन् तर स्रष्टा र क्रान्तिकारी योद्धाको मृत्यु हुँदैन भन्ने भनाइ भावपूर्ण र अर्थपूर्ण छ । दूरद्रष्टाहरूको जीवन भौतिक उपस्थितिसँग मात्र सीमित रहेको हुँदैन । तिनको त्याग, शौर्य, बलिदान र विचारले प्रवाह गरेको तरङ्गले युगलाई डोलायमान बनाउँछ र प्रभावित पारिरहन्छ । त्यसैले आमूल परिवर्तनका वाहक क्रान्तिकारी व्यक्तित्व, सहिद र स्रष्टाहरूको मृत्युलाई भौतिक अनुपस्थितिमा मात्र सीमित राखिँदैन । ती अमर छन् ।

मृत्यु पनि थरीथरीका हुन्छन् । सामान्य जीवको मृत्यु कुनै चर्चा र स्मरण गर्न लायक विषय बन्दैन । आमजीवको मृत्यु सामान्य र स्वाभाविक हुन्छ । समाज र सभ्यता निर्माणमा कुनै भूमिका नरहेका र महान् आन्दोलनहरूमा दमन गर्ने, धोका दिने शासक र गद्दारहरूको मृत्यु बिर्सनलायक र हलुका, प्वाँख वा कपासजस्तो हुन्छ तर सार्थक जीवन बाँच्ने क्रान्तिकारीहरूको मृत्यु ओजपूर्ण, गौरवशाली, गह्रौँ र अविस्मरणीय हुन्छ । गौरवशाली मृत्युहरू विरलै प्राप्त हुन्छन् र दीर्घकालीन रूपमा सन्देश छोडेर जान्छन् । दुनियाँ बदल्ने आन्दोलन, विद्रोह र क्रान्तिहरूमा भएका बलिदानहरू यसैप्रकारका गौरवशाली मृत्युहरू हुन् । यसप्रकारका महान् मृत्युहरूमा मृत्यु आफैँ पराजित हुन्छ । मृत्यु पनि सम्मानित हुन्छ । सहिदहरूको बलिदान, अग्रज व्यक्तित्वहरूको अवसान यसैप्रकारको स्मरणीय मृत्यु हो अर्थात् कहिल्यै नबिलाउने, नअस्ताउने र सधैँ प्रेरणा दिइरहने मृत्यु हो ।

नेपालको कम्युनिस्ट आन्दोलनका एक इमानदार क्रान्तिकारी व्यक्तित्व नेकपाका केन्द्रीय नेता कमरेड चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को असामयिक निधनले समाजलाई नै प्रभावित पारेको छ । कमरेड वीरजङ्गको असामयिक र दुःखद् निधनले एक महत्वपूर्ण ओज र गरिमा प्राप्त गरेको छ । उच्च बलिदानको कोटामा पर्ने कमरेड वीरजङ्गको बलिदानले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुर्याएको छ । एकीकृत जनक्रान्तिको महान् अभियानमा लामबद्ध भइरहेकै समयमा प्रतिक्रियावादी राज्यसत्ताको हिरासत र जेलभित्रै रहेको समयमा मुटुको जटिल रोगले गाँजेर दुईपटकसम्म अपरेसन भइसकेको अवस्थामा कमरेड वीरजङ्गको दुःखद् निधन भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनका लागि यो अपूरणीय क्षति हो र यसको पूर्ति एकीकृत जनक्रान्तिको सफलता र वैज्ञानिक समाजवाद– साम्यवादको स्थापनाले गर्नेछ ।

आफैँले फाँसीमा झुन्ड्याउनुअघि क्रूर राणाशासकहरूले क्रान्तिकारी युवक गङ्गालालसँग अन्तिम इच्छा सोध्दै जीवनको भिक माग्ने समय उपलब्ध गराएका थिए । त्यो समयको सदुपयोग गर्दै वीर गङ्गालालले भनेका थिए– मलाई निरङ्कुश राणा शासनको अन्त्य भएको र देश र जनता निरङ्कुशताको चङ्गुलबाट मुक्त भएको हेर्न इच्छा छ…। दुस्मनको कालकोठरीमा रहँदै गम्भीर रोगहरूले गाँजेर मृत्युसँग लडिरहेका नेकपाका नेता वीरजङ्गले जीवनको अन्तिम क्षणमा भनेका थिए– देश, जनता र वर्ग अर्थात् मुक्तिकामी आन्दोलनमाथि धोका नहोस् । नेकपाका महासचिव विप्लवले क्रान्तिकारी नेता वीरजङ्गलाई भावपूर्ण बिदाइ गर्दै भनेका छन्– तपाईंको सपना साकार हुनेछ, आन्दोलन र श्रमिक वर्गमाथि धोका हुनेछैन । नेता वीरजङ्गको श्रद्धाञ्जली तथा भावपूर्ण बिदाइका क्रममा महासचिव विप्लवले गरेको यो उद्घोष अत्यन्त अर्थपूर्ण र दीर्घकालीन महत्वको छ । प्रतिक्रियावादीहरू र दलाल संसद्वादीहरूले प्रतिबन्ध फुकुवा गरेपछि नेकपामाथि अनर्गल प्रचार गर्दै आफूजस्तै संसद्वादी बनेको स्यालहुइयाँ मच्चाइरहेका छन् । बिधुवा वा विधुरले ‘आशीर्वाद’ दिँदा मुखले जे भने पनि मनमनले मजस्तै बनेस् भन्छन् रे भन्ने पुरानो कथनलाई पनि ओझेलमा पार्दै दलाल संसद्वादीहरूले नेकपालाई क्रान्तिकारी धार छोडेर संसद्वादी बनेको गम्भीर र सङ्गीन आरोप÷अभियोग लगाउनु उनीहरूको पराजय, दुष्ट्याइँ र लुच्चोपनको पराकाष्टा हो । दलाल संसद्वादीहरूले समाजमा फैलाएको यस किसिमको प्रदूषित हावालाई धक्का दिँदै वीरजङ्गले पार्टीलाई भनेका छन्– आन्दोलन र वर्गलाई धोका नहोस् । यसै विषयलाई गम्भीरता र जिम्मेवारीबोध गर्दै महासचिवले भनेका छन्– तपाईंको सपना साकार हुनेछ, आन्दोलनलाई धोका हुनेछैन ।

नेता वीरजङ्गको आन्दोलनको भविष्यप्रतको चिन्ता र महासचिव विप्लवले नेता वीरजङ्गको शवअघिल्तिर उभिएर क्रान्तिलाई धोका हुनेछैन भनेर व्यक्त गरेको प्रतिबद्धताले दुस्मनहरूका सम्पूर्ण षड्यन्त्र र भ्रमहरूलाई खारेज गरिदिएका छन् र नेपालमा जारी एकीकृत जनक्रान्ति वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना नभएसम्म रोकिने वा मोडिनेछैन भन्ने विषयमा अझै उचाइबाट दृढता व्यक्त भएको छ । यी महान् सपना र उच्च प्रतिबद्धताले नेकपाले यो दलाल संसदीय व्यवस्था खारेज गरी यसको चिहानमा वैज्ञानिक समाजवाद स्थापना गर्न प्रगतिशील संयुक्त सरकार निर्माण गरी जनमतसङ्ग्रहमा जाने पार्टीको कार्यक्रमदेखि जनताको सपनामाथि तुसारापात भएमा विद्रोह गर्ने जनताको अधिकारलाई अझ इस्पातिलो बनाएको देखिन्छ । पार्टी महासचिवले कमरेड वीरजङ्गको सपना साकार पार्न दिएको अभिव्यक्ति र प्रतिबद्धता नेपालका सम्पूर्ण आन्दोलन, युद्ध, विद्रोह र क्रान्तिमा बलिदान गर्ने सहिदहरूको सपना साकार पार्ने र देश र जनतालाई मुक्त पार्ने प्रतिबद्धता हो । यसको भाव र सारलाई सबै क्रान्तिकारीहरूले आत्मसाथ गर्न आवश्यक छ । क्रान्तिकारी नेता एवम् योद्धा वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :