कम्युनिस्ट आन्दोलनमा मेरो अभिभावक कमरेड वीरजङ्ग

कम्युनिस्ट आन्दोलनमा मेरो अभिभावक कमरेड वीरजङ्ग

मानिस जन्मेपछि मृत्यु अनिवार्य हुन्छ । यो सार्वभौम कुरा हो । यति कुरा बुझ्दाबुझ्दै पनि आफ्नो नजिकको साथी गुमाउँदाको पीडा बढी हुन्छ, किन ? चाहे त्यो जस्तोसुकै पात्र होस् मानिस एकछिन स्तब्ध, पीडाबोध र छट्पटाहट अनिवार्य हुन्छ । हामी दैनिक मृत्युको समाचार सुन्छौँ या देख्छौँ । तर सबैमा यस्तो पीडा हुँदैन । समवेदना आउनु मानिसको एउटा स्वाभाविक गुण हो । तर विशिष्ट पात्र गुमाउँदा हुने पीडा अवश्य पनि विचार वा दृष्टिकोणसित सम्बन्धित हुन्छ । चाहे जस्तो दृष्टिकोण भए पनि दृष्टिकोण मिल्यो भने बढी पीडाबोध हुन्छ । त्यो आफूलाई जन्माउने आमाबुबा गुमाउँदा, छोरा गुमाउँदा, जीवनसाथी गुमाउँदा वा कुनै साथी गुमाउँदा होस्, अवश्य पनि पीडाबोध बढी नै हुन्छ ।

यस्तै पीडा मलाई असोज २९ गते बिहान ६ः३० बजे पार्टी सीसीएम कमरेड आस्थाले फोन गरेर ‘दाइ, वीरजङ्ग दाइको खबर थाहा पाउनुभयो कि भएन ? दाइ त एक्स्पायर हुनुभयो’ भनेर भन्नुभयो । मैले धेरै कुरा सोच्न सकिनँ । कहिले र कसरी भनेर मात्रै सोधेँ । त्यसको लगत्तै कमरेड जुझारुको फोन आयो । उहाँले पनि ‘दाइ, वीरजङ्ग दाइको खबर थाहा पाउनुभयो ?’ भनेर सोधेपछि मैले ‘अँ थाहा पाएँ’ भनेर जबाफ दिएँ । त्यत्ति मात्रै बोलेँ, अरू बोल्न सकिनँ । वीरजङ्ग कमरेडको स्वास्थ्य अवस्थाबारे जानकारी मलाई नै हुन्थ्यो तर त्यस दिन घरको वाइफाई बिग्रेको हुनाले नवीन भाइले प्रयास गर्दा पनि सम्पर्क भएको रहेनछ । मैले पछि मोबाइल नम्बरबाट नवीन भाइलाई फोन गरेँ । भाइले फोन उठाए तर रोएर धेरै कुरा बोल्न सकेनन् । मैले पनि धेरै कुरा सोध्न सकिनँ । बोल्ने वाक्य नै रोकिएको थियो । त्यही पनि नआत्तिनू, जे हुने भैहाल्यो भनेँ र फोन राखेँ । त्यसपछि सीधै केन्द्रीय कार्यालयमा गएँ । त्यहाँ जानकारी भइसकेको थियो । सबै स्तब्ध थिए । त्यहाँ हामीले गर्नुपर्ने कामबारे सल्लाह गर्यौँ र सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न लाग्यौँ । अर्थात् हामी वीरजङ्ग कमरेडको अन्त्येष्टिको तयारीमा लाग्यौँ । मैले माथि उल्लेख गरेझैँ थुप्रै कमरेडहरू गुमाइयो । पीडाबोध भयो । आज आफूसँगैको एउटै मोर्चामा काम गरेका योद्धाहरू सहिद हुँदा पीडा अवश्य भयो । तर वीरजङ्ग कमरेडको दुःखद् निधनले मलाई बढी पीडा भयो । पीडा पनि समान हुँदो रहेनछ भन्ने कुरा मैले प्रत्यक्ष अनुभूत गरेँ । यो अनुभूति पनि मेरा लागि एउटा शिक्षा हो किनकि उहाँ मेरो सहयोद्धा मात्रै होइन, उहाँ अभिभावक पनि हो । कम्युनिस्ट आन्दोलनको मेरो अभिभावक हुनुहुन्थ्यो ।

म यो आन्दोलनमा पाइला राख्दै गर्दा प्रेरणा दिने वा हात समाएर अघि बढाउने एउटा कुशल अभिभावक उहाँ नै हो । मलाई कम्युनिस्ट आन्दोलनको सुरुदेखि अहिलेसम्म निरन्तर अभिभावकत्व प्रदान गर्नुभयो । मलाई प्रेरणा दिने बेला प्रेरणा पाएँ, काम बिगार्दा उहाँले रचनात्मक आलोचनाद्वारा मलाई सच्याउनुभयो । सायद यस्तो प्रक्रिया धेरै कमरेडहरूको जीवनमा भएको छ होला जसले उहाँसँग धेरै सङ्गत गर्नुभयो । आज म जुन ठाउँमा उभिएको छु, त्यसको पहिलो श्रेय कमरेड वीरजङ्ग नै हुनुहुन्छ । मैले उहाँबाट विशेषगरी कम्युनिस्ट शिक्षा प्राप्त गरेँ ।

वीरजङ्ग कमरेडबाट लिएको शिक्षा वैचारिक प्रतिबद्धता हो । उहाँ श्रमिक वर्गका पक्षमा सुरुदेखि अन्त्यसम्म वैचारिक प्रतिबद्धता लिएर बस्ने मात्रै होइन, जीवनव्यवहारमा लाग्नुभयो । खराब चिन्तनका विरुद्ध जहिल्यै पनि सङ्घर्ष गर्नुभयो । मेरो स्मरणमा खराब चिन्तनका विरुद्ध सङ्घर्ष गरेको हुनाले दुईपटक त्यस्ता नेतृत्वको सिकार पनि बन्नुभयो किनकि कम्युनिस्ट आन्दोलनभित्र एउटा यस्तो गलत प्रवृत्ति मौलाइरहन्छ, त्यो भनेको कुनै पनि नेतृत्वको आलोचना गरेर त्यो नेतृत्वको सोचाइ गलत छ भने त्यसले आफूलाई आलोचना गर्ने सही कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिको सिकार धेरै कार्यकर्ताहरू बन्दै आएका थिए । त्यसमा उहाँ पनि पर्नुभयो । तर उहाँ निराश हुनुभएन । गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुभयो र अरूलाई सङ्घर्ष गर्न प्रेरणा दिनुभयो । यसमा आधारित एउटा घटना प्रचण्डसँग पार्टी विभाजन हुँदै यहाँसम्म आउँदा लुम्बिनी ब्युरोका कमरेडहरू उहाँकै नेतृत्वमा पार्टीले क्रान्तिकारी विचारमा प्रतिबद्ध राख्न सफल भइयो । उहाँको प्रभाव धौलागिरि र गण्डकीमा समेत प्रत्यक्ष रहेको छ । अन्यत्र पनि छ तर जहाँ वीरजङ्ग कमरेडले प्रत्यक्ष नेतृत्व गर्नुभयो, त्यसको प्रभाव बढी नै पर्नु सबैले बुझेको विषय नै हो ।

दोस्रो, सङ्गठनमा उहाँको लगनशीलता पार्टी सङ्गठनको काममा निरन्तर लागिराख्ने उहाँको विशेषता हो । पार्टी समिति मात्रै होइन, जनतासँग नियमित भेटघाट र छलफल चलाइराख्नुभयो । जनताको सामान्य समस्यामा (हाम्रो आँखाले हेर्दा पनि उहाँको सहभागिता हुन्थ्यो । प्रचण्डसँगको अन्तरसङ्घर्षको बेला पार्टी बिग्रिएको देखेर उहाँले धेरै चिन्ता गर्नुभएको थियो । कुनै रातमा चिन्ताले निद्रा लागेन कृति भन्नुहुन्थ्यो । तर निराश हुनुभएन । गतिशील भएर लाग्नुभयो ।

लुम्बिनी ब्युरोभित्रका तत्कालीन एकीकृत नेकपा (माओवादी) का नेताहरूले आफ्नो स्वार्थअनुरूप एकजना गलत व्यक्तिलाई ब्युरोस्तरीय प्रशिक्षणमा सहभागी गराउन खोज्नुभयो । हामीले त्यसको विरोध गर्यौँ । उहाँले प्रचण्ड, बाबुरामलगायत नेताहरूका सामु कमरेड वीरजङ्ग, कमरेड मुनाल (हाल माओवादी केन्द्र) र म गरी ३ जनालाई उपस्थित गराएर सिफारिस गर्न लगाइयो । तर हामीले त्यसको ठाडै अस्वीकार गर्यौँ । अन्त्यमा प्रचण्ड रिसाएर ‘ हामीले के पार्टी बनायौँ ? एकजनालाई सिफारिस गर्न हामीलाई सोध्नुपर्ने ?’ भनेर रिसाउनुभयो । हामीले भन्यौँ, ‘कस्तो पार्टी बनाउनुभयो ? तपाईं आफैँ बुझ्नुस्, एकजनाका लागि तपाईंले सिफारिस गर्नुपर्ने ? तपाईं आफैँ बुझ्नुस्’ भनेर हामी उठेर हिँड्यौँ । पछि प्रचण्ड आफैँले यो प्रस्ताव फेरि ब्युरोमा लिएर आउनुभयो । ब्युरोले पनि नकाम गरिदियो । पछि वीरजङ्ग कमरेडले मलाई भन्नुभयो, ‘हेर ! कृति, यो एउटा व्यक्ति हो तर यो विष हो । यो हामीभित्र आयो भने हामीलाई लठ्याउँछ । त्यसकारण यस्ता प्रवृत्तिविरुद्ध हामी सजग हुनुपर्छ ।’ यदाकदा यो प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा अहिले पनि देखिन्छ ।

तेस्रो शिक्षा सङ्घर्षका क्षेत्रमा कमरेड वीरजङ्गको दृढता र संयम हो । उहाँले वर्गसङ्घर्षलाई दह्रोसँग पकड्नुभयो । उहाँले कहिल्यै पनि श्रमिक वर्गका पक्षमा सामान्य सम्झौता गरेको इतिहास नै छैन । उहाँको एउटै भनाइ थियो, ‘वर्गसङ्घर्षबिना अरू तरिकाबाट श्रमिक वर्गको मुक्ति असम्भव छ ।’ मैले देखेको वीरजङ्ग आफ्नो वर्ग र आफ्नो कार्यकर्ताप्रतिको निष्ठावान् नेता हो । मेरो जीवनको पहिलो वर्गसङ्घर्षको घटना जसको नेतृत्व वीरजङ्ग कमरेडले गर्नुभएको थियो । हुनत उक्त घटनामा हाम्रा महासचिव कमरेड विप्लव, माओवादी केन्द्रका नेता बलदेवलगायत अरू पनि थिए । तर त्यो सङ्घर्षको नेतृत्व वीरजङ्ग कमरेडले नै प्रत्यक्ष गर्नुभएको थियो । २०४८ सालको दसैँको अष्टमीको साँझपख मलगायत कलाकार भाइबहिनीहरू सांस्कृतिक कार्यक्रमको तयारीका लागि हाम्रो घरतिरबाट वीरजङ्ग कमरेडको घरतिर जाँदै थियौँ, बीच बाटोमा नै काङ्ग्रेसी भिजिलान्तेहरूले बाटो छेकेर हामीमाथि आक्रमण गरे । मैले तत्काल सूचना दिनका लागि कमरेड सुष्मा र कमरेड धनबहादुर भाइलाई कमरेडहरूको घरतिर पठाएँ । हामी कमरेड वसन्त घर्ती, कमरेड उदयमान, पुने पुन, जयनारायण पुनलगायत साथीहरूले प्रतिवाद गर्यौँ तर धेरैबेर हामी टिक्न सकेनौँ ।

हामी बाटोबाटै भाग्दै थियौँ । घटनास्थलदेखि १०० मिटर पर बाटोबाटै जाँदै गर्दा कमरेड वीरजङ्गको नेतृत्वमा साथीहरू आउनुभयो र सोध्नुभयो, ‘के भयो ?’ मैले घटनाहरूबारे बताएँ । घटना सुनेपछि कमरेड वीरजङ्गले जाऊँ भन्नुभयो । हामी सबै घटनास्थलतिर फर्कियौँ । घटनास्थल पुग्दा जसले हामीमाथि आक्रमण गर्ने योजना बनाएको थियो, त्यसैले कुरा मिलाउने प्रयास गरिरहेको थियो । वीरजङ्ग कमरेडको आक्रोश विस्फोटमा बदलियो । पहिलो प्रहार उहाँबाट भयो र क्षणभरमा नै उक्त स्थान रणमैदानमा बदलियो । उक्त घटनामा भिजिलान्तेतर्फ १४ जना घाइते भए । हाम्रातर्फ महासचिव कमरेड विप्लव, वसन्त घर्ती र पुने पुन गरी ३ जना घाइते हुनुभयो । अन्याय हामीमाथि भएको थियो तर तत्कालीन काङ्ग्रेसी सरकारले हामीलाई दोषी करार गर्यो । प्रहरी धरपकड सुरु भयो । हामी ६ महिना वीरजङ्ग कमरेडको नेतृत्वमा भूमिगत अवस्थामा नै पार्टीको काममा जुट्यौँ । त्यतिखेर उहाँको भनाइ अहिले पनि सम्झिन्छु, ‘अति भयो, वर्गसङ्घर्षलाई अगाडि बढाउनुपर्छ । नत्र जनताको अधिकार असम्भव छ ।’ भन्ने शब्द मेरो सम्झनामा अहिलेसम्म आइरहेको छ । हामी त्यही सोँचबाट प्रशिक्षित भई पछिल्लो चरणमा तत्कालीन नेकपा एकताकेन्द्रले वर्गसङ्घर्षको उद्घोष गर्यो र हामीसँगै जनयुद्ध हुँदै यहाँसम्म सहकार्य गर्दै आयौँ ।

चौथो, उहाँको आर्थिक पारदर्शिता हो । उहाँको जीवन अन्त्यसम्म सरल र साधारण रह्यो । आफ्नो निजी सम्पत्तिलाई जनताकै कार्यमा उपयोग गर्नुभयो । उहाँ २०४९ को स्थानीय निर्वाचनबाट संयुक्त जनमोर्चाका तर्फबाट शिवगढी गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ अध्यक्ष भएको कार्यकाल अवधिभरि जनताको सेवामा आफ्नै खर्च हालेर काम गर्नुभयो । पार्टीभित्रको आर्थिक अराजकतालाई रोक्न निरन्तर सङ्घर्ष गर्नुभयो । कतिपय विवरण यहाँ उल्लेख गर्दा तत्कालीन नेतृत्वलाई आँच आउन सक्छ । म त्यस विषयमा प्रवेश गर्न चाहन्नँ र व्यक्तिगत जीवनका घटनाहरूलाई उल्लेख गर्दछु । उहाँलाई थुप्रै अवसरहरू आए । खासगरी उहाँलाई विचलित बनाउनका लागि तर उहाँले सबै अवसरलाई निषेध गरिदिनुभयो । यसमध्ये केही घटनाक्रम उल्लेख गर्दछु ।

कपिलवस्तुमा पार्टीले कब्जा गरेको जमिन फुकुवा गरिदिनका लागि एक करोडका प्रस्ताव आयो । उहाँले जसले प्रस्ताव ल्यायो, उसलाई उत्तर दिनुभयो, ‘जनताको जमिन जसले जोतेर खाएको छ, उसलाई फिर्ता गर, बाँकी आफ्नो जमिन लैजाऊ’ उहाँको उत्तर उनीहरूका लागि स्वीकार्य थिएन किनकि उक्त जनताको जमिन उनीहरूले हडपेको थियो । तिहारको बेला थियो, एकजना पूर्वराज्यमन्त्रीले तिहारको कोसेलीका रूपमा मिठाइ र केही रकम खाममा हालेर पठाएका थिए तर उहाँले मिठाइ लिनुभयो र पैसा फिर्ता गरिदिनुभयो । उहाँले उक्त मन्त्रीका स्वकीय सचिवलाई भन्नुभयो, ‘मन्त्रीलाई भन्दिनू, उपहारमा पैसा नपठाउनू ।’ अर्को प्रसङ्ग छ, नेकपा–माओवादी हुँदा चुनाव बहिष्कारको सन्दर्भ थियो । जतिखेर ग्याँसको सिलिन्डर पड्काउँदा पनि केन्द्रबाट किरण कमरेडले यस्ता आतङ्ककारी क्रियाकलापमा हाम्रो पार्टीको संलग्नता छैन भनेर विज्ञप्ति दिनुभएको थियो । केही समयमा वीरजङ्ग कमरेडलाई ३५ लाखको प्रस्ताव आएको थियो । उहाँले यति मात्रै गरिदिनुपर्यो कि त्यो रकम दिने पार्टीलाई चुनावी प्रचारप्रसारमा सहज बनाइदिनुपथ्र्यो । तर वीरजङ्ग कमरेडले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो । जब चुनावपछि हामी केन्द्रीय समितिको बैठकमा गयौँ । हामीलाई त्यो बैठकले ऊर्जा दिएन । निराश भएर फर्किनुपर्यो । त्यहाँ क्रान्तिकारी आदर्शको कुनै मूल्यमान्यता थिएन । त्यहाँ बैठकमा सीसीएमहरूको रिपोर्ट सुन्दा कुनै बुर्जुवा पार्टीको भन्दा फरक लागेन । चुनावमा कुन नेतासित कति ल्याइयो ? र कसलाई कहाँ हराइयो भन्नेमा मात्रै केन्द्रित थियो । हाम्रो योजनाबारे केही थिएन । नेतृत्वबाट पनि तिनैलाई प्रोत्साहन गरियो । आज ती रिपोर्ट गर्ने पात्रहरू कहाँ गुमनाम छन् ? थाहा छैन । तर वीरजङ्ग कमरेड आकाशको चम्किलो ताराझैँ चम्किरहनुभएको छ ।

वीरजङ्ग कमरेडसँगको सहयात्राहरूका क्षणहरू थुप्रै छन् । तर मैले उहाँबाट प्राप्त गरेको शिक्षा मात्र उल्लेख गरेँ । उहाँको सपनालाई विपनामा बदल्नु मेरो पहिलो कार्यभार हो । यसमा म प्रतिबद्ध नै छु । यही नै उहाँप्रतिको मेरो सच्चा श्रद्धाञ्जली हुनेछ । वीरजङ्ग कमरेड नै त बन्न नसकिएला तर उहाँले देखाएको बाटो भने हामीले अवश्य पछ्याइरहेका छौँ । वीरजङ्ग कमरेडको शिक्षा कम्युनिस्टका लागि प्रेरणा हो । हामी सबै कमरेड वीरजङ्गजस्तै बन्न सक्छौँ कि सक्दैनौँ ? यो हामीभित्रको चुनौती हो । उहाँको अन्त्येष्टिको बेला हामीबाट पर पुगेका कमरेडहरू, अन्य वामपन्थी मित्रहरू, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरू सबै आएका थिए । अन्त्येष्टिमा आउन नपाएका साथीहरूले सामाजिक सञ्जाल र फोनमार्फत समवेदना दिनुभयो । यो केन्द्रीकरण कमरेड वीरजङ्गको विचारप्रतिको निष्ठाले गरेको केन्द्रीकरण हो । यो नै एकीकृत जनक्रान्तिका लागि ठूलो शिक्षा हो ।

अन्त्यमा २०४७ को चैतदेखिको हाम्रो सहयात्रा भौतिक भेटको हिसाबले २०७८ असोजको १८ गते दिल्लीको म्याक्स हस्पिटलको आईसीयू वार्डभित्र करिब ४० मिनेटको कुराकानीपछि सदाका लागि बिदा भयो । उहाँसँग ३१ वर्षको सहयात्रामा सहयोद्धा कमरेड, मेरो दाइ, मेरो अभिभावक सबैथोक भौतिक हिसाबले बिछोड भयो । वीरजङ्ग कमरेड सहिद त हुनुभएन तर उहाँको निष्ठा र प्रतिबद्धता बलिदानभन्दा कम छैन । आन्दोलनमा यस्तो पात्र विरलै भेटिन्छ । हामी सबै उहाँको विचार लिएर अघि बढौँ । यही नै सच्चा श्रद्धाञ्जली हुनेछ । कमरेड वीरजङ्ग– लालसलाम !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :