अजम्मरी सपना बोकेका अजम्मरी अनुहारहरू !

मेरो कानमा बालआवाज गुन्जिरह्यो, ‘आमै, तिमी किन रुन्चेऊ ?’

दिलबहादुरहरूको रगतमा
महान र कुमारहरूको रगत मिसाएर
हामी देखिरहेका छौँ क्रान्तिको विप्लवी सपना ।
बारुदको धुवाँमा उडेका कमरेडहरूको समाधिमा उभिएर
हामी गरिरहेका छौँ
आकाशको उचाइ नाप्ने उन्मुक्त कल्पना ।

आजभन्दा ३ वर्षअगाडि यस्तै गर्मीयाममा हामी चितवनमा एउटा राजनीतिक–वैचारिक प्रशिक्षणमा सहभागी भएका थियाैँ । गर्मी मौसममै भएको त्यो प्रशिक्षण सायद पार्टीमाथि लागेको सरकारी प्रतिबन्धअघिको अन्तिम प्रशिक्षण थियो । संयोग भन्नुपर्छ, सरकारी प्रतिबन्ध हटिसकेपछि भएको पहिलो वैचारिक–राजनीतिक प्रशिक्षण पनि चितवनकै पर्सामा भयो ।

राता ब्यानरहरू र हँसियाहथौडा अङ्कित झन्डाहरूले सजिएको डिज्नी रिसोर्टको प्रशिक्षण हलभित्र देशैभरिका क्रान्तिकारी, जुझारु कमरेडहरू विचारको हतियारमा सान लगाउने र नयाँ उत्साह बोकेर कार्यक्षेत्र फर्किने अभिलाशा बोकेर गर्मी खपिरहेका थिए । यो गर्मी सहनुपर्दा मैले काठमाडौँको खुलामञ्चमा भदौ २८ गते आयोजित एमसीसीविरोधी कार्यक्रम पटकपटक सम्झिएँ । भदौ २८ को उक्त कार्यक्रममा सबै नेताहरूले बोल्दा मौसम सफा थियो तर जब अन्तिममा प्रमुख वक्ता महासचिव विप्लवको बोल्ने पालो आयो, आकाशले विप्लवी गर्जन निकाल्यो । कति ठूलो वर्षा भयो भने वेलुका कोठामा पुग्दा कमरेड सुदर्शन छालाको बेल्टको भित्री पनि भिजेछ भन्दै हुनुहुन्थ्यो । सभामा जब विप्लवले बोल्न थाल्नुभयो झरी झन्झन् दर्कियो । मैले कल्पना गरेँ– सायद यो आकाश पनि क्रान्तियात्रामा हजारौँ बाधाहरू पन्छाउन र हजारौँ ज्वारभाटाहरूलाई सामना गर्न तयार हुनुछ भनेर खबरदारी गर्दै थियो । खुलामञ्चको त्यो सभामा सहयोगीले छाता ओढाउन लाग्दा महासचिव विप्लवले भनेका थिए, ‘छाता ओढ्न पर्दैन । हामीले ठूलाठूला आपत्विपत् सामना गरेर आएका मान्छेहरूका लागि यो पानी त हाम्रा लागि सामान्य हो ।’ यसो भनिरहँदा सहभागीहरूले लगातार ताली बजाए । बेलुका हेडक्वार्टरमा पुगेको बेला कमरेड असल यो सन्दर्भलाई उल्लेख गरेर ज्वाला सङ्ग्रौलाले फेसबुकमा स्टाटस लेखेको कुरा सुनाउँदै हुनुहुन्थ्यो । चितवनको डिज्नी हलभित्र रहेर यो गर्मी खाइरहँदा म एकपटक काठमाडौँ खुलामञ्च पुगेँ र महासचिव विप्लवले भनेको कुरा पटकपटक सम्झिएँ, ‘हामी कैयौँ ठूल्ठूला आपत्विपत् सहेर आएका मान्छेहरूलाई मौसमी प्रतिकूलताले कुनै असर गर्दैन । यो त साधारण विषय हो । हामीले हजारौँ बाधाहरू पन्छाउँदै अगाडि बढ्नु पर्नेछ ।’

प्रसङ्ग काठमाडौँतिर गएछ । म फेरि चितवनकै पर्सास्थित डिज्नी हलतिर फर्किन्छु । वैज्ञानिक समाजवादको सुन्दर सपना आँखामा सजाएर आकाशको उचाइ नाप्ने सपना देखेका मेचीदेखि महाकालीसम्मका कमरेडहरूले भरिएको थियोे डिज्नी पार्क रिसोर्टको हल । हलमा मुगुका समाज र हुम्लाका निर्माणहरू पनि थिए । बझाङका यक्ष र हिमाञ्चलका रामचन्द्र पनि थिए । मुस्ताङका नवीन, काठमाडौँका तुल्सीनारायण अनि सङ्खुवासभाका युवराज, सप्तरीकी रेखा र डोल्पाका धमिलहरू पनि थिए । हलमा बसेर मैले मेरा कमरेडहरूका अनुहारहरू नियालेँ । मन–मुटुमा वैज्ञानिक समाजवादको सपना देख्ने साथीहरूको अनुहारहरूमा भन्दा बढी मेरा आँखा भित्तामा झुन्डिएका कमरेडहरूतर्फ बढी सोझिए । वर्गप्रेमले भरिएका मेरा ती राता मान्छेहरूसँग, ती अजम्मरी अनुहारहरूसँग मैले पटकपटक साक्षात्कार गरेँ । पार्टीमाथि प्रतिबन्ध लाग्नुभन्दा पहिलेको अन्तिम प्रशिक्षणमा सँगै सहभागी भएका धेरै कमरेडहरू यसपालि हलमा भेला भएका छौँ तर १२ जनाचाहिँ भित्तामा तस्बिर बनेर झुन्डिएका थिए । यस्तै करिब डेढ सय कमरेडहरू बन्द पर्खालभित्रबाट हामीलाई निरन्तर फोन गर्दछन् । उनीहरूसँग फोनमा बोल्दा पनि मेरो मन खिन्न हुन्छ । उनीहरू सोध्छन्, हामी कहिले रिहा हुन्छौँ ? पाटीले हामीलाई कहिले निकाल्छ ? म जिम्मेवारीको भारीले पसिनापसिना हुन्छु । सधैँभरि म बनिबनाउ जबाफ दिन्छु– के छ तपाईंहरूको ? सन्चै हुनुहुन्छ ? हामी ठीकै छौँ…यस्तै–यस्तै ।

हामी हलमा कुर्सीमा थियौँ तर १२ जना भित्तामा तस्बिरमा सजिएका थिए । मलाई गुनासो गर्न मन लाग्यो भित्ताका ती मान्छेहरूसँग, मलाई प्रश्न गर्न मन लाग्यो ती लालताराहरूसँग– ओ प्रिय मान्छे, तिमी त अमर भएर गयौ । हामीलाई इतिहासको गह्रौँ अभिभारा सुम्पिएर गयौ । तिमीले आफूलाई एकीकृत जनक्रान्तिको बाटोमा निःसर्त बलिदान गरेर गयौँ । तर थाहा छैन हामी कतिजना यो यात्राबाट विचलित हुन्छौँ ! तिमीले हामीलाई सुम्पिएको रगतले भिजेको झोला र तिम्रो रगतका खाटा बसेको रक्तरञ्जित झन्डा उठाएर सागरको गहिराइ नाप्ने हाम्रो सपना पूरा गर्ने यो ‘लम्बे अभियान’ मा हामी कतै…। भित्तामा ध्रुवताराजस्तै अटल बनेर वसेका कमरेडहरूले हामीलाई खबरदारी गरेको जस्तो लाग्यो– तिमीहरूलाई यो यात्राबाट विचलित हुने छूट छैन । दिलबहादुरहरूको रगतमा हामीले पनि रगत मिसाएका छौँ कमरेड धनरूप बटाला, चन्द्रबहादुर सिंह, तीर्थ घिमिरे, गोकुल रानामगर, प्रज्वल शाही, विभुराम विक, कृष्णप्रसाद भण्डारी, रामकुमार श्रेष्ठ, कुमार पौडेल, निरकुमार राई, रामबहादुर सिंह, जगेन्द्रबहादुर पुन ।

करिव २ वर्ष लामो सरकारी प्रतिवन्ध बेहोरेर १२ जना कमरेडको रगत जनयुद्धका सहिदहरूको रगतमा मिसाएर नेपाल कम्युनिस्ट पार्टी चितवनमा केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षणमा जुटेको थियो । आउँदो फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने पार्टीको योजना थियो । प्रशिक्षणमा एकीकृत जनक्रान्तिका नायक कमरेड विप्लव पसिनाले निथु्रक्क भिजेर भए पनि कमरेडहरूका दिमागमा विचार भरिहरनुभएको थियो । म पनि ३ सयभन्दा बढी जुझारु कमेडहरूसँग बसेर गमिरहेँ– के यो पार्टीले राजनीतिक, वैचारिक, सैद्धान्तिक वा व्यावहारिक रूपले आफूलाई माथि उठाएर सबैखाले बाधाहरूलाई पन्छाएर खुट्टा गुमाएका सुरेन्द्र महर्जनले यो पार्टीसँग राखेको अपेक्षा सम्बोधन गर्न सक्ला ? के दीपेन्द्रकी जीवनसँगिनीका आँसु पुछ्न सक्ला ?

हलमा सहभागीहरूलाई प्रशिक्षणको महत्वबोध गराउन पार्टी महासचिव विप्लवले अध्यक्षता गर्दै भने, ‘सही विचार क्रान्तिको प्रमुख सर्त हो । क्रान्तिकारी आन्दोलनका लागि सही क्रान्तिकारी विचार निर्माण गरिसकेपछि त्यो विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुन जान्छ । क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको हो । यस्तो पार्टीको नेतृत्वमा क्रान्ति अगाडि बढाएर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्दछ । वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था हो ।’

हामीजस्तो हैसियत राख्ने मानिसले बुझेको वैज्ञानिक समाजवादी व्यवस्था अथवा विप्लव नेतृत्वको नेकपाले देखेको समाजवादमा जनताले सत्तालाई अपनत्व महसुस गर्नेछन् । त्यहाँ अन्याय, अत्याचार र सबैखाले विभेदहरू अन्त्य हुनेछन् । जनता सुखी र समृद्ध हुनेछन् । हिउँ फुल्ने हिमालको तलतिर लटरम्म फलेका स्याउका बगानहरू हुनेछन् । पहाडहरूमा कागती, सुन्तला, कफी वा चियाका बगानहरू बन्नेछन् भने तराईमा लटरम्म फलेका पहोँलपुर धानका फाँटहरू हुनेछन् । सहरहरू सफा र सुन्दर हुनेछन् । व्यवस्थित बालग्रामहरू र व्यवस्थित सफा वृद्धाश्रमहरू हुनेछन् । सडक सञ्जालले हरेक गाउँहरू जोडिएका हुनेछन् । ठाउँठाउँमा सुन्दर फूलैफूलहरूले भरिएका उद्यानहरू हुनेछन् र पर्यटकहरू फूलका गुच्छाहरूलाई पृष्ठभागमा राखेर फोटा खिचिरहेका हुनेछन् र भन्नेछन्– वाः क्या राम्रो सगरमाथाको देश । कोही पनि मानिस सडकमा माग्ने र कोही पनि रोग, भोग र अभावले मर्ने अवस्था आउने छैन र कोही पनि छोरीहरूले असुरक्षित महसुस गर्नुपर्ने छैन । समाजवादी व्यवस्थामा सबै श्रमिक जनताले भन्नेछन्, ‘हाम्रा अग्रजहरूले लडेर ल्याएको समाजवाद, वाह समाजवाद ! अग्रजहरूलाई धन्यवाद ।’

समाजवादी व्यवस्थाको खाका कोरेर त्यही व्यवस्था ल्याउने सपना कोरेका दीपेन्द्र, महान र रामकुमारहरूले आफूलाई बमको धुवाँमा उडाए । काठमाडौँ सुकेधारामा घटनाबाट बाँचेका तर खुट्टा गुमाएका घाइते कमरेड सुरेन्द्र महर्जनले हलमा आँखाभरि आँसु पारेर गला अवरुद्ध बनाउँदै आफ्नो अनुभूति राख्दै गर्दा सायद धेरैको मनमा गहिरो उद्वेलना पैदा भयो । अस्ति काठमाडौँमा त्यहाका जिल्ला इन्चार्ज माइला दाइले आयोजना गरेको कानुन व्यवसायी र उनका परिवारको सम्मान कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्न लाग्दा सुकेधारा घटनाका सहिद विभुराम विक ‘दीपेन्द्र’ की जीवनसँगिनी भावुक हुनुभयो । आफ्नी आमा रोइरहेको देखेर काखको सानो २ बर्से छोराले भन्यो, ‘आमै किन रुन्चेऊ ?’ त्यो अबोध बालकको आवाज जब मेरो कानमा पर्यो, त्यो दिनभरि मेरा आँखा ओभाना भएनन् । मेरो कानमा एउटा बालसुलभ बोली पटकपटक गुन्जिरह्यो– आमै, तिमी किन रुन्चेऊ ?

करिव २ वर्ष लामो सरकारी प्रतिवन्ध बेहोरेर १२ जना कमरेडको रगत जनयुद्धका सहिदहरूको रगतमा मिसाएर नेपाल कम्युनिस्ट पार्टी चितवनमा केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षणमा जुटेको थियो । आउँदो फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने पार्टीको योजना थियो । प्रशिक्षणमा एकीकृत जनक्रान्तिका नायक कमरेड विप्लव पसिनाले निथु्रक्क भिजेर भए पनि कमरेडहरूका दिमागमा विचार भरिहरनुभएको थियो । म पनि ३ सयभन्दा बढी जुझारु कमेडहरूसँग बसेर गमिरहेँ– के यो पार्टीले राजनीतिक, वैचारिक, सैद्धान्तिक वा व्यावहारिक रूपले आफूलाई माथि उठाएर सबैखाले बाधाहरूलाई पन्छाएर खुट्टा गुमाएका सुरेन्द्र महर्जनले यो पार्टीसँग राखेको अपेक्षा सम्बोधन गर्न सक्ला ? के दीपेन्द्रकी जीवनसँगिनीका आँसु पुछ्न सक्ला ? आमै, किन रुन्चेऊ भनेर अन्जानमा गहिरो जिज्ञासा व्यक्त गर्ने सहिदका बच्चाको अभिभावकत्व लिन सक्ला ? यस्तैयस्तै प्रश्नहरूको बिलखबन्दमा परेर कमरेहरूलाई सुन्दै भित्ताका अजम्मरी अनुहारहरू हेरिरहेँ । मनमा उही कुरा दोहोरियो– अघिल्लोपटक यही चितवनको हलमा कुर्सीमा सँगै बसेका कमरेडहरू आज कुर्सीमा छैनन्, भित्तामा छन् । हेर्छन् तर बोल्दैनन् । खबरदारी मात्र गर्छन् । कानमा भने घरिघरि उही आवाज गुन्जिरहन्छ– आमै, किन रुन्चेऊ ? आमै, किन रुन्चेऊ ?? आमै, किन रुन्चेऊ हँ ???

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :