संस्कृति र पूर्वीय दर्शन

संस्कृति मानवचेतनाको अभिव्यक्ति हो । मानवीय आवश्यकता पूरा गर्ने क्रममा मानिसले आविष्कार र सिर्जना गरेका सबै चीजहरू मानव संस्कृति हुन् । संस्कृति मूलभूत रूपले दुई किसिमका हुन्छन्— भौतिक र अभौतिक । घर, दरबार, सङ्ग्रहालय, भ्युटावर, वास्तुकला, चित्रकला, मूर्तिकलालगायत सबै कला, पुस्तक, धरहरा, अस्पताल आदि र्भौितक संस्कृति हु्न् भने दर्शन, साहित्य, संस्कार, आदि अभौतिक संस्कृति हुन् । संस्कृति मानिसले मानिसकै लागि र्सिजना गरेको हो । मानव समाजको चेतना र सामाजिक स्तरअनुरूप नै संस्कृति निर्माण र विकास हुँदै आए । यसरी संस्कृति मानिसको उपज हो ।

एङ्गेल्सले संस्कृतिलाई दोस्रो प्रकृति भनेका छन् । संस्कृति निकै लामो समयावधिमा निर्मित हुने भएकाले यो स्वाभाविक रूपले नै जटिल र बलियो हुन्छ । संस्कृतिमा मानिसको जन्मदेखि मृत्युसम्मका सुखद र दुःखद् पक्षलाई समाविष्ट गरी खु्सी र दुःखलाई व्यक्त गर्ने विधि तर्जुमा गरिएको हुन्छ । संस्कृति मानवजीवनको अविभाज्य र अनिवार्य विषय हो । कतिपयले संस्कृतिलाई धार्मिक विषयका रूपमा सीमित गर्ने गरेका छन् जुन सर्वथा गलत कुरा हो । वास्तवमा धर्म र संस्कृति एउटै विषय होइनन् । यी फरक विषय हुन् । संस्कृति मानव समाजको विकाससँगै निर्माण भएको हो भने धर्म मानव समाज निर्माणको कयौँ समयपछि मात्र विकास भएको अवधारणा हो । यस अर्थमा संस्कृति धर्मभन्दा निकै जेठो मानिन्छ । कतिपयले संस्कृतिलाई धर्मको अधीनमा राख्ने वा धर्मभित्र बाँध्ने दुष्प्रयास गर्दछन् । वास्तवमा संस्कृति कुनै निश्चित धर्मको सीमाभन्दा माथि, विस्तृत र फराकिलो हुन्छ । यद्यपि धर्म मान्नेहरूको पनि संस्कृति हुन्छ भने धर्म नमान्नेहरूको पनि संस्कृति हुन्छ । आध्यात्मिक र भौतिकवादी दुवै पक्षले आआफ्नो मान्यताअनुसार संस्कृतिलाई स्वीकार गर्दछन् ।

चाडपर्वहरू पनि मानवीय खुसी र उत्सवका लागि हुन् । मानवीय जीवनका दुःखद्, निराशालाई बिसाउँदै आशा र उज्यालो भविष्य तथा जीवनमुखी बनाउन चाडपर्वले मानवजीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । इतिहासका विभिन्न कालखण्डमा मानव समाजका विभिन्न सुखद पक्ष, आविष्कार, मिलन, विजय र सफलताका पक्षहरूलाई स्मरणका रूपमा मनाउँदै परम्परा र पर्वको रूप धारण भएका हुन् जुन धर्मको आरम्भ हुनुभन्दा अघिदेखि नै प्रचलित थिए । सबै पर्व र परम्पराहरूका पछाडि कुनै न कुनै घटना, संयोग, विषय वा प्रसङ्ग पाइन्छ । ती प्रसङ्ग पहिले अलि वस्तुवादी हुन्थे जुन इतिहास अध्ययनका लागि पनि सहायक हुन्छन् । पछि ती प्रसङ्गहरू सबैलाई धार्मिक आवरण दिलाइयो । गुप्त राखियो र तिनलाई रहस्यको विषय बनाइयो । यसरी परम्परा र चाडपर्वका वैज्ञानिक आधारहरू खोजी गर्न र वास्तविकता प्रकट गर्न अवरोध खडा भयो ।

जब कुनै पनि विषयलाई रहस्यको विषय बनाइन्छ, अझ आस्था र धर्मको विषय बनाइन्छ तब बहस सकिन्छ किनकि आस्थामाथि बहस हुन सक्दैन । त्यहाँ त केवल विश्वास र श्रद्धा मात्र हुन्छ, कारण त्यहाँ शङ्का हुँदैन । बहस र खोज–अनुसन्धानका लागि शङ्का अनिवार्य पक्ष हो जसले वास्तविकताको अन्वेषण गर्न मार्गप्रशस्त गर्दछ ।

पूवीय दर्शन आफैँमा यति सम्पन्न र वैभवशाली हुँदाहुँदै पनि किन पछि पर्यो, किन आफ्नै दर्शनको प्रामाणिकताका लागि पश्चिमी दर्शनको मुख ताक्नु परिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण रूपले खोजको विषय बन्न सक्छ । अन्य विविध कारणहरूसँगै एउटा आधारभूत कारण के भन्न सकिन्छ भने पूर्वीय दर्शनका सबै खोज र निष्कर्षहरू, विधि र पद्धतिहरू, आलोचना, ज्ञान, विज्ञान र आविष्कारहरू सबका सबलाई इतिहासको कुनै कालखण्डमा आइपुग्दा आफूबाहेक अरूले थाहा नपाऊन् भनी गोप्य राख्ने, रहस्यको विषय बनाइयो, आस्था र धर्मको विषय बनाइयो । त्यसबारे थप अध्ययन गर्न, बहसको विषय बनाउन रोक लगाइयो । अध्ययन गर्ने अध्येता, अनुसन्धान गर्ने वैज्ञानिकहरूलाई निर्मम सजाय दिने व्यवस्था भयो ।

कुनै पनि दर्शनको अस्तित्व र विकास त्यसबारेको क्रिया–प्रतिक्रिया, समर्थन र आलोचनाले निर्धारण गर्दछ । जुन दर्शनको चर्चा र बहस हुँदैन त्यो मृतसरह हुन पुग्छ । पूर्वीय दर्शनलाई गुफा र मन्दिरभित्र कैद नगरी बहस र आलोचनालाई स्वीकार गरिएको भए तिनका कतिपय वैज्ञानिक निष्कर्षहरूले यतिबेला विश्व मानवसभ्यतामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्थे ।

यति बेला पूर्वीय दर्शनलाई गुफा, मठ, मन्दिर गुम्बा र स्वार्थी–धर्मभीरुहरूबाट मुक्त गरी बैज्ञानिक दृष्टिकोणको नयाँ आधारमा अध्ययन, परीक्षण गर्नु जरुरी छ । समयको गतिसँगै त्यसका गलत पक्षहरूलाई आलोचना र त्यागको विषय बनाउँदै त्यसका वैज्ञानिक पक्षको अनुसारण गर्नु पर्दछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :