पोखरामा महासचिव विप्लवको भव्य स्वागत

पोखरामा महासचिव विप्लवको भव्य स्वागत

वैदाम, पोखरा : उसै त प्राकृतिक रूपले रमणीय नगर पोखरा, त्यसमाथि क्रान्तिकारीले झन्डा, ब्यानर र तुलहरूले झिलिमिली पारेर सिँगारेको । तनहुँमा पार्टीको केन्द्रीय समितिको एघारौँ बैठक सकेर विद्यार्थीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरा आएका नेकपा महासचिव विप्लवलाई नेकपा कास्की, अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक समिति, सम्मेलनमा सहभागी प्रतिनिधि÷पर्यवेक्षक, पार्टी जवस, मोर्चाहरूका साथै पोखरेली जनसमुदाय र पर्यटन व्यवसायीले भव्य स्वागत गरेका थिए । महासचिवलगायत सचिवालय सदस्यहरूको स्वागतका लागि नेकपा केन्द्रीय सदस्य एवम् कास्कीकी इन्चार्ज शिलु, नेकपा केन्द्रीय सदस्य एवम् विद्यार्थी सङ्गठनका फ्र्याक्सन इन्चार्ज मिलन, नेकपा केन्द्रीय सदस्य आस्था, सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकाल, उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाही, सचिव सन्तोषी भट्टराई, कोषाध्यक्ष नरेन्द्र विकलगायत केन्द्रीय सदस्यहरू, नेकपा कास्कीका सेक्रेटरी गोकुल पराजुलीलगायत नेता–कार्यकर्ता खटिएका थिए ।

विद्यार्थी सङ्गठनको बन्दसत्र सञ्चालन हुने बैदाम, लेकसाइडस्थित कुटी २ होटेलदेखि तालबाराही मावि हुँदै ओलम्पस होटेलसम्म राता पोसाक लगाएर सडकका दुई किनारमा लाम लागेका पार्टी, विद्यार्थी, अन्य जवस मोर्चा, अतिथि र स्थानीय व्यवसायी तथा जनसमुदायले हाईहाई विप्लव, विप्लव आऊ देश बचाऊ, नेकपा जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावादलगायत गगनभेदी नारा लगाएर महासचिव विप्लवको भव्य स्वागत गरेका हुन् ।

महासचिव विप्लवसँगै प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्यहरू सुदर्शन, कञ्चन र विषम पनि कुटी २ आइपुगेका थिए ।

कोरोना सङ्क्रमणका कारण पर्यटकीय चहलपहल ठप्प रहेको पोखरामा नेकपाको सचिवालय, केन्द्रीय समिति, विद्यार्थी सङ्गठनका ५५५ जना प्रतिनिधि÷पर्यवेक्षक, सम्मेलनलाई शुभकामना दिन उपस्थित विभिन्न जवस/मोर्चा प्रतिनिधि र अन्य पार्टी, विद्यार्थी सङ्गठनबाट सहभागी भएका अतिथिसहित झन्डै दुई हजार आन्तरिक पर्यटकको एक सातासम्म हुने चहलपहल र यसले पर्यटन व्यवसायलाई पर्याप्त सहयोग पुर्याउने भन्दै पोखरेलीहरूले अत्यन्त हर्ष र उत्साहका साथ कार्यक्रमलाई सहयोग गरेका छन् । सम्मेलन उद्घाटनका दिन चिप्लेढुङ्गामा भेला भएका हजारौँ सहभागीलाई पोखरेलीहरूले खुसीसाथ यातायात र पसलसमेत बन्द गरेर आमसभाका लागि सहयोग गरेका थिए ।

पोखराको आगमनलाई अझै स्मरणीय बनाउन सम्मेलनपछि अखिल क्रान्तिकारीले अतिथि र सहभागीहरूलाई औपचारिक रूपमै पोखराका मुख्यमुख्य पर्यटकीय स्थल भ्रमण गराउने कार्यक्रम राखेको जानकारी सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :