सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

पोखरामा राता मान्छेहरूको मार्च पास्ट

सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ : महासचिव विप्लव

चिप्लेढुङ्गा, पोखरा : नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गरेका छन् । पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक लगाएका क्रान्तिकारी विद्यार्थी, युवा र जनसमुदायलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकातर्फ लक्षित गर्दै भने, ‘तपाईंहरूले सहमति लागू गर्नुभएन भने र अन्य कुनै सर्त थोपर्नतिर लाग्नुभयो भने जनतालाई साथमा लिएर यो घेरा तोड्नेछौँ ।’

देउवा सरकारले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरेर सेना र प्रहरीलाई सुरक्षाको जिम्मा दिन लागेको प्रति सङ्केत गर्दै महासचिव विप्लवले राष्ट्रको सुरक्षाको जिम्मा लिएको सेना र प्रहरीले राष्ट्रघाती शासकहरूलाई साथ दिन नसक्ने र उनीहरूलाई पक्राउ गरेर देशभक्तहरूलाई जिम्मा लगाउनुपर्ने पनि प्रस्ट पारे । उनले भने, ‘सेनाले सधैँ गल्ती गर्दै र राष्ट्रघात गर्दै देश र जनतालाई कङ्गाल बनाउने शासकलाई साथ दिन्छ भन्ने छैन । त्यस्तै प्रहरीले पनि भ्रष्टाचारी र अपराधी शासकहरूलाई सुरक्षा दिइरहन्छ भन्ने छैन । देशका प्रशासकहरूलाई पनि यो सत्ताले देश र जनताको रक्षा र विकास गर्छ भन्ने विश्वास छैन । सेना र प्रहरी राखेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौता पारित नगर । देश नबेच ।’

दलाल पुँजीवादी संसदीय व्यवस्था चौतर्फी असफल भएको र देश चलाउन नसक्ने अवस्थामा पुगेका कयौँ उदाहरण प्रस्तुत गर्दै महासचिव विप्लवले भने, ‘आफू पनि सत्ता चलाउन नसक्ने, देशलाई असफल बनाउने, चलाउन सक्नेहरूलाई पनि नदिने ? अब जनताले कुनै व्यक्ति वा पार्टी होइन, व्यवस्था चुन्न पाउनुपर्छ । जनताले यो असफल, भ्रष्ट, तस्कर, दलाल संसदीय व्यवस्था फाल्नेछन् र समानतामूलक वैज्ञानिक समाजवादी व्यवस्था रोज्नेछन् । लडाइँको योद्धा र प्रतिस्पर्धामा उत्रिएको खेलाडीले हार हुन्छ भनेर डराउने होइन, जित हुन्छ भन्ने आत्मविश्वासले मैदानमा उत्रिनुपर्छ । नेपाली जनताले हामीलाई, वैज्ञानिक समाजवादलाई अर्थात् आफूलाई विजयी गराउनेछन् । जनमतसङ्ग्रहबाट दलाल पुँजीवादी व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछन् । यसमा हामीलाई विश्वास छ ।’

आफ्नो पार्टीसँग बन्दुकभन्दा शक्तिशाली जनता, श्रमिक वर्ग, सहिद तथा बेपत्ता योद्धा परिवारहरू भएकाले कुनै पनि हालतमा बन्दुकदेखि नडराउने, नझुक्ने, बरु सहिद बन्न तयार हुने तर देश र जनतालाई यो बर्बर र आततायी व्यवस्थाको चङ्गुबाट मुक्त पारेरै छोड्ने उद्घोष महासचिव विप्लवले गरे । उनले भने, ‘हामी बन्दुकमा विश्वास गर्ने शक्ति होइनौँ । कम्युनिस्टहरू नै सबैभन्दा बढी शान्तिप्रिय हुन्छन् । बन्दुक हातमा लिएका सत्ताधारीहरूले कहीँ पनि जितेका छैनन् । युद्ध हाम्रा लागि रहर होइन । हामीलाई थाहा छ, सहयोद्धाहरू सहिद हुँदा कति पीडा हुन्छ ! आफ्नो सहयोद्धालाई खाडलमा पुर्नुपर्दा कति पीडा हुन्छ ! सहयोद्धा घोइते हुँदा र छट्पटाउँदा कति असैह्य हुन्छ ! त्यसैले हामी युद्ध होइन, शान्ति चाहन्छौँ । हामी जनताको मत प्रयोग गरेर व्यवस्था रोज्ने जनमतसङ्ग्रह चाहन्छौँ । यो सत्ताले हामीलाई जनताको मत प्रयोग गरेर व्यवस्था रोज्न पनि दिएन भने, सहमति नै पालना गरेन भने, युद्ध नै लाद्यो भने अर्कै कुरा हो ।’

एमसीसी पारित गर्ने षड्यन्त्रप्रति जनतालाई सावधान गराउँदै महासचिव विप्लवले भने, ‘एमसीसी पारित गरियो भने एमसीसी सम्झौतासँगै त्यो पारित गर्ने पार्टीका नेताहरू पनि जल्छन् । यो पक्का हो ।’

राज्यद्वारा बेपत्ता पारिएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल र हजारौँ सहिद–बेपत्ताका आमाहरूलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘आमा, हामी तपाईंले दिएको सन्देश शिरोपर गर्नेछौँ । खुट्टा कमाउनेछैनौँ । हामी पूर्ण पौडेलहरू हिँडेको बाटोमा हिँडिरहेका छौँ । हामी जित्छौँ आमा, विश्वस्त रहनुस्, हामी देश र जनतालाई धोका दिनेछैनौँ, बरु बलिदान हुनेछौँ ।’
राज्यको सम्पत्ति लुटेर खाने, दलाली गर्ने, युवा, मिहला, विद्यार्थीलाई बेचेर कमिसन तथा रेमिट्यान्समा बाँच्ने र देशमाथि घात गर्ने सत्ता जनताको हुन नसक्ने उद्घोष गर्दै महासचिव विप्लवले अब युवा, विद्यार्थी भ्रष्टाचारी, राष्ट्रघातीहरूको सूची बनाउँदै र किसान, मजदुर, महिला, सुकुमबासीको सुन्दर भविष्यको रेखा कोर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि आन्दोलित भइरहन विद्यार्थीलाई आह्वान गरे ।

सम्मेलन उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्द, बेपत्ता विद्यार्थी नेता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैटेँका उपाध्यक्ष गणेश अधिकारी, अखिल क्रान्तिकारीका संयोजक सुन्दर रायमाझी, समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, अखिल नेपाल विद्यार्थी युनियनका मनीष भट्टराई, नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बेपत्ता योद्धा विपीन भण्डारीका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनकी अध्यक्ष राजेश्वरी सुवेदीलगायतले सम्मेलन सफलताको शुभकामना दिँदै वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको आन्दोलनमा एक साथ रहेको धारणा राखेका थिए ।

२२ औँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालको अध्यक्षता, उपाध्यक्ष रुद्र भट्टराईको स्वागत र महासचिव प्रकाश शाहीको सञ्चालनमा सम्पन्न सम्मेलन उद्घाटन समारोहमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय सांस्कृतिक परिवार सामना परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

यसअघि राता पोसाक लगाएका पार्टी नेता, विद्यार्थी र जनसमुदायको जुलुस पृथ्वीचोकबाट पोखराका मुख्यमुख्य चोकको परिक्रमा गरी चिप्लेढङ्गा पुगेको थियो ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालयका सदस्यहरू कञ्चन, सुदर्शन, विषम, केन्द्रीय सदस्यहरू उमा भुजेल, ओमप्रकाश पुन, चिरन पुन, पूर्णबहादुर सिंह, देवनारायण शाह, प्रेम दर्नाल, अधिवक्ता कपिलचन्द्र पोखरेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदी, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, विभिन्न जवस, मोर्चाका अध्यक्ष, संयोजक र प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए ।

यसअघि बुधबार बिहान अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक समितिका पदाधिकारी, प्रतिनिधि, पर्यवेक्षकलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता पार्टी, सङ्गठन, राष्ट्रिय सम्मेलनका पक्षमा नारा लगाउँदै र भूमाफियाविरुद्ध आक्रोश पोख्दै फेवाताल अतिक्रमणविरुद्ध आयोजित र्याली र कोणसभामा सहभागी भएका थिए । कोणसभामा सङ्गठनका संयोजक ढकाल र महासचिव शाहीले सम्बोधन गरेका थिए ।
देशका ९० भन्दा बढी भूगोल र क्याम्पस–विश्वविद्यालय जिल्लाबाट ५५५ जना प्रतिनिधि–पर्यवेक्षक सहभागी रहेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले वैज्ञानिक शिक्षासम्बन्धी नीति, कार्यक्रमका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :