नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको आवश्यकता

नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको आवश्यकता

हाम्रो देश इतिहासमा लामो समयसम्म सामन्तवादको उत्पीडनमा रह्यो भने पछिल्लो समय विश्व–निगम पुँजीवाद र त्यसको स्थानीय प्रतिनिधि दलाल पुँजीवादको राजनीति, अर्थतन्त्र, संस्कृति, शिक्षाप्रणालीलगायत विकृतिको सामना गरिरहेको छ । नेपाल विश्वका अति गरिबमध्येका ३० देशभित्र पर्छ । हाम्रो देशको १८.७ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि छ जसको दैनिक आम्दानी १ अमेरिकी डलरभन्दा कम छ । जनसङ्ख्याको ३१.२ प्रतिशत हिस्सा दैनिक ३.२० अमेरिकी डलरभन्दा कमको आम्दानीमा बाँचिरहेको छ । देशको ठूलो दक्ष र अर्धदक्ष श्रमशक्ति (करिब ८० लाख युवा) विश्वका पुँजीवादी र साम्राज्यवादी देशहरूमा सस्तोमा श्रम बेचिरहेका छन् । देशमा भएको श्रमशक्तिमध्ये ४३ प्रतिशत कृषि पेसामा, २१.२४ प्रतिशत उद्योगमा र ३५.६५ प्रतिशत सेवा क्षेत्रमा कार्यरत छ । नेपालको प्रतिव्यक्ति आय १,२३६ अमेरिकी डलर रहेको छ जुन विश्वको सवैभन्दा धेरै प्रतिव्यक्ति आय (१,१६,९२१ डलर) भएको लग्जमबर्गको तुलनामा १.०५ प्रतिशत हिस्सा मात्र हो । नेपाल एसियामा अफगानिस्तानपछिको दोस्रो गरिब देश हो । हाम्रो अर्थतन्त्र मुख्यतया आयातमुखी र उपभोक्तावादी रहेको छ । देशको अर्थतन्त्र मूलतः विदेशी निगम पँुजीपतिहरूको नियन्त्रणमा छ । आर्थिक जीवनको केही हिस्सा देशभित्रका दलाल पुँजीपतिहरूको हातमा रहेको छ ।

देशको विद्यमान दलाल पुँजीवादी संसदीय राजनीतिक प्रणाली र यसको नेतृत्व यो स्थितिको कारक हो । ऊ यो अवस्थाको मूकदर्शक बनिरहेको छ । राजनीतिक प्रणाली, नेतृत्व र राज्यका अन्य सबै अङ्गहरूले यो अवस्था उत्पन्न गरेका हुन् । उनीहरूले नेशलाई नयाँ प्रकारको उपनिवेश र असफल राष्ट्रमा परिणत गरेका छन् । देशमा जनअधिकारको प्रश्न गम्भीर रूपले सङ्कटग्रस्त बनेको छ । मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग दलाल पुँजीवादको लुट र शोषणको सिकार बनेका छन् । उत्पीडित जाति, जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, उत्पीडित भाषाभाषीहरू, उत्पीडित क्षेत्रहरू दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थामा वास्तविक अधिकारबाट वञ्चित छन् र त्यसको उत्पीडन र विभेदको जाँतोमा पिसिएका छन् । कथित राजनीतिक निर्वाचनहरू देश र जनताप्रति घात गर्न दिइएका लाइसेन्सजस्ता भएका छन् । देशको राष्ट्रियता र नेपाली जनताको सार्वभौमिकता इतिहासमै कमजोर बनेको छ । विदेशीहरूको हस्तक्षेप र नियन्त्रणले सीमा नाघेको छ । राजनीति, अर्थतन्त्र र कर्मचारीतन्त्रमा रहेका दलाल पुँजीवादका एजेन्टहरू मिलेर देशलाई एकपछि अर्को पराधीनता, गरिबी र सङ्कट उन्मुख स्थितितिर धकेलिरहेका छन् ।

समग्र देश र जनताको जीवन विद्यमान दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्थाको सिकार बनिरहेको छ । हाम्रो देशको शिक्षाप्रणाली पनि यसको विकृति र असफलताको गम्भीर सिकार भएको छ ।
नेपालको विद्यमान शिक्षाप्रणालीमा मुख्यतः तीनवटा समस्या छन् :

१) सैद्धान्तिक/दार्शनिक/दृष्टिकोणको समस्या
२) पाठ्क्रम र विषयवस्तुको समस्या
३) संरचनागत/व्यवस्थापन/प्राविधिक समस्या

१) सैद्धान्तिक/दार्शनिक/दृष्टिकोणको समस्या

सैदान्तिक रूपमा विद्यमान शिक्षाप्रणालीले पुँजीवादी अर्थराजनीतिक व्यवस्था र विचारधाराको सेवा गर्दछ र उसका निम्ति काम गर्न योग्य नोकर बन्न प्रेरित गर्दछ । यसले आदर्शवादी, चरम व्यक्तिवादी, उपभोक्तावादी र परनिर्भर बनाउन सिकाउँछ । समाज र सामूहिक मानवीय भावना र विचारभन्दा पनि नितान्त ‘म’ भन्ने विषयलाई प्राथमिकता दिन्छ । पुँजीवादी एवम् साम्राज्यवादी देशहरूले दिने गरेको ‘अमेरिका फस्र्ट’ जस्ता नाराहरूकै पक्षपोषण अहिलेको शिक्षाप्रणालीले गर्दछ । यो शिक्षाप्रणाली सारमा आदर्शवादी, अन्धविश्वास पैदा गर्ने र अवैज्ञानिक दृष्टिकोण विकास गर्ने प्रकारको छ । यो शिक्षाप्रणालीले धार्मिक अन्धता, रूढिवाद र नश्लवादी विचारको विकासको पक्षपोषण गर्दछ । अहिलेको शिक्षाप्रणालीले स्वाभिमान र आत्मनिर्भर होइन, निगम पुँजीवाद र साम्राज्यवादीहरूको आज्ञापालक र आधुनिक दास बनाउने मनोविज्ञानको विकास गर्दछ । आफ्नो देश, श्रम, जनताको एकता र स्वाभिमानमा होइन, अर्काको मुख ताक्ने, पराधीन र आत्मसमर्पणवादी विचारको प्रवाह गरिरहेको छ । यसले जनताको बीचमा एकता होइन, पुँजीवादले दिने सीमित अवसरका लागि अस्वाभाविक प्रतिस्पर्धा र द्वन्द्वको सिर्जना गरेको छ । यो शिक्षाको वैचारिकीले मानवजातिलाई सामाजिक चेतना र दायित्वबाट पर धकेल्दै चरम व्यक्तिवादतिर डोर्याइरहेको छ । समाजमा बाहिरवाट हेर्दा मेलमिलापजस्तो दखिए पनि परिवारदेखि समाज र राज्यका संस्था/संरचनाहरूलाई चरम अन्तरविरोध, विभाजन र अस्वस्थ प्रतिस्पर्धाको चङ्गुलमा धकेलिराखेको छ । राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताको प्रवद्र्धनभन्दा पनि विदेशमुखी र परनिर्भर मनोवृत्तिको विकास गराएको छ । हाम्रो देश र जनताको तागतले देशलाई विकासित र सुसंस्कृत बनाउन सकिन्छ भन्ने भन्दा पनि विदेशीको मुख ताक्ने परनिर्भर चेतनाको विकास गरेको छ ।

२) पाठ्क्रम र विषयवस्तुको समस्या

नेपालको शिक्षाप्रणालीअन्तर्गत अध्ययन गराइने विषयवस्तु धेरै हदसम्म अप्रासङ्गिक र जीवनव्यवहारबाट कटेको रहेको छ जुन विषयवस्तुको अध्ययनपछि पनि विद्यार्थीमा खास दक्षता र सीपको विकास हुँदैन । विद्यार्थीले उच्च शिक्षासम्मको अध्ययन गरिसक्दा पनि सम्बन्धित विषयहरूमा आवश्यक व्यावहारिक विज्ञता हासिल गर्न सकिरहेको छैनन । विभिन्न विधाका विषयवस्तुहरू अप्रासङ्गिक र खोज/अनुसन्धानका हिसाबले पुराना भइसकेका छन् । हाम्रो देशको प्राकृतिक साधनस्रोत र मानव संसाधनलाई जोड्ने भन्दा पनि विदेशीको नक्कल गरी उनीहरूकै निर्देशन र चाहनाअनुसारका पाठ्यसामग्रीहरूले विद्यार्थीका मस्तिष्कहरू भरिएका छन् । विश्व बैङ्क, आईएमएफजस्ता संस्थाहरूको लगानी, निर्देशन र हस्तक्षेपबमोजिम पाठ्यसामग्रीहरू निर्माण गर्ने गरिएको छ । जो नेपालको स्वाभिमान र विकासमा योगदान गर्नसक्ने दक्ष जनशक्तिको उत्पादन गर्ने भन्दा पनि पुँजीवादी/साम्राज्यवादी देशका लागि योग्य कामदार उत्पादन गर्ने र नेपालमै बसे पनि उनीहरूकै विचार र योजनाको सेवा गर्ने मानवशक्ति उत्पादन गर्ने उद्देश्यबाट प्रेरित रहेको छ । नेपालको शिक्षाप्रणालीमा पाठ्यसामग्रीहरू आफ्नो मौलिकता र माटोबाट कटेका छन् । पाठ्यपुस्तकहरू आफ्नो देश र स्थानीय ठाउँमा भएका प्राकृतिक, सामाजिक र सांस्कृतिक विषयहरूको ज्ञान दिन होइन, काल्पनिक र अव्यावहारिक सामग्रीहरूले भरिएका छन् । पाठ्यसामग्रीहरू नितान्त घोकन्ते विद्यामा आधारित रहेका छन् जसले विद्यार्थीलाई त्यसको जीवनव्यवहारमा प्रयोगका बारेमा जानकारी नै हुँदैन ।

३) संरचनागत/प्राविधिक समस्या

संरचनागत रूपमा नेपालको विद्यमान शिक्षाप्रणाली अत्यन्तै विभेदकारी, अवैज्ञानिक र पश्चगामी रहेकोछ । नेपालमा आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क भनिए पनि राज्य सञ्चालकहरूकै लगानीमा शिक्षालाई चरम व्यापारीकरण गरिएको छ । निजी र सामुदायिकका नाममा द्वैध शिक्षाप्रणाली लागू गरिएको छ जसले दुई प्रकारको जनशक्तिको विकास गरी समाजमा ठूलो सामाजिक खाडलको निर्माण गरेको छ । दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थाले शिक्षालाई सेवा र राज्यको दायित्वबाट पन्छाएर नितान्त ‘व्यापारिक वस्तु’ का रूपमा लिएको छ । शिक्षालाई बजारमा मोलतोल गरी खरिद–बिक्री गर्ने विषय बनाएको छ । सार्वजनिक शिक्षालयहरूको शैक्षिक र भौतिक गुणस्तर एकदमै न्यून स्तरको छ । यसको सुधार र विकासको उत्तरदायित्वबाट राज्य पूर्ण रूपमा पन्छिएको छ । शिक्षालाई व्यापारको विषय बनाएर पैसा हुनेले मात्र पढ्ने अवसर पाउने स्थिति उत्पन्न भएको छ जसले गर्दा लाखौँ बालबालिका÷विद्यार्थीले आर्थिक अवस्थाकै कारण शिक्षाको अवसरवाट वञ्चित हुनुपर्ने स्थिति छ । विद्यालयका व्यवस्थापन समितिहरूमा विकृत राजनीतिको चरम प्रभाव र भ्रष्टाचार व्याप्त रहेको छ । गुणस्तरीय र विषयविज्ञ शिक्षक÷शिक्षिकाहरूको चरम अभाव रहेको छ । विद्युत्, इन्टरनेट, स्तरीय पाठ्यपुस्तक, प्रयोगशालाजस्ता आधुनिक सिकाइका माध्यमहरूबाट धेरै विद्यार्थी वञ्चित हुनुपरेको छ । अहिलेको हाम्रो देशको शिक्षाप्रणालीले विशेषगरी दुई प्रकारका कामदारहरू तयार गरिरहेको छ : एक अमेरिका, युरोप, जापान, अस्ट्रेलियालगायत पहिलो विश्वका पुँजीवादी/साम्राज्यवादी देशहरूमा सस्तोमा श्रम वेच्ने र अर्को खाडी, मलेसियालगायत देशहरूमा शारीरिक रूपमा कठिन र सामान्य ज्ञान, सीप भएर पनि श्रम बेच्ने जनशक्ति ।

वैज्ञानिक समाजवादी शिक्षाप्रणालीकोे आवश्यकता

कुनै पनि देश/समाजलाई सही दिशामा अगाडि बढाउन मानवसभ्यताले विकास र आर्जन गरेका ज्ञानहरूका बारेमा सही तरिकाले नयाँ पुस्तालाई शिक्षित पार्नु निकै नै महत्वपूर्ण विषय हो । बालबालिका÷विद्यार्थीलाई सही समयमा सही ढङ्गले शिक्षित पारी भविष्यका लागि तयार गरियो भने मात्र उनीहरूले व्यक्तिगत रूपमा साथै देश र समाजलाई भविष्यमा वास्तविक योगदान र नेतृत्व गर्न सक्छन् । बालबालिका/विद्यार्थीलाई शिक्षा दिनु भनेको उनीहरूलाई व्यक्तिगत रूपमा पढाउनु मात्र होइन, देशको भविष्य निर्माण गर्नु पनि हो । नेपालको राज्यसत्ताको शिक्षानीति र व्यवहार हेर्दा उसले हाम्रो देशको वर्तमान र भविष्यलाई अत्यन्तै निराशाजनक र अँध्यारो दिशामा धकेलिरहेको छ । एक ढङ्गले भन्दा भविष्यलाई बर्बाद पारिरहेको छ । अहिलेका बालबालिका÷विद्यार्थी सही दृष्टिकोण र गुणस्तरीय शिक्षाविहीन रूपमा हुर्कंदै गए भने त्यो मानवीय शक्तिले भविष्यमा कसरी देश र समाजलाई सही अर्थमा योगदान गर्न सक्छ ? कदापि सक्दैन । अहिलेको विभेदकारी, द्वैध, अव्यावहारिक, अवैज्ञानिक र गुणस्तरहीन शिक्षा लिएर कसरी भविष्यमा यो शक्तिले भूमण्डलीकृत विश्वमा प्रतिस्पर्धा गर्न र अग्रता हासिल गर्न सक्छ ? कदापि सक्दैन । तसर्थ यसप्रकारको परिणाम दिने विद्यमान दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थाको असफल र विभेदकारी शिक्षाप्रणालीको तत्काल अन्त्य गर्नु अत्यावश्यक बनेको छ ।

नेपालको प्राकृतिक साधनस्रोत र मानव संसाधनलाई जोड्ने शिक्षाप्रणाली स्थापना गर्न आवश्यक छ । विदेशीको गुलाम बन्ने मनोवृत्ति होइन, आफ्नो श्रम, माटो र स्वाभिमानमा विश्वास गर्ने दृष्टिकोण दिने शिक्षाप्रणाली आवश्यक छ । आदर्शवादी, व्यक्तिवादी, रूढिवादी, उपभोक्तावादी, अन्धविश्वासी र परनिर्भर होइन, भौतिकवादी, वैज्ञानिक, व्यावहारिक, आत्मनिर्भर र आफ्नो श्रम र मेहनतमा विश्वास गर्ने बन्न प्रेरित गर्ने शिक्षाप्रणाली आवश्यक छ । विषयगत विज्ञतासहित आफ्नो माटो सुहाउँदो, स्थानीय प्राकृतिक साधनस्रोत एवम् सामाजिक स्थितिसँग मानव संसाधनलाई जोड्ने पुलको काम गर्ने शिक्षाप्रणाली आवश्यक छ ।

नेपालमा विद्यमान विभेदकारी द्वैध शिक्षाप्रणालीको अन्त्य गरी सबै नेपाली बालबालिका/विद्यार्थीले उनीहरूको क्षमताअनुसारको समान र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने प्रणाली आवश्यक छ । शिक्षालाई पूर्ण रूपमा राज्यको व्यवस्थापन र नियन्त्रणमा लानुपर्छ । राज्यको अग्रगामी, समाजवादी र वैज्ञानिक दृष्टिकोणअनुसारको वैचारिकी र ज्ञान÷चेतना प्रवाह र विकास गर्ने शिक्षाप्रणाली आवश्यक छ । सबै कोणबाट उत्कृष्ट र तीव्र लगन भएको मानव शक्तिलाई मात्र शिक्षण पेसामा लगाउनुपर्छ र शिक्षण पेसालाई मर्यादित, प्राज्ञिक र गहिरो जिम्मेवारीबोध भएको पेसा बनाउने व्यवस्था आवश्यक छ । बालबालिका÷विद्यार्थीलाई पढाउनु भनेको देशको भविष्य निमार्ण गर्नु हो भन्ने बोध भएको जनशक्तिलाई शिक्षण पेसामा लगाउनुपर्छ । बालबालिका/विद्यार्थीलाई बौद्धिक शिक्षा मात्र होइन, आवश्यक पोषणयुक्त भोजनको पनि व्यवस्था राज्यले गर्नु आवश्यक छ । उनीहरूलाई बौद्धिक रूपमा मात्र तयार गरेर पुग्दैन, शारीरिक रूपमा पनि बलियो र स्वस्थ ढङ्गले तयार गर्नु आवश्यक छ । श्रमसँग जोडिएको, समाजवादी, सामाजिक र मानवीय चेतनायुक्त मानव शक्ति जो देश र जनताप्रति पुर्ण समर्पित होस् र आफ्नो विषयविधामा ज्ञानयुक्त, निपुण र सीपयुक्त होस्, त्यस्तो मानव शक्ति उत्पादन गर्ने दृष्टिकोण, योजना र दृढ इच्छाशक्ति भएको शिक्षाप्रणाली स्थापना गर्नुपर्छ । यी विशेषताहरूसहितको वैज्ञानिक समाजवादी शिक्षाप्रणाली स्थापना गर्नु नै अहिलेको ऐतिहासिक आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :