कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन

कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन

काठमाडौँ : पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङको एक सय चार वर्षको उमेरमा आइतबार निधन भएको छ । गुरुङ नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकट थिए ।

खगुलाल २००७ सालदेखि नै नेपालको राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका उनी लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए । उनी २०१५ सालको आमनिर्वाचनमा प्युठानबाट नेकपाको उम्मेदवारसमेत बनेका थिए । नेपालका एक पुराना, इमानदार कम्युनिस्ट नेता खगुलालको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको आन्दोलनमा लागेकाहरूले बताएका छन् ।

गुरुङको निधनप्रति दुःख प्रकट गर्दै मसालका महामन्त्री मोहनविक्रम सिंहले पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाएको बताएका छन् ।

नेपालमा जनयुद्ध सुरु भएपछि कम्युनिस्ट नेता खगुलालले ‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्तैन’ भनी अन्तरवार्ता दिएका थिए । उनको अन्तरवार्ता छापिएपछि मसालले उनलाई कारबाही गरेको थियो भने अन्तरवार्ता छाप्ने पत्रिका ‘नौलो बिहानी’ र त्यसका पत्रकारलाई धम्कीसमेत दिएको थियो तर पनि खगुलालले आफ्नो अभिव्यक्तिप्रति अविचलित भएर इमानदारी देखाएका थिए । उनको अन्तरवार्ताले जनयुद्ध सञ्चालन गरेको र जनसेनासमेत बनाएको पार्टी नेकपा (माओवादी) मात्र नेपालको कम्युनिस्ट पार्टी हो भन्ने अर्थ लाग्ने र मसाल कम्युनिस्ट पार्टी होइन भन्ने अर्थ लाग्ने भएको भन्दै उनीमाथि कारबाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :