अमेरिकी परियोजना एमसीसीविरुद्ध पाल्पामा चार दल सडकमा

अमेरिकी परियोजना एमसीसीविरुद्ध पाल्पामा चार दल सडकमा

पाल्पा : अमेरिकी सुरक्षा हस्तक्षेप रणनीति परियोजनाको बाहिरी रुप विकास र सहयोगको नाम दिइएको एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती, जनघाती रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित देशैभरि सङ्घर्षको कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै शिशशिलामा आइतबार पाल्पाको तानसेनमा नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले प्रदर्शनसहित विरोध सभा सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) ले संयुक्त रुपमा तानसेनको टुडिखेलदेखि र्याली शुरुआत गर्दै आन्दोलनचोक तम्घास रोड लहरेपिपल, बिशालबजार मिलेनियम कलेज, हुलाक, जिल्ला प्रशासन कार्यालय, तेस्रो सडक, ठाडो गल्ली, नारननाथ, भिमेसेन मन्दिर हुँदै पुनः टुडिखेलमा आएर विरोध सभामा परिणत भएको थियोे ।

विरोध सभाको अध्यक्ष राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामीले गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, अतिथिहरू नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला सचिव भुवन जिसी, नेकपा (क्रान्तिकारी माओवादी) पाल्पा जिल्ला इन्चार्ज टीका राना, नेकपा (माले) का अध्यक्ष धनराज पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का अग्रज नेता मानध्वज श्रेष्ठ, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य नरमर्ती सिञ्जाली लगायतको उपस्थिति रहेको थियोे ।

प्रमुख अतिथि अनिल किशोर घिमिरे, अतिथिहरू नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसी, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज टीका राना, नेकपा (माले) का जिल्ला अध्यक्ष धनराज पौडेल तथा कार्यक्रमका अध्यक्ष राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशालले एक स्वरमा एमसीसी सम्झौता राष्ट्रघाती, जनघाती भएका सम्झौताको प्रस्तावित धारा, उपधाराको विस्तृत व्याख्या गरेका थिए । व्याख्या गर्दै एकै राष्ट्रलाई विदेशीको गिद्दे दृष्टिकोणलाई ध्वस्त पार्न, लखेट्न सम्पूर्ण नेपाली जनता सडकमा आउनु पर्ने बताए । वक्ताहरूले केही नेपाली दलाल नेताहरूले यसको संरक्षणमा यो सम्झौता ल्याएर सदनमा टेबुल गरेकोप्रति आपत्ति जनाएका थिए । यदि यसो गरे नेपाली यी वर्तमानमा सत्तामा आसिन दलहरूलाई राजा ज्ञानेन्द्र शाहलाई जस्तै सत्ताबाट च्यूत गरेर देश र जनताको रक्षा गर्ने सरकार बनाउने समेत चेतावनी दिए ।

यस्तै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसीले यी यस्तै बिषयहरूलाई समाधान गर्न र अहिले उत्पन्न परिस्थितिको सिर्जनाका बिषयमा २०७० सालदेखि यो वर्तमान सत्ता असफल र दलालमा परिणत भएकोले आफूहरूले चलाएको एकीकृत जनक्रान्तिको अभियान सैद्धान्तिक रुपले पुष्टि भएको हुँदा यसको अन्त्य र देशको रक्षा भनेको वैज्ञानिक समाजवादले गर्ने भएकोले वैज्ञानिक समाजवाद की पुँजीवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमतसङ्ग्रह गरि वैज्ञानिक समाजवादलाई जिताउनसमेत आग्रह गरे । उनले सम्पूर्ण सच्या, वामपन्थी, क्रान्तिकारीहरू एकीकृत जनक्रान्तिको वरिपरी गोलबन्द हुनसमेत आह्वान् गरे ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य मीनबहादुर आलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :