मृत्युलाई झुकाउने योद्धा : महान् सहिद गोन्जालोप्रति लालसलाम !

मृत्युलाई झुकाउने योद्धा : महान् सहिद गोन्जालोप्रति लालसलाम !

मार्क्सवाद लेनिनवाद माओ विचारधारालाई माओवादमा विकास गर्ने डा. अभिमायल गुज्मान रेनेसो ‘गोन्जालो’ को बलिदान भएको छ । विश्व सर्वहारा वर्गको मुक्तिका लागि यो कम्युनिस्ट आन्दोलनकै उच्च बलिदान हो । माओपछि विश्व कम्युनिस्ट आन्दोलन मूर्झाइरहेको समयमा माओवाद संश्लेषण गदै दीर्घकालीन जनयुद्धमार्फत सामन्ती–पुँजीवादी–साम्राज्यवादी उत्पीडन अन्त्य गर्ने दृढता र आत्मविश्वासका साथ क्रान्तिको झन्डा फहफराउने, श्रमिक सर्वहारा वर्गको हृदयमा खुसीको दियो बाल्ने र दुष्टहरूको मुटु हल्लाइदिने कमरेड गोन्जालो साँच्चिकै श्रमिक वर्गका प्रिय नेता थिए र दूरद्रष्टा दार्शनिक पनि थिए । पेरूमा मालेमावादी जनयुद्ध विजयको सन्निकट पुगिसकेको समयमा अमेरिकी साम्राज्यवादको इशारा र निर्देशनमा साम्राज्यवादी कठपुतली फुजीमोरी सरकारले कमरेड गोन्जालोलाई कायरतापूर्वक गिरफ्तार गर्यो र एक महान् क्रान्तिकारीलाई नानाभाँती आरोपहरू थोपर्दै आजीवन काराबासमा थुन्यो । निरन्तर तीन दशकसम्म जेलभित्रको पनि जेल गोलभित्रको पिँजडामा बन्द गरेर पनि प्रतिक्रियावादी शासकहरू मस्तसँग चैनको निद्रा सुत्न सकेनन् । उनीहरूलाई कमरेड गोन्जालोले बोकेको विचारले लखेटिरह्यो । साम्राज्यवादका गोटी कठपुतली फुजीमोरी र तिनका आदेशदाताहरू हजारपल्ट मरिसकेका छन् तर कमरेड गोन्जालो कहिल्यै नमर्ने गरी महान् र अमर सहिद भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले ३० वर्षसम्म आततायीहरूले पिँजडामा कैद गरेर राखेका गोन्जालोको रिहाइको आवाज उठाउँदै कार्यक्रम गरेको भोलिपल्ट कमरेड गोन्जालोको बलिदानको खबर सुकेको खरमा डढेलो लागेझैँ संसारभर फैलियो । श्रमिक, उत्पीडित र सर्वहाराका लागि यो अत्यन्त अप्रिय खबर थियो भने श्रमिक सर्वहारा जनताका वैरी अर्थात् साम्राज्यवाद र दलाल पुँजीवादका लागि यो खुसीको खबर थियो । संसारभरकै श्रमिक वर्गले कमरेड गोन्जालको शोकमा शिर निहुर्यायो र प्रतिबद्धता व्यक्त गर्यो– सर्वहारा वर्गको मुक्ति नहोउन्जेल गोन्जालोका विचारहरू अमर रहनेछन् । नेपालमा एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाका महासचिव विप्लवले गोन्जालोलाई महान् सहिद घोषणा गर्दै प्रतिक्रियावादी शासकहरूले क्रान्तिकारी योद्धा गोन्जालोको हत्या गरे पनि मानव जातिको मुक्ति नभएसम्म गोन्जालोले उठाएको साम्यवादको महान् झन्डा फहराइरहने बताए । यो सहिद गोन्जालोको उच्च सम्मान हो । अझ उच्च सम्मान त गोन्जालो अर्थात् सर्वहारा वर्गको मुक्तिका लागि बलिदान गर्ने संसारभरका लाखौँ–करोडौँ सहिदहरूको सपना पूरा गरेपछि मात्र हुन्छ । यो सपना पूरा गर्ने प्रतिबद्धतासहित कमरेड विप्लवले भनेका छन्, ‘कमरेड गोन्जालो फासिस्ट पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष गर्दागर्दै सहिद हुनुभएको छ । सर्वहारा वर्गका इमानदार नेताको निधनले हामी विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई दुःखी बनाए पनि उहाँको वैज्ञानिक समाजवाद– साम्यवादप्रतिको प्रतिबद्धता र दृढताले गौरवान्वित बनाएको छ ।’

सच्चा क्रान्तिकारीहरू आफ्नो उद्देश्य पूरा नहुँदै थाक्नु, गल्नु, भाग्नु वा आफ्नो वर्ग छोडेर जीवनको भिक माग्दै दुस्मन क्याम्पमा लम्पसार पर्नुलाई जिउँदै भएको वैचारिक मृत्यु वा दलाली–गद्दारी ठान्छन् । नेपालमा पनि गोन्जालोको बाटोमा हिँड्ने प्रतिबद्धताका साथ क्रान्तिको झन्डा बोक्ने केही व्यक्तिहरू जिउँदै मरेका छन् अर्थात् आफ्नो वर्गलाई धोका दिँदै दुस्मन क्याम्पमा लम्पसार परेका छन् । मृत्यु वीरहरूको पनि हुन्छ र कायरहरूको पनि हुन्छ । वीर र बहादुरहरूको मृत्यु बलिदान हुन्छ, सहादत हुन्छ, गौरवशाली र पहाडभन्दा गह्रौँ हुन्छ । भगौडा, कायर र गद्दारहरूको मृत्यु दुस्मनको जस्तै प्वाँखभन्दा पनि हलुका हुन्छ । यस अर्थमा आफ्नो आस्था, विचार र दृढतालाई एकरत्ति डगमगाउन नदिई गर्विलो मृत्यु वरण गर्ने कमरेड गोन्जालोको मृत्यु वा बलिदान पहाडभन्दा पनि वजनदार छ । कमरेड गोन्जालोको बलिदानले सर्वहारा श्रमिक वर्गको शिरलाई उच्च पारेको छ । स्रष्टा र क्रान्तिकारीहरूको मृत्यु हुँदैन भनिन्छ । यसको अर्थ क्रान्तिकारी र स्रष्टा हुनु मृत्युलाई जित्नु हो । जसले साँचो अर्थमा मृत्युलाई जितेका हुन्छन्, ती गोन्जालो हुन्छन्, चे हुन्छन्, चारु, आजाद, इच्छुक र दिलमाया हुन्छन् । भौतिक रूपमा बाँचेर पनि वैचारिक रूपमा मृत्यु भएकाहरू ख्रुस्चेब, देङ, मनमोहन, रायमाझी र पुष्पकमल दाहालहरू हुन्छन् । दुस्मनको कालकोठरीमा कैद भएर पनि हजारौँ सुरक्षाकर्मीको पहराभित्र बस्दै काँपिरहेका दुस्मनका सामुन्ने गोन्जालो एक महान् योद्धा, विचारक र सहिद हुन् । यो अवस्थालाई संश्लेषण गर्दै महासचिव विप्लवले भनेका छन्, ‘पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष तथा विश्व कम्युनिस्ट आन्दोलनका नेता कमरेड गोन्जालोको ११ सेप्टेम्बर, २०२१ मा पेरूको क्रूर प्रतिक्रियावादी सत्ताको सैन्य अस्पतालमा दुःखद् निधन भएकोे छ । अर्को अर्थमा कमरेड गोन्जालो फासिस्ट पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष गर्दागर्दै सहिद हुनुभएको छ । सर्वहारा वर्गका इमानदार नेताको निधनले हामी विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई दुःखी बनाए पनि उहाँको वैज्ञानिक समाजवाद– साम्यवादप्रतिको प्रतिबद्धता र दृढताले गौरवान्वित बनाएको छ ।’ बलिदानमा पनि गौरवान्वित हुनसक्ने बनाउन जोकोहीले सक्तैनन्, त्यसका लागि गोन्जालो नै चाहिन्छ । विश्वमै रक्षात्मक देखिएको कम्युनिस्ट आन्दोलनलाई नै नयाँ शक्ति र चेतना सञ्चार प्रवाह गर्ने एक महान् क्रान्तिकारी, वैचारिक योद्धा एवम् महान् सहिद गोन्जालोप्रति हार्दिक श्रद्धाञ्जली ! अन्तिममा महासचिव विप्लवकै शब्दमा ‘महान् नेता एवम् योद्धा कमरेड गोन्जालो, यो धर्तीमा मानव जाति रहेसम्म तपाईंको विचार र आदर्श बाँचिरहनेछ । तपाईंको भौतिक जीवन नरहे पनि तपाईंले उठाएको साम्यवादको महान् झन्डा फहराइरहनेछ !’ सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :