मार्सल किम जोङ उनसँगै सैनिक परेड हेर्दा

‘सँगसँगै गरौँला साम्यवादसम्मको यात्रा’

मार्सल किम जोङ उनसँगै सैनिक परेड हेर्दा

यात्रा डायरी

एकै छिनअघिसम्म समान आकारका रूखहरू भएको जङ्गलजस्तो देखिने ठाउँ केही समयपछि समुद्रको छालजसरी तरङ्गित हुन थाल्यो । एकै छिनमा त्यो समुद्रको छालजस्तो दृश्यको बीचमा कोरियाली भाषा र अङ्ग्रेजी भाषामा एक सय पाँच अङ्क बन्यो, जनगणतन्त्र कोरियाको झन्डा बन्यो र कोरियाली वर्कर्स पार्टीको झन्डा पनि बन्यो । हेर्दाहेर्दै त्यो अङ्कको माथि आकाशमा दर्जनौँ लडाकु विमानहरूले एक सय पाँच अङ्क निर्माण गरे । हामीले यस्ता चामत्कारिक दृश्य हेर्दाहेर्दै अरू दर्जनौँ विमानहरू आकाशमा उडे र तिनले पुष्पवृष्टि गरे ।

लेखक : अशाेक सुवेदी

यी चलचित्रका दृश्य, हवाईकल्पना वा नाटकका परिदृश्यहरू थिएनन् । जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको मुटु देदोङ नदीको किनारमा अवस्थित जुछे स्क्वायरमा आधुनिक कोरियाका जन्मदाता, कोरियाली जनताका महान् नेता र समाजवादी कोरियाका प्रवर्तक किम इल सुङको एक सय पाँचौँ जन्मजयन्तीका अवसरमा कोरियाली जनमुक्ति सेनाले देखाएको जादुगरी कला थियो ।

‘के यी दृश्य सत्य हुन् ?’, मैले एकपटक आफ्नै नाडी छामेँ र आफैँलाई चिमोटेँ ।

छेउमै बसेकी थिई किशोर वय भर्खरै पार गरेकी इन्टरप्रेटर पाक जिन हुई । हामीसँग धेरै झ्याम्मिएपछि नेपाली चेलीजस्तै लागेर हामीले उसको नेपाली नाउँ ‘नानी’ राखिदिएका थियौँ ।

मैले सोधेँ, ‘नानी, तिमीहरूले हामीलाई जादु देखाएको कि सत्य ?’

प्रत्युत्तरमा उसले सहजै भनी, ‘…सायद मेरा बाबा पनि त्यही विमानमा हुनुहुन्थ्यो । आज संसारलाई समाजवाद नै जादु वा दुर्लभजस्तो भान परिरहेको समयमा तिमीलाई पनि त्यस्तै भ्रम परेको हुनसक्छ । एकपटक आँखा मिचेर हेर अधबैँसे लेखक, उताबाट सैनिक ट्याङ्कहरू हामीतिरै आइरहेका छन् ।’

नानीले यति भनेको मिनेट बित्न नपाउँदै जुछे स्क्वायरको बायाँबाट छोटो, मध्यम र लामो दूरीका मिसाइल र क्षेप्यास्त्र बोकेका सयौँ सैनिक ट्याङ्कहरू हामीतर्फ अग्रभाग पार्दै दायाँतिर लागे । डेढ दर्जन किसिमका जल, स्थल, वायु, प्रविधि सैनिकहरूको मार्चपास्ट र स्यालुटले शरीर सनन्न भयो । म मात्र होइन, मेरो छेवैमा बसेका नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कमरेड भरत बम ‘रणवीर’, नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका सल्लाहकार तथा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष कमरेड पूर्णबहादुर सिंह, नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका सल्लाहकारसमेत रहेका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हस्तबहादुर केसी, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष तथा ताम्सालिङ जनसरकार प्रमुख माणिक लामा, प्राडा सुरेन्द्र केसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सरोज भण्डारी र हामीजस्तै संसारका ४५ देशका ६० संस्था/पार्टी प्रतिनिधि, हजारौँ कोरियाली कर्मचारी, सैनिक, कलाकार यी दृश्य एक टकले हेर्दै ‘ओहो ! ओहो !!’ भनिरहेका थिए । हाम्रो मन त्यतिबेला झनै सनन्न भयो जतिबेला संसारले नै आश्चर्यपूर्वक हेरिरहेका बीसौँ लाख कोरियाली जनमुक्ति सेनाका नायक तथा कोरियाली वर्कर्स पार्टीका अध्यक्ष मार्सल किम जोङ उन पनि हामीनजिकै बसेर यी सबै दृश्य नियालिरहेका छन् भन्ने थाहा पायौँ ।

एकै छिनपछि मार्सल किम जोङ उन आफ्नो सिटबाट उठेर नजिकै तल रहेका हामीलाई, परेड खेलिरहेका र शस्त्रास्त्र प्रदर्शन गरिरहेका जनमुक्ति सेना, चौरमा समुद्रजस्तै लहरिने र अङ्क–झन्डा निर्माण गर्ने झन्डै एक लाख प्योङयाङबासी जनसमुदायलाई हात हल्लाएर अभिवादन गरे । एक छिनअघिसम्म हामीसँगै शान्त भएर सैनिक कला हेरिरहेकी मिस पाक जिन हुई अर्थात् नानी हामीसँगै उठी र आफ्ना सुप्रिम कमान्डरलाई अभिवादन गर्दै र जोडजोडले हात हल्लाउँदै एकाएक उफ्रिन थाली । हाम्रो बायाँतर्फ बसेकी ८० वर्षीया वृद्धा भीडबाट हात हल्लाएर चिच्याउँदै ‘किम जोङ उन, किम जोङ उन’ भन्दै रुन थालिन् । बायाँपट्टिको लहरमा बसेका करिब एक हजार जनसेनाले निरन्तर ताली बजाउँदै एकसाथ नारा लगाए, ‘किम जोङ उन, किम जोङ उन…।’ तल चौरमा बसेको मानवसागर समुद्रलहरी बन्दै केही अघि बढ्यो र भीडभित्रैबाट पटकपटक एक सय पाँच अङ्क र झन्डाका चित्रहरू बनाउँदै तरङ्गहरू निर्माण गर्यो । मार्सल किम जोङ उनलाई अभिवादन गरिसक्दा नानीको अनुहार पसिनैपसिना भएको थियो । हिजो र आज बिहान हात मिलाउँदा नौनीझैँ नरम लागेका उसका हात यतिबेला एकाएक बन्दुकको नालजस्तै कडा भए ।

‘तिमी त एकाएक फेरियौ नि नानी ?’, मैले सोधेँ ।

‘कुन नौलो कुरा हो र ! आज हाम्रो देश, व्यवस्था र जीवनकै लागि पनि विशेष दिन हो । आजै हाम्रा पचासौँ हजार जनमुक्ति सेनाले आफ्नो कला प्रस्तुत गरेका छन् । म वैदेशिक नीति विषय लिएर स्नातकोत्तर अध्ययन गर्नतिर नलागेकी भए तिमीले मलाई पनि त्यही लहरमा स्यालुट गर्दै गरेको अवस्थामा पाउने थियौ’, उसले भनी ।

‘के तिमी पनि जनमुक्ति सेनाकी सदस्य हौ र ?’, मैले आश्चर्य मान्दै सोधेँ ।

‘लौ, यो त हाम्रा लागि गौरवको विषय हो । समाजवादको रक्षा, विकास र हाम्रो राष्ट्रियतामाथि आँखा गाड्न खोज्ने दुष्टहरूका विरुद्ध विस्फोट हुन हामी सबै कोरियाली तयार छौँ । यो हाम्रा लागि मात्र नभएर मानव जातिकै रक्षाका लागि हो । सर्वहारा वर्गका लागि त अनिवार्य नै हो । मैले सैनिक तालिम लिइसकेकी छु । स्नातकोत्तर अध्ययन सकेपछि फेरि थप तालिम लिन्छु । कोरियालीहरू अनिवार्य सैनिक तालिमबाट छुटे भने आफ्नो जीवन असफल भएको ठान्छन् । देश, जनता र व्यवस्थाको रक्षा र समृद्धिका लागि लड्नु हाम्रा लागि गौरवको विषय हो । समाजवादलाई साम्यवादसम्म नपुर्याएसम्म हामी सदा जागै रहनुपर्छ ।’

‘समाजवादलाई साम्यवादसम्म नपुर्याएसम्म हामी सदा जागै रहनुपर्छ’, नानीको यो भनाइ मलाई धेरै नै महत्वपूर्ण लाग्यो । हो त, पेरिस कम्युन जितिसकेपछि जागै नबस्नाले पहिलोपटक प्राप्त जनसत्ता दुस्मनले कब्जा गरेको थियो र हजारौँ कम्युनार्डलाई एकै चिहान पारेको थियो । मैले महासचिव कमरेड विप्लवले करिब एक दशकअघि लेखेको गीत सम्झिएँ :

जागै बस साथी जागै बस
हुरीअघि सन्नाटामा
मार्च हुन सक्छ बिहानै ….

जनवादी गणतन्त्र कोरिया सरकारको जिम्मेवार निकाय कोरियाली समाज वैज्ञनिकहरूको सङ्गठन ‘कास’ को निमन्त्रणामा अप्रिल १३ मा मेरो नेतृत्वमा नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका प्रतिनिधि प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा परैबाट हात हल्लाएर स्वागत गर्ने पाक जिन हुईका बारेमा हाम्रो टोलीका ६ जना र माणिक लामा समूहका दुईजना सबैको एउटै निष्कर्ष थियो– नानीबाटै कोरिया कस्तो छ आकलन गर्न कुनै गाह्रो पर्दैन । सुरुमा कम आँकिएकी नानीले हरेक दिनका कार्यक्रमहरूमा हामीलाई झन्झन् प्रभावित पार्दै गएकी थिई । उसले हामीलाई दोस्रो दिनमै झन्डै तीन करोड जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिरहेको समाजवादी मुलुक जनगणतन्त्र कोरिया संसारकै समाजवादीहरूका लागि नमुना रहेको बताएकी थिई । नभन्दै २० तारिखमा हामी हिँड्ने दिन उसले सोधेकी थिई,

‘तपाईंहरूलाई अब कुनै शङ्का छ कि ?’

पहिलोपटकको यात्राका दोभासे मिस्टर ओले भनेका थिए, ‘हामी समाजवाद टिकाउन कुनै पनि मूल्य चुकाउन तयार छौँ ।’ दोस्रो यात्रामा दोभासे भएर आएकी नानीले कार्यक्रमहरूमा बहसमा भाग लिन लगाएर र दर्सनीय स्थलहरूमा घुमाएर हामीलाई प्रभावित पारिसकेकी थिई– दसौँ लाख कोरियाली जनताले रगत बगाएर स्थापना गरेको समाजवाद हो कोरियाको । यो व्यवस्था निर्माण गर्न र कोरियालीहरूलाई यो सुख र समृद्धि दिलाउन किम इल सुङ, किम जोङ इल र अरू कयौँले आफ्नो निजी सुख र समृद्धिलाई तिलाञ्जली दिएका छन् । उसले निर्भीक भएर आफ्नो नेतृत्वको चर्चा गरिरहँदा म भने महान् जनयुद्धमा बलिदान गर्ने दसौँ हजार योद्धाका सपनालाई दुस्मनको पाउमा बुझाएर वर्गघात गर्ने पुष्पकमल दाहाल र बाबुरामहरूका षड्यन्त्रकारी व्यवहार र तिनका दुष्ट अनुहार सम्झिएर पिच्चपिच्च थुकिरहेको थिएँ ।

नानीले हामीलाई करिब ४५ देशका ६० भन्दा बढी पार्टी/सङ्घसंस्थाका डेढ सयभन्दा बढी समाजवादी बौद्धिकहरूका बीचमा सङ्कटग्रस्त साम्राज्यवादको पछिल्लो अवस्था, जनवादी गणतन्त्र कोरियाले जुछे विचार अवलम्बन गर्दै स्वाधीन, मुक्त, समृद्ध कोरिया निर्माण गर्नुका साथै सोही विचारको माध्यमबाट विश्व–साम्राज्यवादलाई दिएको चुनौती र उत्पीडित राष्ट्र तथा जनताले गर्नुपर्ने वर्गसङ्घर्षको तयारीका सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने वातावरण बनाई र विचार र व्यवहारका बीचमा तालमेल छ कि छैन भनेर कोरियाका सैनिक र ब्यालेस्टिक मिसाइलहरू पनि देखाई । दस हजार किलोमिटर टाढासम्म सहजै मार हान्नसक्ने क्षेप्यास्त्रहरू हामीले आफ्नै आँखाअघिल्तिर दस मिटरनजिकैबाट हेर्यौँ शरीर जिरिङ्ग–जिरिङ्ग पार्दै । ‘यी हतियारहरूको प्रयोग हुन पायो भने उत्तरसाम्राज्यवादी अमेरिका निमेषभरमै ध्वस्त हुनेछ…’, मैले मनमनै भनेँ ।

‘तिमीले के भन्यौ’, मेरो मनको कुरा सुनेझैँ गरी नानीले सोधी ।

‘साम्राज्यवादको अन्त्यका लागि तिमीहरूले गरेको विकास अमूल्य छ र तिमीहरूको मेहनत धन्य छ भनेको’, मैले जबाफ दिएँ । कोरियाली रगत, पसिना र विचारले निर्माण गरेका दुर्लभ दृश्यहरूको अवलोकनपछि मञ्चका सल्लाहकार हस्तबहादुर केसीले भन्नुभयो, ‘कोरियामा साँच्चिकैको समाजवाद रहेछ र सर्वहारावर्गको अधिनायकत्व रहेछ ।’ क्षेप्यास्त्रहरूको अवलोकनकै क्रममा मञ्चका सल्लाहकार राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले यो चमत्कारको शब्दमा वर्णन गर्न गाह्रो पर्ने बताउनुभयो । अर्का सल्लाहकार अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले नेपालका देशभक्त र क्रान्तिकारीले कोरियाबाट सिक्नुपर्ने बताउनुभयो । कार्यक्रमकै बीचमा हाम्राबीच वार्तालाप भइरहेको सुनेकी नानीले सोधी, ‘लेखक–पत्रकार महोदय, तपाईंहरूलाई हाम्रा गतिविधिले आकर्षित गरेनन् कि क्या हो ? तपाईंहरूको देशमा पनि समाजवाद स्थापना भएपछि गरौँला है साम्यवादसम्मको सहयात्रा…।’ ‘सुरुको दिन देख्दा नपत्याइएकी यो किशोरीलाई कोरियाली समाजवादले साँच्चै सक्षम बनाएको रहेछ’, नानीतिर हेर्दै हाम्रो प्रतिनिधिमण्डलका सदस्य सरोजले भन्नुभएको थियो, ‘महिला र पुरुषका बीचमा असमानताका पर्खालहरू हटेपछि हाम्रो समाजमा पनि यस्तै सक्षम नानीहरूको कुनै अभाव हुनेछैन जसले समाजको आमूल परिवर्तनमा आफ्नो सम्पूर्ण क्षमता लगाउनेछन् ।’

हामीलाई बिदा गर्न अप्रिल २० तारिखमा विमानस्थलमा आएकी नानीले भनेकी थिई, ‘फर्केपछि पनि कोरिया, हाम्रो समाजव्यवस्था र यहाँका राम्रा कुराहरू नबिर्स है ! हामीले व्यक्तिगत रूपमा कुनै त्रुटि गरेका रहेछौँ भने पनि कम्तीमा हाम्रो समाजवादलाई भने नबिर्स । हामी तिम्रो देशको समाजवाद कस्तो रहेछ, कुनै दिन हेर्न आउँला ।’

यात्रा, बहस र षड्यन्त्र हो, हामीले फेरि जनवादी गणतन्त्र कोरियाको यात्रा गर्यौँ । यसपटकको यात्रा अघिल्लो यात्राभन्दा धेरै उचाइको बन्यो । हाम्रो यात्राको सफलतापछि क्रान्तिकारीहरूमा एउटा नयाँ उत्साह उत्पन्न भयो । सायद यही सफलताका कारण नेपालका प्रतिक्रियावादी, अवसरवादी र दलालहरूको होसहवास उड्यो । किनकि हामीले पहिलो यात्रापछि लगत्तै नेपाल–कोरिया लेखक/पत्रकार मञ्च निर्माण गरी कार्यसमिति घोषणा गरिसकेका थियौँ र हाम्रो नेतृत्वलाई कोरियाको नेतृत्वसँग भेट र अन्तरक्रिया गराइसकेका थियौँ । यसअघि कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवाद र जुछे विचारमाथि अन्तरक्रिया आयोजना गरी प्रमुख अतिथिका रुपमा नेकपाका स्थायी समिति सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ बाट महत्वपूर्ण वैचारिक प्रशिक्षण लिइसकेका थियौँ । उक्त कार्यक्रममा कास महासचिव री सोङ चोल, जनगणतन्त्र कोरियाका राजदूत किम योङ हक, एसिया निर्देशक किम चोल होलगायत कोरियाली प्रतिनिधि पनि सहभागी भइसकेका थिए । हामीले कोरियामै लगेर ‘जनगणतन्त्र कोरिया यात्रा र हाइड्रोजन भूकम्प’ पुस्तक लोकार्पण र परिचर्चा पनि गराइसकेका थियौँ । त्यसैले दुस्मनका एजेन्टहरू योजनाबद्ध रूपमा विषयवस्तुलाई तोडमोड गर्दै षड्यन्त्रको तानाबाना बुन्न थाले र हामी नेपाल नफर्किंदै विभिन्न अनुहारविहीन बुख्याँचाहरूलाई प्रयोग गर्दै साम्राज्यवादको योजना पूरा गर्न हाम्राविरुद्ध खनिए । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चद्वारा उत्तरसाम्राज्यवादविरुद्ध काठमाडौँमा आयोजित गोष्ठीमा प्रमुख अतिथि कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत वक्ताका विचारहरु सञ्चारमाध्यममा प्रवाह भएपछि दुस्मनका एजेन्टहरु सल्बलाइरहेका थिए ।

हुनत पहिलो यात्राबाट उत्पन्न तरङ्गलाई पनि साम्राज्यवादका कयौँ दलालहरूले पचाउन सकेका थिएनन् । उनीहरू लेखेर, बोलेर र हाउभाउबाट पनि हाम्राविरुद्ध उत्रिएका थिए । हामीजस्ता सामान्य र पहुँच नभएका मान्छेहरूले शक्तिसम्पन्न र आफ्नै खालको समाजवादको चरम आस्वादन लिइरहेको मुलुक जनगणतन्त्र कोरियाको यात्रा गर्न, बहस गर्न र बलियो सम्बन्ध विकास गर्न कसरी सम्भव भयो होला र ? उनीहरूलाई यो सत्य पचाउन कठिन भइरहेको थियो । फेरि त्यहीँ पुगेर हामीले कोरियाली वर्कर्स पार्टीका वरिष्ठ उपाध्यक्ष किम की नामलाई समेत भेटेर गम्भीर छलफल गरेका थियौँ । कोरियाको मैदानमै हामीले भारतीय साम्राज्यवादलाई चुनौती दिएका थियौँ । साम्राज्यवादका दलालहरूलाई यो सत्य पचिरहेको थिएन सायद । यसपटक हामीले एकै तीरले धेरै सिकार खेल्यौँ । जस्तै, हाम्रो पार्टीका पीबीएम कमरेड भरत बम ‘रणवीर’ ले पार्टीगत रूपमा यात्राको वैचारिक र साङ्गठनिक नेतृत्व गर्नुभयो । त्यसअघि कार्यक्रम नै आयोजना गरेर नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका पदाधिकारी, नेकपाका पीबीएम कमरेड रणवीर र अन्य प्रतिनिधिलाई कोरिया यात्राका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम बनाएका थियौँ । हाम्रो पार्टी र कोरियाको पार्टीका बीचमा पार्टीस्तरमा सम्पर्क बढेको थियो । हाम्रो यात्रा र बहसअघि एकाध व्यक्तिले कोरियालाई नेपाली भनेका हामी नै हौँ भन्ने भ्रम छरिरहेका थिए । हामी ८ जनाको शक्तिशाली उपस्थिति र वैचारिक बहसले त्यो भ्रम पूर्ण रूपमा चिरियो । हाम्रो समूहमा ‘थ्रि इन वान’ को उपस्थिति थियो– हाम्रो पार्टीका युवा नेता कमरेड रणवीरको नेतृत्व उसै पनि गौरवशाली बन्ने नै भयो । त्यसपछि जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङमा कोरियासम्बन्धी मेरो पहिलो पुस्तक कास महासचिव क. री सोङ चोल, क. रणवीर, फ्रान्सका प्रोफेसर एड्मन्ड जोउभे, मञ्चका सल्लाहकार हस्तबहादुर केसी र इन्टरप्रेटर मिस्टर ओलगायतले सामूहिक रुपमा लोकार्पण गरिसक्दा दुस्मनहरुको छट्पटाहट झनै बढेको हामीले अनुभूति गरिरहेका थियौँ ।

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् मार्क्सवादी लेखक हस्तबहादुर केसी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, लाखौँ युवा विद्यार्थीका नेता अखिल क्रान्तिकारीका अध्यक्ष कमरेड पूर्णबहादुर सिंह, सोही सङ्गठनका केन्द्रीय सदस्य सरोज भण्डारी, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष एवम् ताम्सालिङ जनसरकारका प्रमुख माणिक लामालगायतको उपस्थितिका कारण नेपालका प्रतिक्रियावादी क्याम्पहरूमा उसै भुइँचालो जाने नै भयो । हामी हिँडेको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्थाले गरेको भव्य बिदाइ कार्यक्रमले नै हाम्रा विरोधी र प्रतिस्पर्धीहरू तिल्मिलाइसकेको अनुभूति गरिएको थियो । प्योङयाङमा आयोजित पुस्तक लोकार्पण तथा परिचर्चा कार्यक्रममा सहभागी संसारभरका समाजवाद पक्षधरहरूले दिएको मन्तव्य पनि दुस्मनहरुका लागि टाउको दुखाइको विषय बनेको थियो । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले प्रतिनिधिहरू कोरिया पठाउनुअघि राजधानीमा नेकपाका स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो प्रमुख कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्यमा उत्तरसाम्राज्यवादविरुद्ध गोष्ठी गरेको थियो । त्यस्तै हाम्रो प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्चका महासचिव अग्निराज पौडेल ‘अराप’ को अगुवाइमा गरिएको भव्य बिदाइ, कोरियामा हाम्रो नेतृत्व र हामीले साम्राज्यवादविरुद्ध जमेर गरेको बहस–गोष्ठी, संसारभरका छानिएका प्रतिनिधिहरूका बीचमा कोरियायात्रा सम्बन्धमा लेखिएको मेरो पुस्तकको लोकार्पण र परिचर्चा यी सबै विषयका कारण नेपालका प्रतिक्रियावादी, अवसरवादी र साम्राज्यवादी एजेन्टहरूका क्याम्पहरूमा भुइँचालो जानु स्वाभाविक नै थियो, गयो । यो अस्वाभाविक होइन । फलस्वरूप तिनले देवी नेपाललगायत दुस्मनका केही दलालहरूलाई दुरुपयोग गरेर मिडियाबाजी गर्ने दुष्प्रयास गरे र टोली नेताको हैसियतले मेरो मानमर्दन गर्ने धृष्टता गरे । तर त्यो पानीको फोकाझैँ प्याट्टै फुटिहल्यो । हामी नेपाल फर्किने बेलासम्म पनि केही बुख्याँचाहरू हाम्राविरुद्ध प्रकाशित समाचार बोकेर हकरझैँ हस्याङ र फस्याङ गर्दै देखाउँदै दुगुरिरहेको दृश्य अत्यन्तै घिनलाग्दो थियो । हाम्रो नेतृत्व र वर्गले यसको अन्तर्यका बारेमा राम्ररी बुझेको छ र दुस्मनका एजेन्ट कोको हुन् राम्ररी अध्ययन गरेको छ । यसको हिसाबकिताब समयक्रममा बिस्तारै हुनेमा विश्वस्त हुन सकिन्छ ।

(शक्तिशाली समाजवाद :जनगणतन्त्र कोरियाको दोस्रो यात्रा पुस्तक २०७४ बाट उद्धृत)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :