राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

राष्ट्रघाती एमसीसी परियोजना खारेज गर

साम्राज्यवादी दादागिरी मुर्दावाद !
साम्राज्यवादी पक्षधरता मुर्दावाद !!
राष्ट्रघाती एमसीसी परियोजना मुर्दावाद !!!

नेपालमा पछिल्लो समयमा साम्राज्यवादी चलखेल र अतिक्रमण अत्यन्त धेरै बढेको छ । साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणका कारण हरेक देशभक्त र क्रान्तिकारी नेपालीमा आवेग बढ्दै गएको छ । हरेक देशभक्त तथा जनवादी शक्तिहरू घरघर र चोकचोकमा नारा लगाइरहेका छन्– साम्राज्यवादी दादागिरी मुर्दावाद ! साम्राज्यवादी पक्षधरता मुर्दावाद ! राष्ट्रघाती एमसीसी परियोजना मुर्दावाद !!! एकातिर नेपाली भूमि अतिक्रमण गरेर ढलिमली गरिरहेको भारतीय साम्राज्यवाद नेपालको दार्चुलालगायत क्षेत्रको आकाशमा सैनिक जहाज घुसाएर साम्राज्यवादी दादागिरी मच्चाइरहेको छ भने अर्कातिर अफगानिस्तानबाट लज्जाजनक पराजय बेहोरेर तिल्मिलाउँदै फर्किएको अमेरिकी साम्राज्यवाद नेपाल र स्वाभिमानी नेपालीको टाउकोमा राष्ट्रघाती एमसीसीको कोर्रा बर्साउन नेपालको सत्तामा अनेकका बुख्याँचा तयार पारेर षड्यन्त्र गरिरहेको छ । महाकालीमै राष्ट्रघात गरेर कुख्याती कमाइसकेका शेरबहादुर देउवा नाउँका पात्रले प्रधानमन्त्रीको कुर्सीबाट निकट भविष्यमै एमसीसी पारित हुन्छ भनेर ऐलान गरेको केही दिनमै गृह मन्त्रालयले एमसीसीको विरोध गर्नेहरूमाथि सूक्ष्म निगरानी राखिएको भनेर देशभक्त तथा क्रान्तिकारी नेपालीलाई धम्क्याएको छ भने राष्ट्रियताका पक्षमा बोल्ने देशभक्त र क्रान्तिकारीहरूको आवाज बन्द गर्न चेतावनी दिएपछि देशभक्त जनताको स्वाभिमान झनै चुलिएको छ र आवेग र आक्रोशको मात्रा बढेको छ । यो मात्रा यही स्तरमा बढिरहने हो भने भोलि राष्ट्रघाती एमसीसी परियोजना पारित गर्ने र नेपाललाई साम्राज्यवादी सैन्य अखडा बनाउने निर्णयमा ल्याप्चे लगाउने कथित जनप्रतिनिधिहरूमाथि जनआक्रोश बढेर जनकारबाहीको स्तरमा पुग्ने देखिएको छ । तर मातृघातीहरू निरन्तर एमसीसीका पक्षमा बोलिरहेछन् र हिजो महाकालीमा गरिएको राष्ट्रघातभन्दा अझ ठूलो राष्ट्रघात गरेर मातृभूमिलाई साम्राज्यवादी सैन्य क्रीडास्थल र युद्धभूमि बनाउने षड्यन्त्र सफल पार्ने दाउमा लागिरहेका छन् । यो घोर निन्दनीय कदम हो । यसका विरुद्ध नेपाली जनता निरन्तर सचेततापूर्वक लड्नु आवश्यक छ ।

यही भदौ १८ गते गृह मन्त्रालयले साम्राज्यवादी अमेरिकी परियोजना एमसीसीतिर लक्षित गर्दै एउटा वक्तव्य जारी गर्यो र भन्यो– विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर, मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिनेछ र यस्ता गतिविधि गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ । यता गृह मन्त्रालयले देशभक्त नेपालीहरूको अवाज बन्द गर्ने गरी यसप्रकारको वक्तव्य जारी गर्नु, अर्कातिर प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने उद्देश्यले भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नु र यही सेरोफेरोमा एमसीसी उपाध्यक्षलाई नेपालमा मन्त्रणा गरिनुले देउवा सरकार किन बनाइएको रहेछ भन्ने रहस्योद्घाटन पनि हुँदै गएको छ । यद्यपि पूर्ववर्ती केपी वली सरकार पनि एमसीसी पारित गर्ने तयारीमा थियो । देशभक्त नेपालीको सचेत आन्दोलन र निरन्तर खबरदारीका कारण मात्र उक्त देशघाती परियोजना संसद्‌बाट पारित हुन सकेको थिएन । देउवा र वलीको मिलोमतोबाटै पहिले पनि संसद्‌बाट राष्ट्रघाती महाकाली सन्धि पारित गरिएको कालो इतिहास ताजै छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्‌बाट पारित गर्ने कोसिस गर्दैछ भत्रे आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको र यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्‌बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुने धारणा सार्वजनिक गरेका छन् । उनले उक्त सहमति संसद्‌बाटै पारित हुने वा कुनै पनि बहानामा कार्यान्वयन हुने अवस्थामा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने, नेपालका प्राकृतिक सम्पदाहरूमाथि विदेशी प्रभुत्व लादिने, क्षेत्रीय सन्तुलनमा अस्थिरता र गडबडी ल्याउने, नेपाली जनताले राष्ट्रियताको भीषण युद्धको अनावश्यक दुष्चक्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देशलाई अफगानिस्तान बनाउने अवस्था उत्पन्न गर्ने पनि बताएका छन् । नेकपाले नेपाल सरकार तथा सरोकारवालाहरूलाई संयुक्त राज्य अमेरिकासँगको यो सहमति तत्काल खारेज गर्न, एमसीसी तथा यससँग सम्बद्ध एमसीएलगायत कार्यालयहरू पूर्ण रूपले बन्द गर्न, यससँग सम्बन्धित सबै कर्मचारीहरूलाई अन्य विभागीय कामहरूमा व्यवस्थापन गर्न र यसबारे भएका सबै कार्यक्रमहरू तत्काल बन्द गर्नका लागि नेपाल सरकार र सम्बन्धित सबैलाई आह्वान पनि गरेको छ । त्यसैगरी नेकपाको केन्द्रीय जनसत्ता केन्द्रीय जनपरिषद् नेपाललेप्रधानमन्त्री देउवाको अभिव्यक्ति, गृह मन्त्रालयको वक्तव्य, एमसीसी परियोजना उपाध्यक्षको नेपाल आगमनको तयारी सबै विषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनपरिषद्का प्रमुख विषमले भनेका छन्, ‘सरकारको यो अभिव्यक्ति कुनै पनि लोकतान्त्रिक/राज्य–सरकारका लागि लोकतान्त्रिक मूल्य– मान्यताभन्दा बाहिर भएको, देशका नागरिकहरूलाई सूचनाको हकबाट वञ्चित गर्न खोजेको, एमसीसीजस्ता राष्ट्रघाती परियोजना पास गर्न यसको विपक्षमा उठेका मतहरूमाथि प्रतिबन्ध र दमन गर्न खोजेको, देशलाई फेरि द्वन्द्व र अशान्तितिर धकेल्न खोजेको, सिङ्गो देशका नागरिकले एमसीसी देश र जनताको हितमा नभएको ठहर गरी विरोध गरिरहेको र पूर्ण खारेजीको माग गरिरहेको सन्दर्भमा यी सबै नेपाली जनताको भावना र मागलाई लत्याएर हतारमा संसद्वाट पास गर्न खोजेकोमा केन्द्रीय जनपरिषद् नेपाल आपत्ति प्रकट गर्दछ र सरकारको यो अभिव्यक्ति जनताको मागलाई ध्यान दिँदै तुरुन्त फिर्ता लिन अनुरोध गर्दछ ।’

केन्द्रीय जनपरिषद् नेपाल नेपालको दलाल पुँजीवादी सत्ताको विकल्पमा स्थापित र क्रियाशील जनसत्ता हो । देशका शासकहरू नै राष्ट्रघाती भएमा जनताले आफ्नो सत्ता निर्माण गरी देश र जनताको रक्षा गर्नुपर्छ । स्वतन्त्र मुलुक सिक्किममा लेन्डुप दोर्जेको दलालीका विरुद्ध जनसत्ता हुन्थ्यो भने सिक्किमले भारतीय साम्राज्यवादमा विलय हुनुपर्ने थिएन । नेपालमा विगतदेखि नै जनताले राष्ट्रियताको रक्षाका लागि निरन्तर देशभक्तिपूर्ण आन्दोलन गर्दै, अरिलाई परास्त गर्दै र स्वाधीनता जोगाउँदै आएको गौरवशाली इतिहास छ । दलाल पुँजीवादका विरुद्ध एकीकृत जनक्रान्ति सफल हुने र वैज्ञानिक समाजवाद स्थापना हुने एक महत्वपूर्ण आधारका रूपमा देशभक्त जनमतलाई लिइएको छ । नेकपाको जनसत्ताले भनेको छ, ‘हामी वर्तमान सरकार र प्रधानमन्त्री तथा जनताको मतबाट निर्वाचित माननीय सांसदज्यूहरूसँग यो राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पास नगर्न, जनताको आकाङ्क्षा एवम् स्वतन्त्र, स्वाभिमान छातीमा संसद् भवनबाट एमसीसीमा सही गरेर छुरी नहान्न र आत्मघाती कार्य नगर्न विनम्र अनुरोध गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने भाबी समस्याको भागीदार आफैँ हुनु पर्नेछ । यो एउटा सच्चा नागरिकको हित चाहने संस्थाको हैसियतले हामी सरकार, सांसद, ब्युरोक्रेसी, नागरिक समाज र यससँग सरोकार राख्ने आम सचेत नेपाली जनतालाई सचेत गराउन चाहन्छौँ ।’

नेकपाको यो हार्दिक आह्वान हो । यो जनताका लागि पूर्वसचेतना र पूर्वतयारीका लागि आह्वान हो भने राष्ट्रघातीहरूका लागि गम्भीर चेतावनी पनि हो । देशभक्त नेपाली जनताको मत लिएर संसद्‌मा पुग्ने र एमसीसीजस्तो राष्ट्रघाती सहमतिमा ल्याप्चे लगाएर नेपाललाई अफगानिस्तान, इरान, इराक, सिरिया, लिबिया अर्थात् साम्राज्यवादी युद्धभूमि बनाउने षड्यन्त्र भएमा नेपाली जनताले राष्ट्रघाती लेन्डुपहरूको शिरलाई भकुन्डो बनाउनेछैनन् र त्यो आवश्यक हुनेछैन भनेर कसले किन भन्न सक्छ र ? तसर्थ राष्ट्रघाती एमसीसी परियोजना पारित गर्नुअघि नेपाली नागरिक्ता लिएका, नेपाली पोसाक लगाएका र नेपाली जनताको मत लिएर कथित जनप्रतिनिधि कहलिएका व्यक्तिहरूलाई हामी पनि विनम्र अनुरोध र आग्रह गर्न चाहन्छौँ– नेपाल र नेपालीमाथि राष्ट्रघात नगर । तिम्रा लागि यो धेरै महँगो साबित हुनेछ । साम्राज्यवादी दादागिरी मुर्दावाद ! साम्राज्यवादी पक्षधरता मुर्दावाद ’ एमसीसी मुर्दावाद ! नेपाली राष्ट्रियता र जनक्रान्ति जिन्दावाद ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :