बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बेरुजु रकम र भ्रष्टाचारविरुद्ध युवा संगठन रुपन्देहीद्वारा प्रदर्शन

बुटवलः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपाल, रुपन्देहीले स्थानीय निकायहरूमा भएको बेरुजु रकम र भ्रष्टाचारका विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार बुटवल उपमहानगर नगर कार्यपालिकाको कार्यालय अगाडि उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले तत्काल बेरुजु रकमको सत्यतथ्य सार्वजनिक नगरे भ्रष्टाचारीहरूलाई सडक आन्दोलनबाट घुँडा टेकाएरै छोड्ने चेतावनी दिए । उनले जनताको श्रम र पसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम सत्तापक्षका दलालहरूले भ्रष्टाचार गरेको अहिलेको बेरुजु रकमले पनि पुष्टि गरेको बताए । संसदवादी दलका नाइकेहरूले जनताबाट उठाएको करले होटलमा मोजमस्ती गरिरहेको र यसको विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा सङ्घर्ष गरिरहेको बताए ।

युवा संगठन नेपाल, रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले तत्काल बेरुजु रकम असुल नगरे भ्रष्ट जनप्रतिनिधलाई कालोमोसो दलेर कारबाही गर्ने चेतावनी दिए । उनले देश र जनताको पक्षमा आवाज उठाउँदा आफूहरू बरु बलिदान गर्न तयार रहेको तर भ्रष्ट, दलाल, कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बेरुजु रकम तत्काल असुल गर, भ्रष्टचारीलाई कारबाही गर, कालोबजारी नियन्त्रण गर, युवा संगठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, प्रगतिशील संयुक्त सरकार निर्माण गर, जनमत सङ्ग्रह घोषणा गर लगायतका नारहरू लगाइएको थियो ।
नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, युवा, बुद्धिजीवी, व्यापार, व्यवसायी, सुरक्षाकर्मी, पत्रकार लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन युवा संगठन नेपाल, रुपन्देहीका जिल्ला उपाध्यक्ष भक्त थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :