युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल, चितवनद्वारा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

चितवनः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, चितवनद्वारा चितवनका स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु रकम देखिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिवेदनमा चितवनका स्थानिय निकायमा अत्याधिक अनियमितता र बेरुजु रकम देखिएको भन्दै भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन सम्पन्न गरेको हो । यसरी कुनै स्रोत बिनै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको भन्दै युवा संगठन नेपाल, चितवनले देशब्यापी कार्यक्रम अन्तर्गत चितवनमा पनि विरोध प्रदर्शन गरेको जनाएको छ ।

विरोध कार्यक्रममा सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य राम सेढाईले चितवनका विभिन्न सरकारी निकाय र स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु निस्किएको बताउँदै राज्यले जनताले तिरेको करको उचित परिचालन नगरी भ्रष्टाचार र अनियमिततामै केन्द्रित रहेका कारण बेरुजु निस्किएको बताए ।

उनले विरोध प्रदर्शमा बोल्दै चितवनको एक मात्र महानगरपालिका भरतपुर महानगरपालिका मात्रै १० करोड ४२ लाख ४२ हजार भन्दा बढि बेरुजु देखिएको बताए । त्यसैगरी माडी नगरपालिकामा ३ करोड ३२ लाख ४० हजार, राप्ती नगरपालिका १ करोड ३९ लाख ५ हजार, खैरहनी नगरपालिका २ करोड ८१ लाख ५३ हजार , रत्ननगर नगरपालिकामा ३ करोड ८५ लाख ८९ हजार, कालिका नगरपालिकामा १ करोड ६ लाख १४ हजार र इच्छाकामना गाउँपालिकामा ३ करोड ४४ लाख ९८ हजार बेरुजु देखिएको बताएका छ्न् ।

साथै नेता सेढाईले तत्काल बेरुजु रकमको सत्यतथ्य सार्वजनिक नगरे भ्रष्टाचारीहरूलाई सडक आन्दोलनबाट घुँडा टेकाएरै छोड्ने चेतावनी दिए । उनले जनताको श्रम र पसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम सत्तापक्षका दलालहरूले भ्रष्टाचार गरेको अहिलेको बेरुजु रकमले पनि पुष्टि गरेको बताए । संसदवादी दलका नाइकेहरूले जनताबाट उठाएको करले होटलमा मोजमस्ती गरिरहेको र यसको विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा सङ्घर्ष गरिरहेको बताए । देश र जनताको पक्षमा आवाज उठाउँदा आफूहरू बरु बलिदान गर्न तयार रहेको तर भ्रष्ट, दलाल, कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बेरुजु रकम तत्काल असुल गर, भ्रष्टचारीलाई कारबाही गर, कालोबजारी नियन्त्रण गर, युवा संगठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, प्रगतिशील संयुक्त सरकार निर्माण गर, जनमत सङ्ग्रह घोषणा गर लगायतका नाराहरू लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :