नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

झापा : झापामा सङ्गठन विस्तारलाई तिव्रता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीले झापाको भद्रपुर नगरभेला भव्य रूपमा सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगरभेलामा पार्टीका जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय राई लगायतको आतिथ्यता रहेको थियोे । भद्रपुर नगर इन्चार्ज अनुकुलको अध्यक्षतामा सम्पन्न उक्त नगर भेलाले कमल सहनीको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लिम्बुले दलाल संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताउँदै वैज्ञानिक समाजवादी व्यवस्था नै अबको विकल्प रहेको उल्लेख गरे । लिम्बुले देशलाई समृद्ध र स्वाधीन बनाउन, सर्वहारा, श्रमजीवी र उत्पीडित वर्गको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी बाहेक अरू कुनैले गर्न नसक्ने बताउँदै वैज्ञानिक समाजवाद प्राप्तिका लागि जनसङ्घर्ष गर्न तयारी अवस्थामा रहन आग्रह गरेका थिए । उनले अब जनताले नेता छान्ने नभएर व्यवस्था छान्ने मौका पाउनुपर्ने भन्दै जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादी व्यवस्थाले नै देश र जनताको भविष्य निर्धारण गर्ने बताए ।

त्यस्तै कार्यक्रममा मन्तव्य राख्ने क्रममा जिल्ला सचिव प्रशान्तले अब युवाहरू नेताका गुलाम भएर होइन, देश र जनताको हक अधिकार सुनिश्चितता गर्नका लागि सङ्घर्षमा उत्रनु पर्ने बताए । अहिलेको राज्य व्यवस्था असफल भएको बताउँदै उनले अबको एकमात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था रहेकाले लक्ष्य प्राप्तिका लागि युवाहरूको विषेश भूमिका हुनुपर्ने उल्लेख गरे ।

नवगठित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै कार्यालय सचिव सञ्जयले अब यो समितिले भद्रपुर नगरपालिकाका जनताहरूको पक्ष र हितमा काम गर्ने, साथै यहाँ समाजिक बिकृति बिसङ्गतिको विरुद्धमा जनता सहितको जनसङ्घर्ष गर्नुपर्ने उल्लेख गरे । पार्टीले यसअघि मेचीनगर र शिवसताक्षी नगरको भेला सम्पन्न गरिसकेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :