जनमतसङ्ग्रहका लागि तयार हुन महासचिव विप्लवको आह्वान

‘व्यवस्था परिवर्तनका विषयमा खुला बहस गरौँ’

जनमतसङ्ग्रहका लागि तयार हुन महासचिव विप्लवको आह्वान

काठमाडौँ : संसद्‌वादी दलहरू सत्ताका लागि एकापसमा मारामार–लुछाचुँडी गरिरहेको, कुर्सीका लागि पार्टी फुटाइरहेको, सांसद किनबेच–अपहरण गरिरहेको र आफ्नो पार्टीको सरकार ढाली अर्को पार्टीको नेतृत्वमा सरकार बनाएर मन्त्रीसमेत तोक्न नसकिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भने दलाल पुँजीवादी संसद्‌वादी व्यवस्था असफल भइसकेकाले वैज्ञानिक समाजवाद र दलाल संसदीय व्यवस्था कुन रोज्ने भन्ने विषयमा जनमतसङ्ग्रहका लागि तयार रहन जनतालाई आह्वान गरेका छन् । उनले व्यवस्था रोज्ने विषयमा खुला छलफल गर्नुपर्ने र त्यसका लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, कर्मचारी, शिक्षक, व्यवसायीलगायत आमजनसमुदायलाई आह्वान गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले नेपालका सबै राजनीतिक दलले आफ्नो अन्तिम लक्ष्य समाजवाद भने पनि समाजवाद प्राप्तिका लागि बहस र छलफल गर्नसमेत तयार नभएको भन्दै जनताको आँखामा छारो हाल्ने र भ्रम उत्पन्न गर्ने काम बन्द गर्न आग्रह गरे । उनले संसदीय व्यवस्थाको उच्चतम् विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमतसङ्ग्रहका लागि तयार रहन अपिल गरे ।

महासचिव विप्लवले संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको निष्कर्ष प्रस्तुत गरे । आफूहरू असफल दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्ति सञ्चालन गरिरहेकाले यो व्यवस्थामा जाने कल्पना पनि गर्न नसकिने र वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर बहस र सङ्घर्ष गरिरहने बताए । उनले भने, ‘संसदीय व्यवस्था दलाल पुँजीवादीहरूको व्यवस्था हो । नेपाल ४० वर्षदेखि चले पनि यो पूर्ण रूपमा असफल भइसकेको छ । यही व्यवस्थाका कारण आज जनताले दुःख पाइरहेका छन् । देशमा वैदेशिक हस्तक्षेप बढेको छ । दिनदहाडै राष्ट्रिय स्वाधीनता र अस्मिता लुटिएको छ । महँगी–भ्रष्टाचारमा व्यापक वृद्धि भएको छ । देशले गरिबी भोग्नु परिरहेको छ । नेपाली युवकयुवती खाडीमा बेचिनु परेको छ । त्यसैले हामी यो असफल दलाल संसदीय व्यवस्थामा जाँदैनौँ र यो व्यवस्था परिवर्तन गरी जस्तोसुकै मूल्य चुकाएर भए पनि जनताले, सहिद परिवारहरूले खोजेको जस्तो वैज्ञानिक समाजवाद ल्याउनेछौँ । वैज्ञानिक समाजवाद ल्याउनका लागि दलाल संसदीय व्यवस्था बदल्नुपर्छ । यसका लागि सबै एकजुट भएर लागौँ ।’

महासचिव विप्लवले आफूहरूले शान्तिपूर्ण बाटोबाट नै वैज्ञानिक समाजवाद ल्याउन खोजेको र त्यसका लागि जनमतसङ्ग्रहको प्रस्ताव ल्याएको तर यस विषयमा छलफल गर्न कुनै राजनीतिक दलहरू तयार नभएको पनि बताए । उनले भने, ‘हामीले शान्तिपूर्ण बाटोबाट यो दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ल्याउन चौतर्फी बहस चलायौँ । वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच जनमतसङ्ग्रहको प्रस्ताव ल्यायौँ तर जनताको आँखामा छारो हाल्ने किसिमले बाहिर समाजवाद/ समाजवाद भन्ने अनि संसदीय व्यवस्थालाई नै उत्कृष्ट व्यवस्था मान्नेहरू बहसमा भाग लिन तयार भएनन् ।’

उनले संसदीय व्यवस्थामा नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनीतिक निकास दिनुको उल्टो देश झन् राजनीतिक अस्थिरतामा फस्नुका साथै विस्तारवाद र साम्राज्यवादको क्रीडास्थल बन्न पुगेको बताए । अब नेता र पार्टी चुन्ने चुनाव नभई व्यवस्था छान्ने जनमतसङ्ग्रह हुनुपर्ने र जनताले आफूले खोजेको जस्तो व्यवस्था आफैँ छान्न पाउनुपर्ने महासचिव विप्लवको भनाइ थियो ।

कार्यक्रममा सम्बोधनका क्रममा महासचिव विप्लवले केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताएका छ्न् । उनले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको एनसेललाई कारबाही गर्दा, नेपाली युवकयुवतीलाई विदेशमा पुर्याएर अलपत्र पार्ने, चेली बेचविखन गर्ने मानवतस्करलाई कारबाही गर्दा, ललिता निवासको सरकारी जमिन बेचबिखन गर्नेलाई कारबाही गर्दा र भ्रष्टाचारीलाई जनताको चाहनाअनुसार जनकारबाही गर्दा प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएको पनि प्रस्ट पारे । उनले क्रान्तिमा लागेर नेता–कार्यकर्ता मारिनसक्ने, गिरफ्तार पर्नसक्ने तर क्रान्ति र विचार कहिल्यै पनि नसकिने, नमर्ने पनि बताए । उनले भने, ‘सरकारले हामीलाई प्रतिबन्ध लगाएर १/२ महिनामा सक्छौँ भन्ने घमण्ड देखायो । क्रान्तिमा लागेका नेता–कार्यकर्ता मारिन तयार भए, गिरफ्तार भए तर क्रान्ति र विचार कहिल्यै कसैले मार्न सकेनन्, सक्दैनन् ।’

आफ्नो पार्टीका सवा सय नेता–कार्यकर्ता अझै पनि जेल र हिरासतमा रहेको भन्दै महासचिव विप्लवले उनीहरूलाई तत्काल रिहा गरी भएको तीनबुँदे सहमति कार्यान्वयनमा इमानदारी देखाउन सरकारसँग आग्रह गरे । वार्ताका विषयमा बाहिर छरिएका भ्रमहरूमा विश्वास नगर्न सम्पूर्ण नेता–कार्यकर्ता र शुभचिन्तकहरूमा आग्रह गर्दै महासचिव विप्लवले पार्टी र सरकारबीच भएको तीनबुँदे सहमतिबारे प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :