पैसावाल मन्त्रालयमा भागबन्डा नमिलेपछि सत्तारूढ नेताबीच खटपट

पैसावाल मन्त्रालयमा भागबन्डा नमिलेपछि सत्तारूढ नेताबीच खटपट

काठमाडौँ : सरकारमा एकलौटी गरेको भन्दै करिब दुईतिहाइको केपी वलीको बहुमतीय सरकार ढालेर नेपाली काङ्ग्रेसलाई सरकार बुझाएका पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवबीच फेरि पैसावाल मन्त्रालयका लागि भागबन्डा नमिल्दा भनाभन र वैमनस्य बढेका समाचारहरू सार्वजनिक भएका छन् ।

एक महिनादेखि मन्त्रिमण्डल विस्तार गर्न सकस परिरहेको कारण अरू नै देखाइए पनि मङ्गलबार बालुवाटारमा भएको बैठकमा माधव नेपालको पैसावाल मन्त्रालयको प्रस्तावलाई उपेन्द्र यादवले अस्वीकार गरेपछि संसद्वादी दलहरूको बाहिर देखाउने कुरा जे भए पनि अन्तर्य भने सत्ता लुछाचुँडी नै हो भन्ने थप प्रमाणित भएको छ । अर्को संसद्‌वादी समूह माओवादी केन्द्रभित्र पनि मन्त्रीका लागि गुट–उपगुटहरुबीच रस्साकस्सी मच्चिएका खबरहरू सार्वजनिक भएका छन् ।

सार्वजनिक भएको समाचारअनुसार मन्त्रिमण्डल विस्तारका लागि सत्ता गठबन्धन संसद्वादी समूहहरुको मङ्गलबार बसेको बैठकमा माधव नेपालले हालै एमाले फुटाएर बनाएको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी र यादवले जसपा फुटाएर बनाएको पार्टी जनता समाजवादी पार्टीबीच बढी आर्थिक चलखेल हुने ‘मालदार’ मन्त्रालयका विषयमा कुरा नमिल्दा कटुता बढेको हो ।

स्रोतहरूका अनुसार माधव नेपालले आफ्नो पार्टीका कार्यकर्ताका लागि भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरिरहेका छन् भने यादवले पनि तिनै मन्त्रालयमा आँखा गाडिरहेका छन् । बैठकमा यादवले नेपाललाई भनेका थिए– शक्ति सन्तुलनको हिसाबले तपाईंले दुवै मन्त्रालय माग गर्न मिल्दैन ।

स्रोतका अनुसार नेपालले भने सरकारकै लागि पार्टी फुटाएर आएको अवस्थामा आफूले भनेको मन्त्रलय दिनुपर्ने जिद्दी गरिरहेका छन् ।

ओलीलाई विस्थापित गराउनासाथ काङ्ग्रेसले गृह र कानुन तथा माओवादी केन्द्रले अर्थ, ऊर्जा तथा जलस्रोत मन्त्रालय कब्जा गरिसकेका छन् । यी पनि बढी पैसावाल मन्त्रालय मानिन्छन् । सरकारमा गएका पार्टीहरूमध्ये काङ्ग्रेसले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने र माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने गरी भागबन्डा भएको छ । नेपाल र यादवका बीच देखिने गरी मनोमालिन्य बढेको भए पनि दाहाल समूहभित्र मन्त्री विवाद भुसको आगोजस्तै बनेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :