वैज्ञानिक समाजवाद एक मात्र विकल्प

वैज्ञानिक समाजवाद एक मात्र विकल्प

कुनै पनि जीव र पशुपन्छीले जस्तोसुकै वातावरणमा पनि आफ्नो स्वभाव जनाइहाल्छन् । उदाहरणका लागि घरमा पालेको होस् वा छाडा छोडिएको होस्, प्रायः कुकुरले देखाउने स्वभाव, प्रतिक्रिया र गतिविधि उस्तै देखिन्छन् । नेपालका दलाल संसद्‌वादका पक्षधर संसद्‌वादी पार्टी वा समूहहरू संविधानमा समाजवाद उन्मुख लेखिएकाले हामी पनि समाजवादी नै हौँ भन्दै कार्ल माक्र्सभन्दा अघि बढेर समाजवादको वकालत गरौँलाझैँ गर्छन् तर तिनका आनीबानी, स्वभाव, क्रियाकलाप र गतिविधि हेर्दा ती सुध्रिने स्तरका देखिँदैनन् । यतिबेला उनीहरूले एकअर्कालाई गरेको सम्बोधन, सरकार निर्माण, परिवर्तन, पार्टी विभाजन, सांसद किनबेच, लुकामारी/अपहरण र लुछाचुँडी हेर्दा पचासको दशकदेखियताका कुनै पनि संसद्‌वादी हर्कत तलमाथि देखिँदैनन् । त्यसैले उनीहरुले संविधानमा जे लेखे/लेखाएको भए पनि त्यो देश र जनतालाई ठग्ने मेलो मात्र हो । त्यसैले यतिबेला वैज्ञानिक समाजवाद मुलुकको एक मात्र विकल्प बनेको छ । नेकपाका महासचिव विप्लवले केही दिनअघि सहिद परिवारहरूसँगको भेटघाट र अन्तरक्रिया कार्यक्रममा पनि वैज्ञनिक समाजवादका लागि जनमतसङ्ग्रहमा जन तयार रहन आह्वान गरेबाट अब वैज्ञानिक समाजवादलाई संसद्‌वादी, पुँजीवादी वा साम्राज्यवादी कुनै पनि षड्यन्त्रले रोक्नसक्ने देखिँदैन ।

यतिबेला दलाल पुँजीवादले संसारलाई नै थिचिरहेको छ, गाँजिरहेको छ र उकुसमुकस पारिरहेको छ । संसारभरका श्रमजीवी जनताले शोषणकारी पुँजीवादबाट मुक्ति चाहेका छन् । यसका लागि संसारभरकै न्यायप्रेमी जनता वर्गसङ्घर्षमा सामेल छन् । संसारले विभेदकारी पुँजीवादबाट निकासका लागि वैज्ञानिक समाजवादको मार्ग खोजेको छ । नेपालमा नेकपाले दलाल पुँजीवादको अन्त्य गरी त्यसको एक मात्र र निर्विकल्प विकल्पका रूपमा वैज्ञानिक समाजवादलाई अघि सारेको छ र जनमत पनि क्रमशः त्यतैतिर लम्किरहेको छ । नेपालमा एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् यात्राको नेतृत्व गरिरहेका नेकपाका महासचिव विप्लवले वैज्ञानिक समाजवादका विशेषताहरूका बारेमा विस्तृत व्याख्या गरेका छन् । उनी भन्छन्– वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था हो किनकि वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद– साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका यी विशेषताहरू पुँजीवादी विशेषताभन्दा अतुलनीय रूपले उन्नत, सभ्य एवम् जनहितकारी छन् ।

राज्यव्यवस्था जनहितकारी हुनुहुनुपर्छ । यसरी हेर्दा वैज्ञानिक समाजवाद उत्कृष्ठ विशेषताहरू भएको राज्यव्यवस्था हो र पुँजीवाद असफल भइसकेको अवस्थामा यो नै एक मात्र र निर्विल्प जनहितकारी व्यवस्था हो भन्नेमा कुनै शङ्का छैन । संसारमा बल प्रयोग नगरी एउटा वर्गले अर्को वर्गको सत्ता पल्टाएको इतिहास छैन तर क्षति कम हुने गरी परिणाम निकाल्नुपर्छ । आफ्नो हितका लागि हुने क्रान्तिमा सङ्घर्षका जुनसुकै स्वरूपहरू प्रयोग गर्दा पनि जनताले यसलाई पूर्ण साथ दिनेमा कुनै विमति रहँदैन किनकि नेपाली जनतासँग वर्गसङ्घर्षको लामो अनुभव छ ।

वैज्ञानिक समाजवाद शोषण, विभेद र असमानताबाट मुक्त व्यवस्था हो । वैज्ञानिक समाजवादले नै आमउत्पीडित, श्रमिक, न्यायप्रेमी मानिसलाई स्वाभिमानपूर्वक बाँच्ने वातावरण निर्माण गरिदिन्छ । पछिल्लो समयमा नेपालमा वैज्ञानिक समाजवादका प्रस्तोता एवम् व्याख्याता नेकपाका महासचिव विप्लवका अनुसार– वैज्ञानिक समाजवादको प्रमुख विशेषता यसले दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र यसको अधिनायकत्व समाप्त पारिदिन्छ । साथै सत्तालाई दलाल पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पुर्याइदिन्छ । महासचिव विप्लवले भनेका छन्– वैज्ञानिक समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य गर्नेछ । जनताले विचार, नीति, योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धा गर्नेछन् । पैसाको बलमा चुनावी प्रतिस्पर्धाको स्थान समाप्त हुनेछ । देशको राज्यव्यवस्था सञ्चालनमा भूमण्डलीकृत पुँजीवादको हस्तक्षेप अन्त्य गरिने र सामाजिक रूपान्तरणको नेपाली जनताको चाहनालाई अवरोध पुर्याउने गरी हुने कुनै पनि प्रकारका घुसपैठ, चलखेल, प्र्रलोभन, आर्थिक लेनदेनलाई पूर्ण रूपले बन्द गर्ने भएकाले यो व्यवस्थामा न कुनै पनि पुँजीवादले श्रमिकमाथि विभेद गर्ने खतरा रहन्छ न त मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तामाथि वैदेशिक हस्तक्षेपको खतरा रहन्छ ।

समाजवादी व्यवस्थाकै केन्द्रमा रहने समाजवादी जनप्रतिनिधिसभाले देशको कानुन निर्माण एवम् कानुनअनुरूप कार्यकारी निकाय सञ्चालित भएनभएको अनुगमन गर्ने विशेषता महासचिव विप्लवले प्रस्तुत गरेका छन् । त्यस्तै समाजवादी जनप्रतिनिधिहरू जनताको मतद्वारा निर्वाचित हुने, सभामा श्रमिक जनता किसान, मजदुर, दलित, महिला, जनजाति, बुद्धिजीवी, सेना, युवाको समानुपातिक प्रतिनिधित्व हुने र पुँजीको बलमा केवल अभिजात वर्ग वा उसले रुचाएका प्रतिनिधि मात्र निर्वाचित हुने संसदीय ढाँचाको अन्त्य गरिदिने भएकाले कुनै पनि दलाल पुँजीले शासन गर्ने दिन समाप्त हुने पनि महासचिव विप्लवले प्रस्ताव गरेको वैज्ञानिक समाजवादको विशेषतामा उल्लेख छ ।

महासचिव विप्लवले प्रस्ताव गरेको वैज्ञानिक समाजवादभित्र आर्थिक प्रणालीको नेतृत्व राज्यले गर्नेछ । यसो गर्दा योजनाबद्ध आर्थिक कार्यमा हरनागरिक सहभागी बन्नेछ । राज्यभित्रका हरेक संस्था, निकाय र कम्पनीहरू पूर्ण रूपले सक्रिय हुनेछन् । त्यसैगरी वैज्ञानिक समाजवादका सामाजिक विशेषताका रूपमा बिरामी र असक्त नागरिकका लागि सुरक्षा भत्ताको व्यवस्था गरिने, पारिवारिक समस्या एवम् सामाजिक स्रोतको अभावले गर्दा सामान्य जीवनयापन, स्वास्थ्यजस्ता समस्यामा परेका बिरामी, असक्त नागरिकलाई राज्यले सेवा–सुविधा उपलब्ध गराउने, सामन्ती व्यवस्थामा लादिएको अमानवीय जात व्यवस्थालाई उत्मूलन गरिने, राज्यको नेतृत्वमा नयाँ एवम् समान मानव जातिको निर्माण गरिने, समाजमा सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वास, बोक्सी, धामीझाँक्री प्रथालाई राज्यले उन्मूलन गर्नेछ । हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चालिनेछ, शिक्षा, स्वास्थ्य, यातायात, सूचनाजस्ता विषयलाई राज्यले आफ्नो स्वामित्वमा लिनेछ । यी क्षेत्रका विभेद, असमानतालाई अन्त्य गर्ने, शिक्षा, स्वास्थ्यलाई व्यापारीकरणबाट मुक्त गरिने, सांस्कृतिक रूपमा वैज्ञानिक समाजवादले वैज्ञानिक जनसंस्कृतिको सिर्जना, विकास, संरक्षण गर्ने, मुलुकको ऐतिहासिक विकासक्रममा जनताले निर्माण र विकास गरेका जनसंस्कृतिहरूको संरक्षण एवम् संवद्र्धन गर्ने, राज्यले समाजलाई कुप्रभाव पार्ने अन्धविश्वास, शोषण, विभेद, छाडा, अश्लील, वेश्यावृत्ति, जुवातास, लागूपदार्थ बेचबिखन, प्रयोग र चोरीडकैतीलाई रोक्ने, हरेक नागरिकले समय र श्रमलाई अधिकतम् सदुपयोग गर्ने संस्कारको विकास गर्ने, दुःखी, बिरामी, अशक्त, बूढापाका, पछि परेका नागरिकलाई मानवीय भावना राखेर सेवा गर्ने संस्कार निर्माण गर्ने, ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास गर्ने, आफ्ना जनताको इतिहास, गौरव, पौरख, संस्कृतिको संरक्षण र विकास गर्ने गरी कार्यक्रमहरू विकास गर्ने, विदेशीको चाकरी गर्ने, मागेर–हात पसारेर खाने पराश्रित आदत, संस्कारको अन्त्य गर्ने लक्ष्य पनि वैज्ञानिक समाजवादले लिएको छ । यसर्थ दलाल पुँजीवादलाई बलपूर्वक वा जनमतद्वारा विस्थापित गरी वैज्ञानिक समाजवाद लागू गर्नु अपरिहार्य बनेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :