वर्गका लागि अविस्मरणीय बलिदान

निजी स्वार्थ त्यागेर सर्वहारा/श्रमिक वर्गका लागि जीवन बलिदान गर्ने महान् योद्धाहरू प्रातःस्मरणीय छन्, अभिनन्दनीय छन् । उनीहरूको जीवनगाथा जति लेखे पनि, जति पढे पनि कमै हुन्छ । क्रान्तिकारी आदर्शले स्नातक नभएसम्म कसैले पनि सामूहिक स्वार्थका लागि बलिदान गर्न सक्तैन वा गर्दैन । त्यसैले क्रान्तिकारी उद्देश्यका अघिल्तिर आफ्नो जीवनलाई तृणबराबर नठानी प्राणोत्सर्ग गर्ने कमरेड रामवृक्ष यादव ‘मास्टरसाहेब’ को २८ औँ स्मृति दिवसका सन्दर्भमा सम्पूर्ण महान् सहिदहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र महान् सहिदहरूले रोजेको, अपनाएको र अवलम्बन गरेको बाटोमा निरन्तर लामबद्ध बन्नेछौँ/बन्नुपर्छ भन्ने प्रण गर्दछौँ ।

सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसमा नेकपाका महासचिव विप्लवले यादवप्रति गरेको संश्लेषण महान् सहिदहरूप्रतिको उच्च सम्मान हो । महासचिव विप्लवले ‘यादव सादा जीवन र उच्च विचार’ को जीवन्त नमुना, आफ्नो सम्पूर्ण परिवारलाई पार्टी, क्रान्ति र बलिदानका लागि अभिप्रेरित गर्नुहुने, सिङ्गो नेपाली समाज, कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीका निम्ति ऊर्जाशील प्रेरणा स्रोत’ रहेको संश्लेषण गरेका छन् । यादवलगायत महान् सहिदहरूले देखेको सपना नेपालबाट सामन्ती तथा दलाल पुँजीवादी सत्ताको अन्त्य, नेपाली श्रमिक जनताको मुक्ति, राष्ट्रिय स्वाधीनताको स्थापना, नयाँ जनवाद–वैज्ञानिक समाजवादको स्थापना अझै अधुरै रहेको र उक्त लक्ष्य पूरा गर्न आफ्नो पार्टी निरन्तर सङ्घर्षमा डटिरहेको अवस्थामा देशको राजनीतिक समस्याको समाधानका निम्ति दलाल पुँजीवादी सत्ताको अन्त्य जनमत अर्थात् जनमतसङ्ग्रहबाट फैसला होस् भन्ने प्रस्ताव गरेको र सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादीहरू एकताबद्ध भएर देशको रूपान्तरणका लागि अघि बढ्नुपर्ने महासचिव विप्लवको अपिल छ ।

महान् दार्शनिक एवम् सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सले एक सन्दर्भमा भन्नुभएको छ, आफ्नो वर्ग (सर्वहारा वर्ग) को मुक्तिका लागि आवश्यकताअनुसार इतिहासका चिहानहरू पनि खोतल्नुपर्छ । हो, यतिबेला त्यस्तै आवश्यकता परेको छ । दलालहरूले आफ्नो जीवनरक्षाका लागि फोहोरमा फालेको क्रान्तिको रक्तरञ्जित झन्डा धुलोबाट उठाएर र तानाशाह शासकहरूले चपरीमुनि गाडेका सहिदहरूका बलिदानका गाथाहरूलाई निरन्तर हृदयङ्गम गरेर निरन्तर क्रान्तिमा होमिएका क्रान्तिकारीहरूका लागि इतिहासका विरासतहरू उत्तिकै शक्तिशाली र अझ ऊर्जावान् बनेर उभिएका छन् । रामवृक्ष यादवको जनयुद्ध आरम्भ हुनै लाग्दा तत्कालीन सत्ताद्वारा पालितपोषित गुन्डाले क्रूरतापूर्वक हत्या गरेका थिए । उनी माओवादी जनयुद्धका शीर्ष सहिदमध्येका एक हुन् । उनी एक आदर्श क्रान्तिकारी हुन् ।

रामवृक्ष यादवलाई तत्कालीन शेरबहादुर देउवा सरकारको संरक्षणमा काङ्ग्रेसी गुन्डाहरूले धनुषाको बर्मझियामा हत्या गरेका थिए । २०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी बीभत्स तरिकाले यादवको हत्या गरेका थिए । नेपालमा जनयुद्ध सुरुआतको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । रामवृक्ष यादवको हत्या भएको २७ वर्ष पुगिसकेको छ । महान् क्रान्तिकारी योद्धा, नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा तथा तत्कालीन महान् नेपाली जनयुद्धका पहलकर्ता रामवृक्ष यादवप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेको छ । तराई क्षेत्रमा सामन्त जमिनदारहरूले गाउँका जनतामाथि गरेको थिचोमिचो, अन्याय–अत्याचार देखेर त्यसको अन्त्य गर्न कम्युनिस्ट बनेका रामवृक्ष यादव होनहार इमानदार र कर्मठ योद्धा थिए । यादव आफ्नो वर्गप्रतिको इमानदारी र क्रान्तिप्रतिको निष्ठाभावले भरिएका व्यक्ति थिए । उनी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनेछन् ।

यसरी आज क्रान्तिकारीहरूले विभिन्न नामका फासिवादी सत्ताद्वारा हत्या गरिएका महान् योद्धाहरूका सपना साकार पार्न जारी जनक्रान्तिलाई उचाइ र सफलतामा पुर्याउनु अत्यावश्यक बनेको छ । कथित वामपन्थीहरूको दुईतिहाइको सरकार पतन भएर उनीहरूकै षड्यन्त्र र योजनामा यतिबेला नेपाली कङ्ग्रेसका नेता शेरबहादुर देउवा पुनः सत्तासीन बनेका छन् । नेपाली काङ्ग्रेस र शेरबहादुर देउवा दुवै नेपालको राजनीतिमा असफल र अयोग्य साबित भइसकेका छन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा देउको नाउँ कतै र कहीँ पनि सुखद र प्रिय रूपमा लिइँदैन । अनिश शाक्यको हत्यादेखि इच्छुकको हत्यासम्म, हजारौँ हत्याकाण्ड, राष्ट्रघात र विकृति–विसङ्गतिहरूमा उनको नाउँ गाँसिएको छ । केपी ओली सरकार र नेकपाबीच तीनबुँदे सहमति भएर वार्ताका माध्यमबाट मुलुक अघि बढ्नुपर्ने अवस्थामा देउवा सरकारले पूर्ववर्ती सरकारका सहमति र निर्णयहरू कार्यान्वयन गर्न तदारुकता देखाइरहेको छैन । नेकपा नेता भरत बम ‘रणवीर’ धरौटी बुझाएर जेलमुक्त हुनु यसको पछिल्लो उदाहरण हो । यस्तो अवस्थामा देउवाले रामवृक्ष यादव, इच्छुक र दोरम्बालगायत हत्याकाण्डका हत्याराहरूलाई सहजै कारबाही गर्लान् भनेर सोच्नु दुःस्वप्न मात्र हुनेछ । यसका लागि एकीकृत जनक्रान्तिलाई अझै जोडतोडका साथ अघि बढाउनु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :