संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद: कञ्चन

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद: कञ्चन

नेपालगन्ज: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले अहिलेको राजनीतिक सङ्कटको निकास र दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् । नेकपा बाँके–बर्दिया जिल्लाको संयुक्त कार्यकर्ता राजनीतिक प्रशिक्षण कार्यक्रममा मङ्गलबार सम्बोधन गर्दै नेता कञ्चनले त्यसका लागि प्रगतिशील संयुक्त सरकार गठन गरी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने धारणा पनि राखे ।

नेता कञ्चनले आफ्नो पार्टीका महासचिव विप्लवसहितको टिमले मुलुकका सबै संसद्वादी पार्टीहरूका नेतृत्वसँगको भेटघाटमा कसैले पनि वैज्ञानिक समाजवादको विरोध नगरेको र विकल्प पनि दिन नसकेको खुलासा गरे । उनले भने, ‘सबै पार्टीका नेताहरू संसदीय व्यवस्थाबाट असन्तुष्ट छन् तर उनीहरू विकल्प दिन पनि नसक्ने अवस्थामा छन् ।’

नेता कञ्चनले आफ्नो पार्टीेले बृहत् कम्युनिस्ट एकताको अभियान सञ्चालन गर्ने पनि बताए । उनले भने, ‘वैज्ञानिक समाजवादका लागि प्रगतिशील संयुक्त सरकार गठन र जनमतसङ्ग्रहमा जाने सहमति गर्ने सबै कम्युनिस्टसँग एकता हुन्छ ।’
नेता कञ्चनले सबै जनताको सुरक्षित आवास, निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारको सुनिश्चितता भएको वैज्ञानिक समाजवाद आफ्नो पार्टीले खोजेको पनि बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा हालै जेलबाट छुटेका नेता भरत बम ‘रणवीर’, जयबहादुर वाँठा र आशीषलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानपछि नेता रणवीरले मन्तव्य राख्दै भने, ‘तत्कालीन सरकारले ४० बुँदे माग पूरा नगर्दा जनयुद्ध गर्नुप¥यो । वर्तमान सरकारले ३ बुँदे सहमति पूरा नगरेमा कुनै अर्को क्रान्ति नहोला भन्न सकिँदैन ।’ रणवीरले तीनबुँदे सहमतिको प्रतिबन्ध फिर्ता लिनेबाहेक अरू कुनै पनि सहमति सरकारले कार्यान्वयन नगरेको बताए । उनले सरकारसँग तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न पनि माग गरे ।
नेता रणवीरले जेलभित्रको आफ्नो अनुभूति राख्दै पार्टीले कुनै पनि काम गर्दा एकरूपताका साथ गर्नुपर्ने सुझाव दिए । उनले आफूले जेल बस्दा ‘३ ग’ को भूमिका अलिअलि भए पनि पूरा गरेको दोहो¥याए ।

कार्यक्रममा बाँके र बर्दिया जिल्लाबाट सहभागी नगर तथा गाउँ समितिका इन्चार्जहरूले रिपोर्ट राख्दै पार्टीका केही नेताहरू आर्थिक कामबाहेक सङ्गठनको काममा नलागेको बताएका थिए । जनतामा तीन बुँदे सहमति, वैज्ञानिक समाजवाद, वार्ता प्रक्रियालगायत विषयमा अहिले पनि भ्रम पैदा भएको भन्दै त्यसलाई चिर्न नेता–कार्यकर्ताहरू जनतामा फर्किनुपर्ने सुझाव दिएका थिए ।

गणेश चौधरीको सञ्चालन र अनिलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बाँके–बर्दिया जिल्ला इन्चार्ज दीपक, रुकुम पश्चिम जिल्ला इन्चार्ज विश्व, जाजरकोट सेक्रेटरी अनन्तलगायत नेताहरूको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :