नेकपा दाङको दोस्रो पूर्ण बैठक सम्पन्न, एक महिने अभियान सञ्चालन गर्ने निर्णय

नेकपा दाङको दोस्रो पूर्ण बैठक सम्पन्न, एक महिने अभियान सञ्चालन गर्ने निर्णय

 

दाङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङको दोस्रो पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । भाद्र ७ र ८ गते दुई दिनसम्म बसेको बैठकले जिल्लामा एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको छ । भाद्र १० देखि असोज १० सम्म अभियान चलाउने नेकपा दाङले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बैठकका प्रमुख अतिथि सन्तोष बुढा ‘विषम’ ले अहिलेको सरकार दलाल पुजीवादीहरुको सरकार भएको बताए । उनले दलालहरुको सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताए । उनले केही प्रतिक्रियावादी तत्वहरुले संसदीय निर्वाचनमा भाग लिन्छन् भनेर भ्रम छरेको समेत बताए । नेता विषमले भने, –‘हामी संसदीय व्यवस्थाको विरुद्ध निर्मम संघर्षमा छौँ, व्यवस्था परिवर्तनका खातिर आवश्यक परे बलिदान गर्छौ ।’
एक फरक प्रसंगमा नेता विषमले कम्युनिस्टहरुलाई केही कथित लोकतन्त्रवादी भन्नेहरुले तानाशाही, अधिनायकवादी र लोकतान्त्रिक हुदैनन् भन्ने गरेकोप्रति कडा प्रतिबाद गर्दै जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रह घोषणा गरी जनमत लिन चुनौती दिए ।
शान्तिपूर्ण ढंगबाट जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन माग गर्दागर्दै राज्य तयार नभए जनताले बिद्रोह गर्ने नेता विषमको उद्घोष थियो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले संसदवादीहरुले जनताका विरुद्ध बल प्रयोग गरे आफूहरुले शासकहरुका विरुद्ध बल प्रयोग गर्ने बताए । उनले भने, –‘हामी शान्तिपूर्ण ढंगले व्यवस्था परिवर्तन चाहन्छौं तर राज्य तयार नभए बिद्रोह गर्ने सार्वभौम अधिकार जनताको हुन्छ ।’

बैठकमा युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेको बताउदै नेपालमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था निर्विकल्प भएको बताए ।
यस्तै बैठकमा नेकपा विशेष कमिटी सदस्य सिता बिक सम्झनाले जनयुद्धका अपुरा सपना आफुहरु पूरा गर्न बलिदान गर्न तयार रहेको बताइन् । उनले भनिन, –‘हामी जुन लक्ष्य, उदेश्य र प्रस्तावहरु लिएर जनयुद्ध लडेका थियोँ त्यो पूरा भएका छैनन्, हामी निरन्तर क्रान्तिको यात्रामा छौंँ ।’

बैठकमा मन्तव्य राख्दै नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दरले मार्क्सवादलाई परास्त गर्न साम्राज्यवादले अनेक प्रयास गरिरहेको बताए । नेता सुन्दरले आफुहरु शान्तिपूर्ण राजनीतिमार्फत क्रान्ति पूरा गर्ने अभियानमा केन्द्रित रहेको बताए । प्रतिबन्धमार्फत आफुहरुलाई समुल नष्ट गर्ने योजनामा संसदवादी दलालहरु रहेको नेता सुन्दर भनाइ थियो ।


बैठकमा नेकपा दाङ जिल्ला कमिटी सदस्य, नगर तथा पालिका इन्चार्जहरु लगायत विशेष कमिटी सदस्यहरुले राजनैतिकरवैचारिक र सांगठनिक गतिविधिको विषयमा रिपोर्ट राखेका थिए भने समग्र जिल्ला कार्यालयको रिपोर्ट जिल्ला सेक्रेटरी प्रदिपले राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य विषमको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दर, नेकपा विशेष कमिटी सदस्य सम्झना, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनको आतिथ्यता रहेको थियो भने बैठकको अध्यक्षता तथा संचालन जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :