क्रान्तिकारी युवा सङ्गठनले पाल्हीनन्दन गाउँपालिकालाई ज्ञापन बुझायो

नवलपरासी : ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । आइतबार सङ्गठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी ‘सकिना’ लाई ज्ञापनपत्र बुझाएको सङ्गठनले जनाएको छ । भष्ट्रचारीलाई कारवाही गरेको भन्दै ‘कालोमोसो’ दल्ने उक्त सङ्गठनले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सरावल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ ।

साथै, गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी भएको भन्दै खरिद ऐनलाई अक्षरशः पालना गर्न माग गरिएको छ । त्यस्तै गाउँपालिकामा पर्यटनको निकै सम्भावना रहेको भन्दै त्यसका लागि पर्यटन क्षेत्रको एकीकृत गुरुयोजना बनाउन सङ्गठनले माग गरेको संयोजक तरुण श्रीस मगरले जानकारी दिए ।

त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, युवा तथा खेलकुदको क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने लगायतमा माग ज्ञापन पत्रमा छ । राष्ट्रिय, जनतन्त्र र जनजिबिकासँग सम्बन्धित मागपत्र लिएर सङ्गठनका जिल्ला संयोजक तरुण श्रीस, सङ्गठनका कार्यालय सदस्य आकाश गौतम सहितको टोली पाल्हीनन्दन गाउँपालिकाको कार्यालय बेलाशपुर पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक रवि पाण्डेय समेत सहभागी रहेका थिए ।

सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटनलगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । टोलीलाई पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी ‘सकिना’ ले धेरै मागहरू पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै सङ्गठनका मागलाई कार्यपालिकाको बैठकमा लैजाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :