अफगानिस्तान : ‘साम्राज्यहरूको चिहान’

अफगानिस्तान : ‘साम्राज्यहरूको चिहान’

‘लडाइँहरू व्यापारका लागि लडिन्छ न कि सभ्यताका लागि । जब चिनियाँहरूले उनीहरूको अफिम खरिद गर्न अस्वीकार गरे, अङ्ग्रेजहरूले चीनका कति सहरमा बम–वर्षा गरेका थिए ! के यसलाई सभ्यताको लडाइँ भन्न सकिन्छ ?’

–अन्तोनियो ग्राम्सी, सांस्कृतिक और राजनीतिक चिन्तनके बुनियादी सरोकार

दक्षिणएसियाको ढोका, अरबको मुटु र चीनको रेसम मार्गलाई युरोप पस्न रोक्ने रणनीतिक महत्वको देश हो दक्षिणएसियाको अफगानिस्तान । चीन, भारत, पाकिस्तान, इरान, ताजकिस्तान, कजाकस्तान र तुर्कमेनिस्तानसँग अफगानिस्तान जोडिएको छ र यो भूपरिवेष्ठित इस्लाम धर्मावलम्बी बहुल देश हो । फारसी र पस्तुन यहाँका मूल भाषा हुन् । पस्तुनभाषीहरू अझ बढी छन् ।

आधुनिक मानव जातिको इतिहास १० हजार वर्ष पुरानो मानिन्छ । अफगानिस्तानको अस्तित्व त्योभन्दा पनि पुरानो मानिन्छ । १८ औँ शताब्दीमा अफगानिस्तान स्वतन्त्र अस्तित्वमा आएको हो । नादिर शाह शासित फारस (हाल मूल भाग इरान) र भारतका मुगल बादशाहबीचको मध्यवर्ती क्षेत्र (बफरजोन) का रूपमा त्यसबेला अफगानिस्तान स्वतन्त्र देशका रूपमा रहेको थियो । १९ औँ शताब्दीमा जारशाही रुस र ब्रिटेनका बीचमा मध्यवर्ती क्षेत्रका रूपमा यो देश रहेको थियो । यद्यपि त्यो समयमा पनि विदेश मामिला ब्रिटेनको हातमा थियो तर सिन्धु नदीको पश्चिम पेसावर सहर (हाल पाकिस्तान) र खैबरसहित पस्तुन क्षेत्र (हाल पाकिस्तान र अफगानिस्तानमा विभाजित) मा ब्रिटेनको नै आधिपत्य थियो । टर्की र अफगानिस्तानका बीचमा सीमाविवाद थियो । रुस र ब्रिटेनले आपसी प्रतिनिधि बसेर ‘संयुक्त सीमा आयोग’ गठन गरी टर्कीसँगको सीमा निर्धारण गरे । तर उक्त आयोगमा अफगानिस्तानको प्रतिनिधित्व थिएन । ब्रिटेन र रुसको उपनिवेश भागबन्डाको चक्रब्यूहमा फसेर विशाल टर्की (तुर्किस्तान) विभाजित भएर टर्की, ताजकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तानमा बाँडिए । त्यसै समयमा अफगानिस्तानलाई दुई साम्राज्यले मध्यवर्ती क्षेत्रका रूपमा स्वतन्त्र अस्तित्व स्वीकार गरे । यसरी १७१९ मा स्वतन्त्र देश बन्दा एसियामा नेपाल र अफगानिस्तान मात्र स्वतन्त्र देश थिए ।

सन् १९१९ अगस्त १९ मा अफगानिस्तान स्वतन्त्र भयो ब्रिटेनबाट । सोभियत सङ्घले क्रान्तिका नाममा नजिबुल्लाह सरकार गठन गर्यो जसलाई टिकाउन अफगानिस्तानमा रुसी सेना प्रवेश गर्यो र ३ सय मिलियन डलरभन्दा बढी खर्च गर्यो । शीतयुद्धको समयमा अमेरिका र पाकिस्तानबीच रणनीतिक साझेदारी भएका कारण रुसी सेना अमेरिकी गठबन्धनको घेराबन्दीमा पर्यो । अमेरिकाले तालिवान जन्मायो र सन् १९९२ मा रुस अफगानिस्तानबाट फर्किन बाध्य भयो । शीतयुद्धको अन्त्यसँगै अमेरिका अफगानिस्तान कब्जा गर्न चाहन्थ्यो । त्यसका लागि पाकिस्तानलाई मनाउनुपथ्र्यो । सन् २००८ मा अमेरिकाको ‘राष्ट्रिय अनुसन्धान ब्युरो’ ले २०२५ सम्म अफगानिस्तान र पाकिस्तानको पस्तुन क्षेत्र एउटै हुनसक्ने र पाकिस्तान टुक्रनसक्ने प्रतिवेदन सार्वजनिक गर्यो । करिब ४ करोड जनसङ्ख्या रहेको अफगानिस्तानमा फरसी र पस्तुनी दुवै समुदाय मिलेर बसेका छन् । विभाजनको हौवा मिथ्या थियो । अफगान कवि खुसहाब खानको कविताले उनीहरूको मनोविज्ञान स्पष्ट गर्दछ–

‘छोरा !
तिम्रा लागि एउटा कुरा छ मसँग
कसैसँग नडराऊ र कसैसँग नहच्क
तरबार निकाल र त्यसलाई छिनाल
जसले भन्ने गर्छन्–
पस्तुन र अफगान एउटै होइनन्
अरब बुझ्छन् यो र रोमन पनि
अफगान पस्तुन हो
पस्तुन अफगानिस्तान हो ।’

सन् २००१ मा अमेरिकाको जुम्ल्याहा भवनमा आक्रमण भएपछि अमेरिकालाई गतिलो बहाना भयो । त्यसपछि नेटो फौज अफगानिस्तान प्रवेश गर्यो । सन् २००२ मा अफगानी सरकारी फौजका लागि १५० अर्ब र नेटो सेनाका लागि ९ सय अर्ब डलर विनियोजन गर्यो । यसैबीचमा पाकिस्तानसँग अमेरिका टाढियो । इरानसँग आम्नेसाम्ने टक्कर भयो र टर्कीसँग पनि अमेरिकाको सम्बन्ध बिग्र्यो । सयौँ वर्षदेखि लड्दै आएका स्वाभिमान अफगानी–पस्तुनी जनताले सशक्त प्रतिवाद गरे । चीन–रुस गठबन्धनको सहानुभूति तालिवानले प्राप्त गरे । कारजाई सरकारले पनि अमेरिकी ज्यादतीको समर्थन गरेन । अन्ततः भियतनाम युद्धपछि दोस्रोपटक अमेरिकाको लज्जास्पद पराजय भयो । अमेरिकामा आन्तरिक असन्तोष चुलियो र धान्नै नसक्ने आर्थिक व्यवहारको दबाब पर्यो । त्यस्तो अवस्थामा अफगान सरकारलाई सहभागी नै नगराई अमेरिका–तालिवान वार्ता गत वर्ष दोहामा भयो र वार्तामा सहमति भएको समयअगाडि नै गुपचुप भागेर अमेरिकी सेना अफगानिस्तानबाट बाहिरियो ।

अफगानिस्तानको गृहयुद्ध र युद्धको इतिहास निकै पीडादायी र लामो छ । अमेरिकाभन्दा अगाडि सोभियत सङ्घ, त्यसपूर्व ब्रिटेन र जारकालीन रुसले अफगानिस्तान कब्जा गरेका थिए । नादिर शाह (फारसी) र मुगल सम्राट (भारतीय) को आक्रमणबाट उनीहरू बचेनन् । कुषण, हफ्थलिट, समनी, गजनवी, मोहमद, दुर्रानीको उदय र अस्त उनीहरूले झेले । अफगानिस्तानमा यति धेरै आक्रमण किन भइरहेको छ र सबै साम्राज्यहरू पराजित हुँदै किन आएका छन् ? आजको महत्वपूर्ण प्रश्न हो ।

अफगानिस्तानको सीमा भारत–पाकिस्तानसँग जोडिएको छ र यसको सीमा टर्की र रुसी महासङ्घका सदस्यहरूसँग पनि जोडिएको छ । तुर्किस्तान (हाल मूल भाग टर्की) लाई युरोपको ढोका भनिन्छ । अफगानिस्तान पश्चिम एसियालाई दक्षिणएसियासँग जोड्ने मार्ग हो । चीनको प्राचीन रेसम मार्ग यहीँबाट युरोप जान्थ्यो । चीन अहिले पाकिस्तान प्रशासित कास्मिरसम्म पुगिसकेको छ र पुरानो रेसम मार्ग हुँदै युरोपको ढोका ढकढक्याउन चाहन्छ ।

बीसीई १८०० मा आर्यहरू अफगानिस्तान पुगेका थिए । बीसीई ७०० मा अफगानिस्तानको उत्तरी भूभाग गान्धारमा महाजन पद रहेको व्याख्या महाभारत कथामा छ । हस्तिनापुर (दिल्ली क्षेत्र) का कौरवकी महातारी गान्धार महा–जनपदकी कन्या थिइन् । बीसीई ५०० मा फारसी (इरानी) ले आर्यलाई पराजित गरे । सिकन्दर महानले फारसी शासनलाई युनानी साम्राज्यमा विलय गराएका हुन् । युनानीपछि भारतीय शाकहरू आए । बीसीई २३० मा भारतकै मौर्य वंशको आधिपत्य भयो । बीसीई ७०७ मा फारसी र ९८७ बीसीईमा सुन्नी फारसीको उदय भयो । मध्यकालमा अफगानिस्तान निकै सबल थियो । त्यसबेला उनीहरूले हस्तिनापुरसम्म अतिक्रमण गरे । पन्जाबी शिखराजा दिलीप सिंहले कैयौँ वर्ष अफगानिस्तानमा शासन गरेका थिए ।

सन् १९१९ मा स्वतन्त्र भएपछि अफगानिस्तान १९७३ सम्म निकै समृद्ध र शान्त भइसकेको थियो । निकिता ख्रुस्चोब नेतृत्वको सोभियत सङ्घले मुजाहिद्दिन विद्रोहको खेती गर्यो र रुसले कठपुतली सरकार बनायो । अमेरिकी गठबन्धनले तालिबान जन्मायो र रुस भाग्न बाध्य भयो ।

अमेरिकी सेना फिर्ता हुनासाथ अफगानी सरकारी सेनाको मनोबल खस्केको छ र सरकारी सेना नै विद्रोही तालिबानसँग मिल्न गएको कतिपय सरकारी अधिकारीको आरोप छ । तालिबानले पर्यटक, गैसस र कूटनीतिज्ञहरूलाई निशाना नबनाउने सन्देश पनि दिएको छ । अफगान सरकारले नयाँ तयारी गर्न नपाओस् भन्ने रणनीतिअनुसार तालिबानले चौतर्फी र तीव्र रूपमा हमला गरेको छ र हमिद कारजाई सरकारको ध्यान काबुलमा नै सीमित पार्ने गरी आक्रमण गरिरहेको छ । शुक्रबारदेखि सोमबारसम्म (साउन २२–२५, २०७८) तालिबानले ५ वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ र रणनीतिक महत्वको कान्दाहारसहित तीनवटा प्रान्तीय राजधानीमा लडाइँ चर्केको बताइएको छ र ती सहर कुनै पनि बेला उसको कब्जामा जान सक्छन् ।

तालिबानले ‘सरिया कानुन’ लागू गरेर धार्मिक अतिवादी शासन थोपर्ने चिन्ता भइरहेको बेला सिया सम्प्रदायका अल्पसङ्ख्यक अफगानी पनि त्रसित छन् । यही जिज्ञासा, चिन्ता र अमेरिकी सेना पराजित भएर फर्केको खुसीयालीमा चीनका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र तालिबान प्रतिनिधिबीच भेट–वार्ता भएको छ । अफगानिस्तानमा चीन समर्थक शक्ति सत्तारूढ भयो भने विश्व–राजनीति र शक्ति सन्तुलनमा ठूलो प्रभाव पर्नेछ । चीनको ‘नयाँ रेसम मार्ग’ रणनीति निर्बाध अगाडि बढ्नेछ । अफगानिस्तानलाई न्यूनतम् लोकतान्त्रिक मूल्य र एकता बनाउन सक्ने सरकार चाहिएको छ भने पुनर्निर्माणका लागि सहयोगी हातहरू चाहिनेछ । अफगानिस्तानको भविष्यका विषयमा अनेकथरी अड्कलबाजी चलिरहेको बेला पत्रकार इमरान फिरोजले अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ भनेका छन् । साम्राज्यहरूले इतिहासबाट सिक्लान् कि नसिक्लान् ? इतिहासबाट उनीहरूले पाठ सिकेनन् भने इतिहासले उनीहरूलाई दण्डित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्