सजग रहनू दोरम्बा !

कविता

सजग रहनू दोरम्बा !
लेखक : कुलदीप थापामगर ‘अभिलास’

प्यारो दोरम्बा
साउन महिनाको हुस्सुसँगै
३२ गतेले पोलिरहेको छ
छाती जलेको छ
मनमा आगो सल्किरहेको छ
किनकि
तिम्रो सपना मार्न सफल भएकोमा
तिम्रै मृत शरीरमा कालो बुट बजार्दै
यसपालिको साउन ३२ को खुसी मनाउन
तिम्रै रक्तभूमिमा सानासाना सरकार बनेका छन्
तर तिम्रो सपना पूरा गर्नेमा हैन, कदापि हैन
मात्र
तिम्रो सम्झनामा सालिक निर्माण गर्ने भन्दै करौडौँ
बजेट माग्न
दसवटा सिँढी बनाएर, लाखौँको बिल पेस गर्न !
दोरम्बा सहिदको सपना साकार भएको खुसीमा
पोहोर साल पेरिसडाँडामा त
यसपालि धुम्बाराहीमा चियापान गर्न
थाहा छैन मलाई
समानताको नारा सिँढी बनाएर प्राप्त हुने भए
शान्ति र स्थायित्वको सपना सालिक निर्माणले पूरा
हुने भए
आज दोरम्वा र जनयुद्धका अधुरा सपना पूरा गर्ने
वाचा गर्दा
तिनै दरबारमा पुगेका सहयोद्धाको आदेशमा
कुन्नि किन हो ?
कुमार पौडेलको हातखुट्टा भाँचेर गोली हानी हत्या गर्यो
तीर्थराज घिमिरेलाई लखेटी–लखेटी गोलीले उडाइदियो
क्रान्तिको यात्रा जारी छ भन्दा
हजारौं क्रान्तिकारी योद्धाहरूलाई
जेल र हिरासतमा बन्धक बनाएको छ ।
मानसिक र भौतिक यातना दिएको छ
प्यारो दोरम्बा ! तिम्रै सहयोद्धा, तिनै सहयोद्धाको
आदेशमा
खोइ आज तिमीसँगै उठबस गर्नेहरू
सँगै बैठक गरेकाहरू
दोरम्बाको सपना पूरा भयो भन्दै
त्यही जनयुद्धको हुँकारले चर्काएको दरबारमा बसी
ब्ल्याक वाइन र चिप्समा रमाइरहेका छन्
कोही लोकल भट्टी खोलेर लोकल ठर्राको
आनन्दले दोरम्बा सम्झिरहेका छन्
दोरम्बा हाम्रो जिउँदो आस्था भन्नेहरू
पेरिसडाँडा छोडेर धुम्बाराही सरेका छन्
कताकति जिउँदा सहिद भन्नेहरू
क्रसर, डोजर र जग्गा किनबेचका मालिक बनेका छन्
कोही योजना माग गर्दै तिनै हत्याराको पाउ
मोलिरहेका छन्
कुनै सहयोद्धा सिंहदरबारको फोहोरको डस्बिनमा
भन्किरहेका झिँगाजस्तै घुमिरहेका छन्
तर
प्यारो दोरम्बा !
हाम्रो सपना क्रसर र डोजरको ठेकेदार बन्ने थिएन
हाम्रै नीतिविपरीत लोकल भट्टी खोलेर
लोकल ठर्राको व्यापार गर्ने थिएन ।
न त
जनयुद्धलाई फासिवाद भन्नेहरूसँग हात मिलाउनु
थियो !
न त जनयुद्धमा दन्केको राँकोलाई राँके भूत
भन्नेहरूका अगाडि
शिर निहुर्याउनु थियो !
त्यसैले प्यारो दोरम्बा, तिमीले
तिम्रो उद्देश्यविपरीत छरिएको भ्रम चिर्नैपर्छ
कम्युनिस्टको ढोङ बजाएर राज्यको सम्पत्ति
लुट्नेहरूका विरुद्ध
सजग हुनैपर्छ
हँसिया–हथौडाको झन्डामुनि बसेर ।
हँसिया–हथौडाको झन्डा जलाउनेहरूसँग सजग
हुनैपर्छ
त्यसैले
एकीकृत जनक्रान्तिको योद्धा सजग छ, प्रतिबद्ध छ
सचेत छ
र तिमी पनि सजग हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :