नमुना कार्य र सहयोग गर्ने मित्रहरूबारे

नमुना कार्य र सहयोग गर्ने मित्रहरूबारे

हाम्रो पार्टी बनेदेखि हामीले जनताका बीचमा नमुना कार्यहरू सञ्चालन गर्ने नीति बनाएका छौँ । सोही नीतिअनुसार जनताका बीचमा नमुना कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन् । हालै पार्टीका नमुना कार्यलाई देशबाहिर रोजगारीमा जानुभएका युरोप र मध्यपूर्वका मित्रहरूले ठूलो सहयोग उपलब्ध गराइदिनुभयो । त्यसले यहाँ काममा खटिरहनुभएका कमरेडहरू र जनतामा विशेष सन्देश प्रवाह हुनुका साथै राम्रो उत्साह सिर्जना गरेको छ ।

हाम्रो पार्टी बनेको छोटै अवधिमा केही नमुना कार्यहरू पूरा गरिसकेका छौँ भने केही सञ्चालनमा छन् । निर्माण पूरा भएकामा थबाङको सहिद स्मृति सभागृह, आराम गृह, धादिङ–मकवानपुर सीमामा चेत्रा स्कुल, चितवनको समाजघर, ताप्लेजुङको सभाहल, बुटवल शङ्करनगर पार्कलाई सहयोग, भोजपुर सहिद प्रतिष्ठानलाई सहयोग, सल्लाहकार कमरेड पवनको दुईकोठे घर, दसवटा जनआवास, कैयौँ कमरेडहरूको घर निर्माण, सहिद परिवारलाई सहयोग, देशभरि दस बिघाभन्दा बढीको उत्पादन रहेका छन् ।

त्यसैगरी निर्माणाधीन कार्यहरूमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, भव्य सभा भवन, राणाकालदेखि जनयुद्ध र एकीकृत जनक्रान्तिसम्मका करिब ९ हजार महान् सहिदहरूको प्रतिमा रहने गरी सुरु भएको विशाल सहिद स्मारक पार्क, जनस्वास्थ्य सेवा केन्द्र, कालीकोट मालकोटको सभागृह, ललितपुरको पार्टी केन्द्रीय कार्यालयको आवास, महासचिवको आवास, केही समाजघरहरू, दुःख पाएका परिवारका घरहरू रहेका छन् । यो वर्ष लगभग २५ बिघामा धान, मकै, तरकारी उत्पादन भइरहेको छ । सबै जिल्लाहरूले केही न केही निर्माण र उत्पादन गरिरहेका छन् । सुव्यवस्थित र योजनाबद्ध रूपले यो स्तरमा नमुना कार्य सञ्चालन गरिएको यो पहिलो हो । यसैले पनि निर्माण एवम् उत्पादनकार्यले पार्टी र जनतामा एउटा क्रान्तिको सन्देश प्रवाह गरिरहेको छ । नेता, कार्यकर्ता, जनता सबैमा एउटा उत्साह छ र सारा कमरेडहरू जोसजाँगरका साथ काममा सक्रिय भइरहनुभएको छ ।

पर्टीले नमुना निर्माणकार्य बढाइरहँदा यो वर्ष नेपालबाट रोजगारीको खोजीमा युरोप, मध्यपूर्वका देशहरूमा पुग्नुभएका मित्रहरूले त्यहाँका हाम्रो पार्टी समर्थक मोर्चाहरूको माध्यमबाट २३ लाख रुपैयाँबराबरको ठूलो आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । खासगरी कपिलवस्तुको शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य सेवा केन्द्रलाई युरोप–अमेरिकाबाट १८ लाख १५ हजार र पार्टी केन्द्रीय सम्पर्क कार्यालयका साथै स्वास्थ्य सेवा केन्द्रलाई मध्यपूर्व, कतार, बहराइन, यूएईबाट ४ लाख ७५ हजार ६ सय ५१ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । दुवै सहयोग पार्टीले सीधै निर्माण समितिहरूलाई हस्तान्तरण गर्ने वातावरण मिलाइदिएको छ । सहयोग हस्तान्तरण कार्यक्रम निकै महत्वपूर्ण भए । कमरेड र मित्रहरूले सहयोग गर्नुपर्नाको धारणा सुनेपछि श्रममा भाग लिइरहनुभएका कमरेडहरू मात्र होइन, सिङ्गै पार्टीपङ्क्ति र जनसमुदाय भावुक र उत्साहित बन्नुभयो । मुख्यतः सहयोगी कमरेडहरूले आफूले गाँस काटेर जनताको सेवाका लागि मद्दत गरेको भाव राख्दा उद्वेलनात्मक वातावरण बन्यो । सायद यहाँ हाम्रा कमरेड र जनताले चालीस डिग्रीको घाममा जनताको भलाइका लागि खाइनखाई लडिरहेको देखेर बाहिरका कमरेडहरूमा यस्तै भावना पैदा भयो होला भन्ने अनुभूति भएको छ ।

यो सत्य हो– हामी नेपाली जहाँ भए पनि जुन अवस्थामा भए पनि, जे गरिरहेको भए पनि हाम्रो जीवन, समाज र देशप्रतिको बुझाइमा एकै ठाउँमा छौँ । हामीलाई जनता, समाज र देशको माया र चिन्ता समान छ । आजको अवस्थालाई फेर्नुपर्छ र फेर्दा आफूले के गर्न सकिन्छ गर्नुपर्छ भन्ने सोचाइ हामीभित्र छ । देशमा जब केही नयाँ काम, सङ्घर्ष र परिवर्तन देखिन खोज्छ तब सबैतिरबाट त्यसलाई अगाडि बढाउन र सफल पार्न सक्दो सहयोग गर्न तयार हुने अवस्था बन्छ । यो आज मात्र होइन, २००७ सालको राणा शासनविरुद्धको सङ्घर्ष, पञ्चायतविरुद्धको सङ्घर्ष, काङ्ग्रेसको सशस्त्र सङ्घर्ष, महान् जनयुद्ध, एकीकृत जनक्रान्ति सबै बेला यही विशेषता व्यक्त भएको छ । जनयुद्धको समयमा धेरै देशबाट फर्किएर पूर्णकालीन कार्यकर्ता भएर काम गरेको, भारतबाट मात्र एक बटालियनबराबरको युवा जनमुक्ति सेनामा भर्ती हुन आएको ताजै छ । हामीले एकीकृत जनक्रान्ति बढाएपछि पनि कमरेडहरू पार्टीमा पूर्णकालीन हुन आइपुग्नुभएको छ । कमरेड दीपक बिष्टलगायत कमरेडहरू अझै जेलमै हुनुहुन्छ । भूकम्पको विपत्ति र गएको साल बाढीपहिरोले पुर्याएको क्षतिमा पनि सहयोग उपलब्ध गराउनुभयो । कोरोना भाइरस सङ्क्रमण महामारीमा पनि निकै धेरै सहयोग विभिन्न माध्यमबाट देशभित्र आइरहेको छ । हामीले यो सहयोगी, जनसेवी, अग्रगामी, परिवर्तनप्रिय भावनालाई सधैँसधैँ हृदयदेखि सम्मान र स्वागत गर्नुपर्छ, धन्यवाद दिनुपर्छ । हाम्रो जनसेवा अभियान एवम् नमुना कार्यमा प्रत्यक्ष सहयोग गर्ने युरोप, मध्यपूर्व र सबैतिरका मित्रजनलाई धेरैधेरै धन्यवाद दिनुपर्छ ।

हाम्रो देश आज चरम सङ्कटमा फसिरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा विचलन र विकृति चुलिएको छ । राजनीति जनताको सेवा गर्ने क्षेत्रबाट चिप्लिएर व्यक्ति, गुट, समूहहरूको स्वार्थ पूरा गर्ने, कुर्सी हत्याउने, मालिकहरूको दलाली गर्ने, जनता ठग्ने धन्दामा पतन भएको छ । आर्थिक क्षेत्र भ्रष्टाचार, कमिसनखोरी, दलालीका कारण थिलथिलो भएको छ । जनता र राज्य कङ्गाल हुँदै जाने तर मुठीभर दलालहरू सुँगुरजस्तो मोटाउने अवस्था बनेको छ । समाजमा अराजकता, अमानवीयता र असंस्कृति फैलिँदैछ । दलालीकरण, चाकरी, कमिसनखोरीजस्ता विकृतिबाट सांस्कृतिक क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । युवापिँढी शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जनजस्ता अवसरबाट वञ्चित भइरहेको छ । समग्रमा भन्दा देशले एउटा अग्रगामी, क्रान्तिकारी रूपान्तरण चाहिरहेको छ ।

चार दशक लामो अभ्यासमा संसदीय व्यवस्था पूर्णतः असफल सिद्ध भएको छ । यो सङ्कटको मूल कारण नै संसदीय व्यवस्थको असफलता हो जुन तथ्यप्रति कोही नागरिक अनभिज्ञ छैनन् । हाम्रो पार्टीको दृष्टिकोण छ– यो सङ्कटको निकास जुनसुकै कोणबाट पनि अग्रगामी एवम् जनवादी विशेषतायुक्त व्यवस्था वैज्ञानिक समाजवाद मात्र हुनसक्छ । यसका लागि नेपाली जनतालाई जनमतसङ्ग्रहको अधिकार दिइयोस् र जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक समाजवादमध्ये कुन रोज्ने भन्ने फैसला गर्न दिइयोस् भन्ने प्रस्ताव पनि छ । देशका लागि अपरिहार्य बन्न पुगेको यो निकासका पक्षमा पनि सबै नेपाली नागरिकहरूले सबैतिरबाट पहल र सहकार्य गरौँ । हामीले सोच्नैपर्छ– हाम्रो भविष्यको निर्माण हाम्रै सही दृष्टिकोण र पहलबाट मात्र सम्भव छ । जहिलेसम्म जनताले आशा राखेको परिवर्तन प्राप्त हुनेछैन तबसम्म हाम्रो यो पहल कायम रहिरहनेछ ।

२८ साउन, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :