महिला, क्रान्ति र वैज्ञानिक समाजवाद

महिला, क्रान्ति र वैज्ञानिक समाजवाद

हाम्रो देश उत्पीडित र शोषित छ, जनताहरू उत्पीडित र शोषित छन् । त्यसभित्र पनि महिला र दलितहरू धेरै उत्पीडित र शोषित छन् ।

विश्व–पुँजीवादी शक्तिहरू मुख्यतः भारत, अमेरिका, युरोपियन युनियनले हाम्रो देशमाथि लामो समयदेखि आँखा गाडिरहेका छन् । उनीहरूले हाम्रो स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई हस्तक्षेप गरिरहेका छन् । भारतले राजनीतिक, आर्थिक, सांस्कृतिक साथै भौगोलिक रूपले पनि हस्तक्षेप गरिरहेको छ भने अमेरिकाले राजनीतिक, आर्थिक र प्राविधिक रूपले हस्तक्षेप गरिरहेको छ । भारतले गण्डक, कोसी सम्झौता गरेर होस्, लिम्पियाधुरा, लिपुलेक, कालापानी कब्जा गरेर होस्, विभिन्न सुरक्षा सम्झौता लादेर होस्, सीमा क्षेत्रमा तनाव र दमन गरेर होस्, नेपाली भूभागका पक्षमा लड्ने युवाहरूको हत्या गरेर होस् यस्तो व्यवहार देखाइरहेको छ । अमेरिकाले विभिन्न सङ्घसंस्थामार्फत गरिरहेको कामकार्य, हिमाली क्षेत्रमा बढाइरहेको गतिविधि, हालै एमसीसीमा गरिरहेको जोरजबर्जस्तीमा यो व्यक्त भइरहेको छ । त्यसैगरी युरोपियन युनियनले राजनीतिक, धार्मिक, आर्थिक रूपले हस्तक्षेप गरिरहेको छ ।

उत्पीडित जनताहरूमाथि धेरै विभेद छ । त्यसभित्र पनि महिलाहरूमाथि बढी विभेद छ । जनताहरू उत्पीडन, शोषण र विभेदबाट उन्मुक्ति चाहन्छन् । त्यसमा पनि महिलाहरू बढी चाहन्छन् ।

यो बर्ष मात्र पच्चीस सयजनाभन्दा बढी महिलाहरूमाथि बलात्कार भयो । दर्जनभन्दा बढी महिलाहरूलाई बलात्कार गरेर हत्या गरियो । हजारौँलाई विदेशमा बेचियो । दर्र्जनौँ आमा, दिदी, बैनीहरूलाई बोक्सीको आरोपमा हिंसा गरियो । यसले प्रमाणित गर्छ– यो दलाल पुँजीवादी सत्ताभित्र महिलामाथि कति उत्पीडन र विभेद छ । यसबाट महिलाहरूले मुक्ति चाहिरहेका छन् । यसका लागि अनेकौँ सङ्घर्षहरू चलाइरहेका छन् ।

जनताहरूमाथि भइरहेको उत्पीडन, शोषण र विभेदको मुख्य कारण नेपालको दलाल पुँजीवादी राज्यसत्ता र सत्ता कब्जा गरेर असीमित लुट मच्चाइरहेको दलाल पुँजीपति वर्ग हो । जनतामाथि उत्पीडन, शोषण गर्ने वर्गसत्ताध्ये सबैभन्दा निर्लज्ज, तुच्छ एवम् क्रूर वर्ग दलाल पुँजीपति वर्ग हो । पुँजीपति वर्गले कम्तीमा उद्योग, व्यापारमा प्रगतिशील भूमिका पूरा गर्छ तर दलाल पुँजीपति वर्गलाई यी सारा कुरामा कुनै मतलब हुँदैन । यसलाई केवल मुनाफा चाहिन्छ । जे गरेर हुन्छ पैसा कुम्ल्याउन पाए पुग्छ । मान्छे बेच्नु, विशेषतः महिलाहरूलाई बेचबिखन गर्नु, देश बेच्नु, माल बेच्नु र संस्कृतिसमेत बेच्न तयार हुनु यसैका उदाहरण हुन् । दलाल पुँजीवादी सत्ता र व्यवस्था रहेसम्म देश र महिलाले भोगिरहेका समस्या समाधान हुने नभई बढ्दै जाने निश्चित छ ।

दलाल पुँजीवादी राज्यसत्ता, सत्तासीन दलाल पुँजीपति वर्गको उत्पीडनलाई अन्त्य गर्न क्रान्ति नगरी सम्भव छैन । संसद्‌वादी–पुँजीवादी पार्टी, नेता र व्यक्तिहरू राज्यसत्तासँग सहमति, सम्झौता, सुधार र सम्बन्ध कायम गरेर जनताको जीवनलाई माथि उठाउने र क्रमशः उत्पीडनको अन्त्य गर्ने प्रचार गर्छन् । तर पछिल्ला सयाैँ वर्षका इतिहासका परिणामहरू हेर्दा पनि देख्न सकिन्छ उत्पीडितहरूले मुक्ति मालिक र सत्तासीन वर्गको दयाबाट वा केही मान्छेको मिलोमतोबाट पाएको एउटा पनि उदाहरण छैन ।

क्रान्तिपछि स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र सबैमाथिको उत्पीडनलाई समाप्त पारिदिन्छ । वैज्ञानिक समाजवादले महिलामाथिको उत्पीडन, शोषण, विभेदलाई पनि समाप्त पारिदिन्छ । वैज्ञानिक समाजवाद श्रमिक वर्ग, जाति र लिङ्गको व्यवस्था हुनुका कारण यसभित्र एक वर्गद्वारा अर्को वर्गलाई, एक जातिद्वारा अर्को जातिलाई र एउटा लिङ्गले अर्को लिङ्गलाई शोषण, उत्पीडन गर्न पाइँदैन । परिणाम वैज्ञानिक समाजवादले दलाल पुँजीपति वर्गद्वारा हुने सबैखालका उत्पीडन र शोषणहरू समाप्त पारिदिन्छ ।

उत्पीडनको कारण दलाल पुँजीपति वर्गको सत्तालाई फाल्ने क्रान्तिमा सहभागी बन्नुपर्छ भन्ने चेतना जनतामा छ र महिलामा पनि छ । नेपाली श्रमिक जनताले हरेक परिवर्तनपछि आएको राजनीतिक व्यवस्थालाई हेर्ने र चिन्ने अनि नयाँ व्यवस्थाका पक्षमा हुने क्रान्तिलाई साथ दिने र सहभागी बन्ने प्रक्रिया पकड्दै आएका छन् । गणतन्त्रको स्थापनापछि दलाल पुँजीवादी सत्ता र नयाँ भनेको संसदीय व्यवस्थालाई जनताले नजिकबाट हेर्ने र बुझ्ने मौका पाए । केही समय यो जनताको हो कि होइन भन्नेमा बुझ्न समय दिए तर डेढ दशकको असफल प्रयोगपछि जनताले बुझेका छन्– यो व्यवस्था श्रमिक जनताको नभएर दलाल पुँजीपति वर्गको रहेछ । त्यसपछि नयाँ क्रान्तिका लागि जनता पुनः अगाडि बढेका छन् ।

दलाल पुँजीपति वर्गसत्ताका विरुद्ध एकीकृत जनक्रान्ति अगाडि बढेपछि श्रमिक जनतासँगै महिलाहरूको सहभागिता तीव्रतामा बढ्दै गएको छ । जनयुद्ध स्थगन भएपछि राजनीतिक कार्यमा विशेषतः माओवादी आन्दोलनमा महिलाहरूको सहभागिता निकै घट्यो । सारा क्षेत्रमा पुरुषहरूकै चकचकी सुरु भयो । किन महिलाहरूमा राजनीतिक अरुची र निराशा बढ्यो भन्नेबारेमा ठूलठूला बहसहरू पनि भए तर जब एकीकृत जनक्रान्ति अगाडि बढ्यो महिला कमरेडहरूको सहभागिता र सक्रियता पुनः तीव्रतामा वृद्धि भएको छ । पार्टीमा पूर्णकालीन कार्यकर्तामा महिला कमरेडहरूको सहभागिता माथि पुगेको छ । यसले के साबित गर्यो भने क्रान्तिले उत्पीडितलाई अगाडि ल्याउँछ । उत्पीडितहरूको सहभागिता, सक्रियता, क्षमता र शक्तिलाई देखिने गरी बाहिर ल्याइदिन्छ । यथास्थिति र प्रतिक्रान्तिले उत्पीडकहरूलाई अगाडि ल्याउँछ ।

एकीकृत जनक्रान्तिले महिलाहरूलाई अगाडि ल्याएपछि एकीकृत जनक्रान्ति छिटोछिटो विस्तार हुँदै गएको छ । पार्टीमा एउटा जाति वा लिङ्ग मात्र सक्रिय भएर क्रान्तिको गति तीव्र बन्दैन । प्रवेश एक तरिकाले भए पनि जब यसले व्यापक परिमाणमा कामहरू अगाडि बढाउँछ र समाजका उत्पीडित वर्ग, जाति र लिङ्गहरू सहभागी बन्न थाल्छन् तब क्रान्तिको विस्तार निकै व्यापक बन्न पुग्छ । एकीकृत जनक्रान्तिमा महिला कमरेडहरू भाग लिन थालेपछि समाजको ठूलो सङ्ख्या प्रभावित बन्न पुगेको छ र क्रान्तिको विस्तार पनि व्यापक बन्न पुगेको छ । क्रान्ति जुन वर्गका लागि आवश्यक हो त्यही वर्ग र लिङ्ग क्रान्तिमा सहभागि बनेपछि क्रान्तिको गति र विस्तार तीव्र बन्छ । जव क्रान्तिको बोध श्रमिक जनतामा बढ्दै जान्छ उत्पीडित वर्ग र लिङ्ग झनै संगठित बन्ने प्रकृया बढ्छ । अहिले त्यही भइरहेको छ ।

उत्पीडत, शोषणबाट मुक्ति चाहनेहरू अरुभन्दा क्रान्तिप्रति विश्वस्त र इमान्दार हुन्छन् । एकीकृत जनक्रान्तिप्रति महिलाहरू पुरुषभन्दा इमानदार र विश्वस्त देखिएका छन् । प्रतिबन्धको समयमा राज्यको नियन्त्रणमा दर्जनौँ महिला कमरेडहरू पर्नुभयो, उहाँहरूमा दमन पनि व्यापक भयो तर कुनै पनि महिला नेता–कार्यकर्ताले आत्मसमर्पण गर्नुभएन र पार्टी र क्रान्तिलाई धोका दिनुभएन । दर्जनौँ पुरुषले त्यसमा पनि पीबीएम, सीसीएम, वरिष्ठ भनिनेसम्मले राज्यका सामु आत्मसमर्पण गर्न पुगे । कागज गरेर जनतालाई हैरान पारे तर महिला नेता–कार्यकर्ताले आत्मसमर्पण गर्नुभएन । यो ज्यादै मननीय छ ।

शोषण नगर्नु, विभेद नगर्नु, सम्मानपूर्ण एवम् समानतापूर्ण सम्बन्ध र व्यवहार गर्नु, अवसर प्रदान गर्नु वैज्ञानिक समाजवादका उत्कृष्ट विशेषता हुन् । जब एक वर्गले अर्कोलाई र एक लिङ्गले अर्कोलाई शोषण, उत्पीडन र विभेद गर्दैन तब समाजमा वर्गीय एवम् लैङ्गिक उत्पीडन र विभेद सकिएर जान्छ । उत्पीडन, शोषण र विभेद समाप्त भएपछि महिलाहरू परिवार, समाज र राज्यमा पुरुषसरह राजनीतिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रमा पुरुषसरह बन्न पुग्नेछन् । जब पुरुषसरह हुन पुग्नेछन् तब समाजमा महिलाहरू पनि पुरुषसरह नै सम्मानपूर्ण एवम् समानतापूर्ण जीवनमा सक्रिय बन्नेछन् । यस्तो समानतापूर्ण एवम् सम्मानपूर्ण सम्बन्ध वैज्ञानिक समाजवादमा मात्र सम्भव हुन्छ ।

म्हिलाबिनाको समाज जति असम्भव छ महिलाबिनाको क्रान्ति र वैज्ञानिक समाजवाद पनि असम्भव छ । क्रान्तिको सफलताका लागि महिला सहभागिता अनिवार्य भएजस्तै समाजवादको सफलताका लागि पनि महिला सहभागिता अनिवार्य छ । पुँजीवादमा पनि महिलाको सहभागिता र सक्रियता विभिन्न तहमा छ तर पुँजीवादको सहभागिता निष्पक्ष, समानतामूलक र सम्मानपूर्ण छैन । देखावटी, उपयोगवादी र उपभोगवादी मात्र छ । तर वैज्ञानिक समाजवादले महिलाहरूको समान अधिकारको कागजी व्यवस्था मात्र गर्दैन बरु महिलालाई व्यावहारिक समानता, सम्मान, सहभागिता प्रदान गर्दछ जसको कारण महिलाले समाज र राज्यसत्ता सञ्चालनको नेतृत्व गर्ने समान अवसर प्राप्त गर्दछन् । तसर्थ महिला नेता–कार्यकर्ताहरूले दलाल पुँजीवादी सत्तालाई समाप्त पार्न र वैज्ञानिक समाजवाद स्थापना गर्न विशेष जोड दिनुपर्छ । महिला सहभागिता मात्र होइन, महिला नेतृत्वको विकासबिना एकीकृत जनक्रान्तिको सफलता र वैज्ञानिक समाजवादको स्थापना असम्भव छ भने वैज्ञानिक समाजवादबिना महिला मुक्ति असम्भव छ ।

१८ कात्तिक, २०७८ (महिला क्रान्ति)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :