युवा सङ्गठन नेपाल घोराही नगरको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ ।

सङ्गठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा सङ्गठनका केन्द्रीय सदस्य तिलक, सङ्गठनका दाङ जिल्ला इन्चार्ज मनोज, दाङ जिल्ला सदस्य महानको बिशेष उपस्थिति रहेको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटनले जनता र राष्ट्रको मुक्तिका लागि युवाहरू सधैँ बलिदान दिन तयार हुनुपर्ने धारणा राखे । संयोजक पाटनले साम्राज्यवादले पटक–पटक नेपालको राष्ट्रियतामाथि गम्भीर प्रहार गरिरहेको, नागरिकको हत्या गर्ने जस्ता अमानवीय हिंस्रक प्रहारको घोर निन्दा गरे । उनले भने, “भारतीय साम्राज्यवादले बारम्बार प्रहार गरिरहेको छ, नेपालका नेताहरू साम्राज्यवादका दास बनेका छन ।”

नेता पाटनले यो व्यवस्था रहेसम्म साम्राज्यवादी अतिक्रमण, दमन, शोषण, जनघात, राष्ट्रघात भइरहने बताए । उनले सबै युवाहरूलाई वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध गराउन सङ्गठन केन्द्रित रहन आग्रह गरे । जनमतसङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने एजेन्डाका विरुद्ध लुटेरा शक्तिहरूसँग सङ्घर्ष गर्न नेता पाटनको अपिल थियो ।

बैठकले नगरमा अन्तरक्रिया, प्रशिक्षण सञ्चालन गर्ने, क्रान्तिकारी, देशभक्त, प्रगतिशील युवाहरूको ध्रुवीकरणलाई व्यापक गर्ने, सङ्गठनका वडा भेला/सम्मेलन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ । बैठकले २७ सदस्यीय नगर कमिटी पनि चयन गरेको छ ।

बैठकको सञ्चालन तथा अध्यक्षता युवा सङ्गठन नेपाल घोराही नगर इन्चार्ज पदमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :