जातिय विभेद विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा दाङमा प्रदर्शन

जातिय विभेद विरुद्ध अखिल (क्रान्तिकारी) द्वारा दाङमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति दाङले जिल्लाको भालुबाङमा जातिय विभेद विरुद्ध विरोध प्रदर्शन गरेको छ । संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी) दाङले जनाएको छ ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा दाङका अध्यक्ष सुरज परियारले नेपालका उत्पीडित जाती, वर्ग, लिङ्गका समुदायले अधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना नै सबै खाले समस्याको निर्विकल्प समाधान रहेको बताए ।  सुरजले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमत संग्रहको एजेन्डा अघि सारेको बताए ।
उनले कम्युनिस्ट पार्टीलाई रक्तपातपुर्ण संघर्ष मात्रै गर्न जानेको भन्ने पुजीवादीहरुलाई जनमतसंग्रहद्वारा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था चुन्ने अधिकार दिन चुनौती दिए । उनले भने, `हामी जनमतद्वारा जनताले फैसला गरेको स्विकार गर्छौ, तपाइहरू तयार रहनुपर्छ ।`
नेता सुरजले जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने एजेन्डाको विरुद्धमा जानेहरु लुटेरा भएको जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले अहिले पनि समाजमा दलित भएकै कारण दिशा, पिसाव खुवाउने, हत्या, हिंसा गर्ने जस्ता जघन्य अपराध भइरहेको बताए । उनले जातिय विभेद, विकृति, विसंगतिलाई ध्वस्त पार्न युवा विद्यार्थीहरुले फेरि निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे ।नेता अनिलले दलित भएकै कारण नवराजहरु लगायत वर्षेनी सयौँ युवायुवतीहरुले ज्यान गुमाउनु परेको तितो यथार्थ सुनाउन बाध्य भएको बताए ।
संविधानको धारामा मात्रै उल्लेख गरेर जातिय विभेद, छुवाछूत जस्ता अपराधहरु अन्त्य नहुने नेता अनिलको भनाइ थियो ।
सबैखाले विभेद, हत्या, हिंसा, बलात्कार, अपहरण, सामाजिक विकृती विसंगतिलाई समुल नष्ट पार्न जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको नेता अनिलको भनाइ थियो । जातिय विभेद विरुद्धको विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :