विश्वभर १८ करोड २२ लाख कोरोना सङ्क्रमित निको भए, ४२ लाख ९८ हजारको मृत्यु

विश्वभर १८ करोड २२ लाख कोरोना सङ्क्रमित निको भए, ४२ लाख ९८ हजारको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १८ करोड २२ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख १० हजार ७५७ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ६८ हजार २९० जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २० करोड २ लाख ९३ हजार पुगेको छ ।

त्यसैगरी आइतबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ४२ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ६ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ ।

विश्वभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ६३ लाख ५३ हजार ६९ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझैँ महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसङ्ख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घन्टामा ६८ हजार ९५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३२० जनाको मृत्यु भएसँगै अमेरिकामा अहिलेसम्म ६ लाख ३२ हजार ९८७ सङ्क्रमितको ज्यान गएको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ६३ हजार ८२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने सङ्क्रमण घटेको छ । दैनिक ४ लाखसम्म सङ्क्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार सङ्क्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा आइतबार बिहानसम्म ४ लाख २७ हजार ८९२ सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै रूसमा १ लाख ६४ हजार ६४ जना, बेलायतमा १ लाख ३० हजार २८१ जना, फ्रान्समा १ लाख १२ हजार १९० जना, इटालीमा १ लाख २८ हजार २०९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :