जनपक्षीय पत्रकारिताका चुनौती र समाधान

‘अखबारले जनतालाई शिक्षा दिन्छ, सङ्गठनलाई बलियो बनाउँछ । कुनै पनि राजनीतिक पार्टीका निम्ति अखबार एउटा ठूलो हतियार हुन्छ ।’
– लेनिनविषय प्रवेश

भेरी–कर्णाली क्षेत्र भौगोलिक हिसाबले विकट छ । यस क्षेत्रमा राज्यको दृष्टि ढिलै पुग्छ । विकास निर्माणका दृष्टिकोणले यो क्षेत्र राज्यको सौतेनी व्यवहारमा पर्छ । केन्द्रीय सत्ताको विभेदकारी व्यवहारले यो क्षेत्र मिडिया हाउसको विस्तार र पत्रकारिताको विकासमा पछि नै छ । भएका मिडिया र पत्रकारहरूले पनि जनता र राष्ट्रको हितलाई मुख्य केन्द्र बनाएर कलम नचलाउँदा भ्रष्ट, दलाल, र अपराधीहरूको संरक्षण गर्ने कभर भएका छन् जसले गर्दा पत्रकारिता पेसा नै जनताको अगाडि घृणा गर्ने पेसाका रूपमा चित्रित हुन थालेको छ ।

अखबारका बारेमा लेनिनले भनेको कुरा आज एक प्रतिशत पनि लागू भएको छैन । यो अवस्थालाई दृृष्टिगत गरी पत्रकारिता पेसाको मर्यादालाई बचाउने कोसिसमा फेरि पनि केही इमानदार पत्रकारहरू पनि लागिरहेका छन् र लाग्नु पनि पर्छ । एकातिर राज्यसत्ताको स्पष्ट नीति र विधिको अभावले पनि पत्रकारिता पेसा अन्योलमा छ । यसको पनि सही समाधान दिन जरुरी छ । अर्कोतर्फ संसदीय व्यवस्था नै जनताको शोषण गर्ने व्यवस्था हो । यो व्यवस्थालाई खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना हो भन्ने गरिन्छ । आज त्यही कुरा पुष्टि भएको छ । यसको पनि विकल्प जनताले खोजेका छन् । दलाल पुँजीपति वर्गको सेवा गर्ने संसदीय व्यवस्था रहँदासम्म पत्रकारिताका क्षेत्रमा पनि यसले व्यापक असर गर्ने कुरा निश्चित नै छ । यसर्थ यो लेखमा भेरी–कर्णाली क्षेत्रको पत्रकारिताको अवस्थालाई मसिनो रूपमा केलाउन खोजिएको छ । पत्रकारिताका चुनौती, समस्या र समाधानबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

१ चुनौतीहरू

यस क्षेत्रमा पत्रकारिताका थुप्रै चुनौती छन । ती सबै चुनौतीका बारेमा यहाँ चर्चा गर्न नसकिएला तर पनि केही प्रमुख चुनौतीका वारे चर्चा गर्नैपर्छ । ती मुख्य चुनौतीहरूको सामना नगरेसम्म जनपक्षीय पत्रकारिताको विकास हुन सक्दैन । यसका लागि क्रान्तिकारी विचार भएका पत्रकारहरूले ती चुनौतीहरूको जानकारी लिँदै सामना गर्ने हिक्मत गर्नैपर्छ । चुनौतीहरूलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ :

(क) नीति, विधि र दृष्टिकोण निर्माणको चुनौती

हाम्रोजस्तो मुलकमा मिडियासम्बन्धमा एकरूपताको स्पष्ट नीति, विधि र दृष्टिकोण छैन । जसले जस्तो पत्रकारिता गरे पनि हुने अवस्था विद्यमान छ । यस्तो अवस्था यस क्षेत्रमा पनि नहुने कुरै भएन । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सूचना–सञ्चारसम्बन्धी अधिकार बाँडफाँटमा कानुनी विवाद छ । कुनै सञ्चारमाध्यमको दर्ता नवीकरणका तमाम चुनौतीहरू अहिले पनि छन् । उदाहरणका लागि संविधानमा स्थानीय सरकारले १०० वाटसम्मको रेडियो दर्ता गरी सञ्चालन गर्ने भनिएको छ । अहिले पनि काठमाडौँ पुग्नुपर्ने अवस्था छ । स्थानीय सरकारले गर्नसकेको छैन । दर्ता नवीरकणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता छ । यो संसदीय व्यवस्थाको नीति, विधि र दृष्टिकोणको अभाव हो । जनताको स्वायत्त अधिकारसहित सङ्घीयताको अभ्यास हुन नसक्नु हो । सङ्घीयता नाम मात्रको भएपछि विवाद हुनु स्वाभाविक पनि हो । यसलाई सहज र सजिलो बनाउने चुनौती छन् ।

अर्को क्रान्तिकारी पार्टी र सङ्गठनहरूमा पनि मिडियासम्बन्धी स्पष्ट नीति, विधि र दृष्टिकोणको अभाव छ जसले गर्दा भएका जनपक्षीय मिडियाहरू पनि टिक्न सकेका छैनन् । व्यवस्थापकीय पक्ष कमजोर छ । मिसन र व्यवसायलाई सँगै जोडेर लिन सकिएको छैन । कि मिसन मात्र, कि त व्यवसाय मात्र हुने अवस्था मिडियाहरू टिक्न नसक्नुको मुख्य कारण हो । यसलाई पनि सही ढङ्गले नीति र विधिमा हल गर्नुपर्छ । मिसन र व्यवसाय दुवैलाई सँगै जोेडेर लग्न सक्नुपर्छ । नत्र भने मिडियाको विकास, विस्तार र संरक्षणमा गम्भीर चुनौतीहरू खडा हुनेछन् ।

(ख) विकास, विस्तार र संरक्षणको चुनौती

मिडिया खोल्नु ठूलो कुरा होइन तर यसलाई दिगो र टिकाउ बनाउनु ठूलो कुरा हो । आज मै हुँ भन्ने ठूला मिडिया हाउसहरूसमेत बन्द हुने अवस्थामा छन् । यो किन भयो त ? हाम्रा आफ्नै पनि युद्धकालदेखि सञ्चालित रेडियोहरू स्थायी हुन सकेनन् । शान्तिकालमा समेत देशभर पार्टीेले रेडियोहरू सञ्चालन ग¥यो । थुप्रै पत्रपत्रिकाहरू खोलिए तर ती सबै ध्वस्त भए । त्यसको विकास, विस्तार र संरक्षण हुन सकेन । यो पार्टीका लागि दुःखद् पक्ष हो । फेरि पनि यस्तो अवस्था आउन नदिनु नै बुद्धिमत्ता हुनसक्छ । त्यसका लागि स्पष्ट नीति, विधि र दृष्टिकोण हुनुपर्छ । अहिले पनि अभाव छ । बुर्जुवा मिडियाहरू कमिसन, भ्रष्टाचारजस्ता दुई नम्बरी कालो धन्धाबाट चलिरहेका छन् । हामीले त्यस्तै बन्नुपर्छ भन्न खोजेको होइन । त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्छ । तर मिडियाहरूलाई आर्थिक रूपमा नाकाबन्दी नै गर्नु हुँदैन, बरु केही प्रतिशत सहयोग लिएर मिडियाहरूलाई विज्ञापन सङ्कलनमा भरपूर सहयोग गर्नुपर्छ । मिडियालाई संस्थागत रूपमा सञ्चालन गर्नु पनि पर्छ । यो कुराले मात्र जनपक्षीय मिडियाहरूको विकास, विस्तार र संरक्षण हुनसक्छ । नत्र भने चुनौतीहरू जस्ताका तस्तै रहनेछन् ।

(ग) पर्याप्त साधन, सोत र जनशक्ति उत्पादनको चुनौती

जनपक्षीय मिडियाहरूमा पर्याप्त साधन, स्रोत र जनशक्ति उत्पादन हुनुपर्छ । यो नहुँदा बुर्जुवा मिडियाहरूसँग प्रतिस्पर्धा गर्न सकिएको छैन । दक्ष जनशक्ति अभाव किन खड्कियो त ? जनपत्रकार सङ्गठन किन विस्तार भएन ? यी प्रश्नको उत्तर नेतृत्वले गम्भीर भएर खोज्नुपर्छ । यो समस्या देशभर छ । अझै भेरी–कर्णालीमा त बढी नै छ । एकातिर जनपक्षीय मिडियाहरू छैनन् । अर्कोतिर दक्ष जनशक्ति पनि छैन । भएका मिडिया र जनशक्तिलाई सदुपयोग गरिएको छैन । जनपत्रकार सङ्गठन पनि सबै जिल्लामा विस्तार हुनसकेको छैन । यस्तो बेला सयौँ पत्रकार जन्माउनुपर्ने हो । दर्जनौँ मिडिया विस्तार गर्नुपर्ने हो किनकि पुँजीपति वर्गले सूचना र सञ्चारको माध्यमवाट जनतामा भ्रमको खेती गरिरहेको छ । हाम्रा पत्रकार भएका साथीहरूसँग सामान्य पत्रकारको हतियार छैन । क्यामेरा, ल्यापटपजस्ता साधनहरूको अभाव छ । यस्तो तरिकाले बुर्जुवा वर्गका मिडियाहरूसँग जनपक्षीय मिडियाको माध्यमवाट जित्न कठिन छ ।

(घ) भौगोलिक कठिनाइको चुनौती

भेरी–कर्णाली क्षेत्र भूगोलको हिसाबले विकट र ठूलो छ । सबै जिल्लामा चाहेको बेला जान सकिने अवस्था छैन । विकट जिल्लाहरूमा मोटरबाटो छैन । मोटरबाटो पुगेका जिल्लाहरूमा पनि बाढीपहिरोले अवरोध मात्र हुन्छ । एउटा स्थलगत समाचार र रिपोर्ट ल्याउन जाँदा कयौँ साता लाग्ने अवस्था उत्पन्न हुन्छ । सूचना, सञ्चार, मोबाइल, इन्टरनेटको राम्रो सुविधा छैन । अनि यो अवस्थामा गाउँमा लुकेका जनताका पीडाहरू, समस्याहरू कहिले समाचार बन्छन् त ? आज मिडियाहरूले भाषणको मात्र समाचार बनाएर पुग्छ कि पुग्दैन ? यो पत्रकारिताले जनताको मन जितिन्छ कि जितिँदैन ? जनतासँग जोडिएका विषय मिडियामा नल्याउँदासम्म सञ्चारमाध्यमप्रति जनता विश्वस्त पनि हुन सक्दैनन् । यस्ता चुनौतीहरू अहिले पनि यो क्षेत्रमा बाँकी नै छन् ।

(२) समस्याहरू

समस्या भन्नाले पत्रकार, मिडिया हाउस र पत्रकारिता क्षेत्रका सबै समस्या आउँछन् । पत्रकारका समस्याहरू आफ्नै छन् । उसले वर्षभरि काम गरेर पनि तलब–सुविधा पाउँदैन । श्रमजीवी पत्रकार ऐनअनुसार तलब र सेवासुविधा नपाउँदा ऊ शोषणमा परिरहेको हुन्छ । मिडिया उद्यमीहरूले चाहेको बेला हटाउने र ल्याउने गर्छन् । मिडिया उद्यमीहरूका आफ्नै समस्या छन् । केही दलाल मिडिया उद्यमीहरूबाहेक इमानदार मिडिया उद्यमीहरूले कर्मचारीहरूलाई समयमा तलब खुवाउन सक्दैनन् । वार्षिक खर्च व्यवस्थापन गर्न ऋणको भारी बोक्नुपर्ने बाध्यता छ । यस्तो अवस्थाले पत्रकारिता पेसा सङ्कटमा पर्ने खतरा छ । मिडिया हाउसमा महिला कर्मचारीमाथि दुव्र्यवहार, यौनशोषणलगायत विकृतिहरू पनि छन् । अनि दलाल मिडिया हाउसहरूमा भ्रष्टाचार, कमिसन र विकृति पनि मौलाएको छ । यी समस्याहरू नियन्त्रण गर्नु एउटा क्रान्तिकारी पार्टी र जनपक्षीय पत्रकारहरूको दायित्व हुन आउँछ । समस्याहरूलाई बुँदागत रूपमा चर्चा गर्दा निम्नानुसार गर्न सकिन्छ :

(क) असमानता र विभेदको समस्या

मिडियामा व्यापक असमानता र विभेद छ । आफ्ना र पराया गरी छुट्ट्याएर विज्ञापन दिने प्रवृत्ति छ । मोटो कमिसनको धन्धामा कमिसन दिने पत्रकार र मिडियालाई मोटो रकमको विज्ञापन दिने गलत प्रवृत्ति छ । स्थानीय सरकारका कर्मचारी र जनप्रतिनिधिहरूले आफ्नो नजिकका मिडियालाई पैसाको खोलो बगाउने तर आफूनजिक नहुने मिडियालाई अलिअलि कनिका छरेजस्तै झारा टार्ने गरी विज्ञापन दिने चलन छ । यो गम्भीर असमानता र विभेद हो । त्यति मात्र होइन, एक किसिमको भ्रष्टाचार र अपराध हो । यो तरिकाले भ्रष्टाचार र अपराध गर्ने कर्मचारी, जनप्रतिनिधि वा मालिक–पत्रकारलाई कडा कारबाही गरिनुपर्छ । पत्रकारको धाकधम्कीले समाजमा विकृति ल्याउने छूट कसैलाई छैन । यस्ता व्यक्तिको छानबिन गरी समाजवाट नङ्ग्याउनुपर्छ । यो भूमिका जनपक्षीय पत्रकारले लिनुपर्छ । क्रान्तिकारी पार्टीले लिनुपर्छ । समाजलाई वैधानिक बाटोबाट लुट्ने लुटेराहरूलाई समयमै चिन्नुपर्छ ।

(ख) दलाली र भ्रष्टीकरणको समस्या

यसका बारेमा माथि पनि केही चर्चा भएको छ । वास्तवमा पत्रकारमा हुनुपर्ने गुणहरू नभएका गैरपत्रकारहरूको बिगबिगी छ । उनीहरूको राज्यको सम्पत्ति लुट्नेबाहेकसमाज परिवर्तनको अरू कुनै लक्ष्य छैन । समाज जहाँ गए पनि जाओस्, आफूले लुट्न पाए पुग्ने व्यक्तिहरूको रजाइँ छ । राज्यसत्ताका मुख्य निकायहरूमा पनि त्यस्ता व्यक्तिहरू विराजमान छन् । उनीहरूको संरक्षण र योजनामा लुटतन्त्र चलिरहेको छ । पछिल्लो समयामा केही दलाल, बुर्जुवा मिडियाका पत्रकारहरूले व्यापक बार्गेनिङ गर्ने गरेका छन् । दलाली र भ्रष्टाचारी गरेका छन् । रातारात करोडपति भएका छन् । एउटा पत्रकारले एक वर्षमै जिल्ला सदरमुकाममा विशाल घर बनाउँछ भने त्यो कस्तो पत्रकारिता हो ? केही त्यस्ता पत्रकारहरू छन । यो राज्यले छानबिन गर्नु पर्छ कि पर्दैन ? यस्तो अवैध धन्धा गर्न छूट छ कि छैन ? उनीहरूलाई कानुनी दायराभित्र ल्याउनुपर्छ कि पर्दैन ? अवश्य पर्छ । तर राज्य नै निरीह भएपछि कसको के लाग्छ र ? स्वच्छ, स्वतन्त्र र मर्यादित पेसाका रूपमा चिनिने पत्रकारिता पेसा अमर्यादित र कमाउ धन्धामा परिणत भएपछि पत्रकारिता पेसा नै सङ्कटमा परेको छ । यसको नकारात्मक असर जनता र इमानदार तथा जनपक्षीय पत्रकारलाई पनि परेको छ ।

(ग) सत्यको ढाकछोप र अपराधी संरक्षणको कभर

एउटा पत्रकारले सत्य कुराको तोडमोड गरी भ्रमपूर्ण र असत्य कुराको प्रचार गर्छ, समाचार बनाउँछ भने त्यो समाज परिवर्तनमा सहयोग पुग्छ कि पुग्दैन ? अवश्य पनि पुग्दैन । समाजलाई हानि पुर्याउँछ । प्रतिक्रियावादी पुँजीवादी वर्गले आफ्नो अपराध ढाकछोप गर्न, असत्य कुरा प्रचार गरी आफ्नो सत्ता–स्वार्थ लम्ब्याउने कोसिस गर्छन् । इतिहासमा जर्मन शासक हिटलरले पनि त्यस्तै गरेका थिए । उनको सत्ताका सूचना तथा सञ्चारमन्त्री गोयबल्सले भन्ने गरेका थिए– ‘एउटा असत्य कुरा हजारपटक सत्य भनेर प्रचार गर्यो भने त्यो सत्य हुन्छ ।’ आज पनि पुँजीपति वर्गले यही नियम लागू गरेको छ । वर्गीय समाजमा सञ्चारमाध्यम पनि वर्गीय हुन्छ । पुँजीपति वर्गले सम्पूर्ण मिडियाको शक्तिमा श्रमजीवी वर्गमाथि शासन लादिरहेको छ । श्रमजीवी वर्गका पक्षमा कलम चलाउने मिडिया, पत्रकारहरू कमै छन् । पैसामा खरिदबिक्री हुने र असत्य कुराको प्रचार गर्ने मिडिया र पत्रकारबाट जनताले आशा गर्नु निरर्थक छ । यो पत्रकारिता भनेको समाजमा अपराध गर्नेहरूको संरक्षण गर्ने पत्रकारिता हो । गलत दिशामा जनतामाथि अपराधी पत्रकारिता लादिएको छ ।

(घ) जनपक्षीय मिडियाको विकास र विस्तारको अभाव

अखबारका बारेमा लेनिनले भन्नुभयो, ‘अखबारले जनतालाई शिक्षा दिन्छ । सङ्गठनलाई बलियो बनाउँछ । कुनै पनि राजनीतिक पार्टीको निम्ति अखबार एउटा ठूलो हतियार हन्छ ।’ रुसमा जार सरकारको अत्याचारका विरुद्ध धावा बोल्न सन् १९१२ अप्रिल २२ मा लेनिनले दैनिक अखबार प्राब्दा (सत्य) निकाल्न स्टालिनलाई निर्देशन दिने बेला यस्तो भन्नुभएको थियो ।

सन १९१४ मा रुसमा केरेन्स्कीको अस्थायी सरकारले रुसी समाजवादी बोल्सेभिक पार्टीको केन्द्रीय मुखपत्र रावोचिपुत (मजदुरको बाटो) कब्जा गर्न खोज्यो । अन्ततः यो मुखपत्रको कार्यालयमा हमला गर्ने केरेन्स्की सरकार आफैँ ढल्यो र १९१७ को अक्टुबर क्रान्तिपछि रुसमा समाजवादी सत्ता स्थापना भयो ।

त्यसैले पनि जनताका पक्षमा बोल्ने, लेख्ने मिडियाहरूको महत्व धेरै हुन्छ । समाजमा खराब र असलबीच युद्ध छ । यस्तो बेला पुँजीपति वर्गले आफ्नो वर्गको स्वार्थपूर्ति गर्न मिडियालाई प्रयोग गरेको छ । तर श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने शक्तिले त्यसका विरुद्ध आवश्यक मात्रामा कदम चाल्न सकेको छैन । जनपक्षीय मिडियाहरूको विकास र विस्तार हुन सकेको छैन । भएका मिडियाहरूको संरक्षण हुनसकेको छैन । यसले गर्दा दलाल पुँजीपति वर्ग हाबी भएको छ । सञ्चार क्षेत्रमा मात्र हाबी भएको होइन, यसको असर राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि परेको छ । तुलनात्मक रूपले क्रान्तिकारी शक्ति कमजोर छ । दलाल पुँजीपति वर्गले यी सबै क्षेत्रबाट समाजमा शोषण, दमन, अत्याय, अत्याचार गर्दै कुहिन लागेको सत्ता बचाउने दाउ गरिरहेको छ । मिडियाको काम सत्ता बचाउने र हटाउने कुरामा पनि महत्वपूर्ण हुन्छ ।

३) समाधानका उपायहरू

कुनै पनि काम गर्दा चुनौती र समस्याहरू दुवै हुन्छन् । ती चुनौती र समस्याहरूको समाधान खोज्नु महत्वपूर्ण विषय हो । नेपालको बिग्रँदो पत्रकारितालाई सही बाटोमा ल्याउनसर्वप्रथम राज्य सञ्चालकहरू नै ठीक हुनुपर्छ । राज्य सञ्चालन गर्नेहरू नै खराब भएपछि त्यसवरिपरिको सबै चीज खराब हुँदै गएको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक खराबी त यो संसदीय व्यवस्थामा छँदै थियो, त्यसैमा सञ्चारमाध्यम र पत्रकारहरूको पनि यो व्यवस्थाले दुरुपयोग गरेको छ । यसलाई यी विधि र प्रक्रियावाट समाधान खोज्ने प्रयास गर्नुपर्छ :

(क) दलाल संसदीय व्यवस्थाको अन्त्य

यी सबै खराबीको पहिलो कारण दलाल संसदीय व्यवस्था हो । यो दलाल संसदीय व्यवस्थाको अन्त्य नै समाधानको पहिलो विकल्प हो । दलाल संसदीय व्यवस्था नेपालमा रहँदासम्म राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र सञ्चारलगायत कुनै पनि क्षेत्रका खरावीहरू अन्त्य हुन सक्दैन । आज सबैले यो बुझिरहेका छन् र देखिरहेका छन् । राजनीतिक र आर्थिक अवस्था कस्तो छ ? सामाजिक क्षेत्रमा भ्रष्टाचार, कमिसन किन मौलाइरहेको छ ? हत्या, हिंसा, बलात्कारलगायत अपराध किन बढिरहेका छन् ? आर्थिक क्षेत्रमा दलालीकरण किन भइरहेको छ ? सांस्कृतिक क्षेत्रमा छाडा, विकृति र विसङ्गति किन बढिरहेको छ ? यस्ता प्रश्नहरूको जबाफ भनेको दलाल संसदीय व्यवस्थाको प्रणाली नै खराब भएर हो । राज्यसञ्चालकहरू नै संरक्षणकर्ता भएर हो । पत्रकारिता भनेको त्यसभित्रको एउटा पाटो मात्र हो । यो पनि दलाल र भ्रष्टीकरण हुँदै आएको दिनको घामजस्तै छर्लङ्ग छ । त्यसैले पहिलो समस्याको समाधान भनेको यो व्यवस्थाको अन्त्य हो । यो व्यवस्थाको विकल्प खोज्नु हो । यसको विकल्पका रूपमा समाजलाई वैज्ञानिक समाजवादमा लग्नु हो । नेता चुन्ने चुनावभन्दा वैज्ञानिक समाजवादका लागि जनमतसङ्ग्रको चुनाव गर्नु नै वैज्ञानिकता हो । यसका लागि इमानदारीसाथ सबै नेपालीले पहल गर्नुपर्छ ।

(ख) नीति, विधि र दृष्टिकोणको स्पष्टता

राज्यसत्ताको नीति, विधि र दृष्टिकोणमा स्पष्टता हुनुपर्छ । यो भएन भने समाजमा झनै मिडिया अराजकता बढ्न सक्छ र बढ्दै गएको छ । यो हुनुको मुख्य कारण नीति, विधि र दृष्टिकोणमा स्पष्टता नभएर हो । प्रत्येक मिडियाहरूको पनि दृष्टिकोण स्पष्ट हुनुपर्छ । कस्तो मिसन हो ? जनताको पक्षको हो वा दलाल पुँजीपति वर्गको हितमा हो ? यो दृष्टिकोण स्पष्ट हुनुपर्छ । दलाल व्यवस्था संरक्षणका लागि पत्रकारिता कि समाज रूपान्तरणका लागि पत्रकारिता ? मिडिया हाउस तथा सञ्चारकर्मीहरूले आफूलाई नाप्नुपर्छ । यी यस्ता थुप्रै प्रश्नहरू छन् । यसको सही जबाफ दिने आँट गर्नुपर्छ । मूलतः कानुनी कुरा जनपक्षीय छ कि छैन ? जनताको हितमा सत्ता छ कि छैन ? त्यसपछि सञ्चारमाध्यमले कुन वर्गको सेवा गरिरहेका छन् ? पत्रकारले कुन वर्गको सेवा गरिरेहको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ । अनि मात्र समाधानको विकल्प निकाल्न सकिन्छ ।

(ग) जनपक्षीय मिडियाको विकास र विस्तार गर्नुपर्ने

एउटा क्रान्तिकारी पार्टीले जनपक्षीय मिडियाको विकास र विस्तार गर्न विशेष ध्यान पुर्याउनुपर्छ । यसमा पार्टीको ध्यान पुग्न सकेन भने हामी सबैलाई दलाल व्यवस्थाका बुर्जुवा मिडियाहरूले खान सक्छन् । हाम्रा उपलब्धिहरू ध्वस्त हुन सक्छन् । तिनको संरक्षणका लागि पनि जनपक्षीय मिडियाहरूको विस्तार आवश्यक छ । जनतासम्म सही सूचना पुर्याउन नै इमानदार पत्रकारको काम हो । यो काम जनपत्रकारहरूले मात्र पूरा गर्न सक्छन् । प्रगतिशील र क्रान्तिकारी शक्तिले पूरा गर्न सक्छ ।

(घ) खराब प्रवृत्तिविरुद्ध सङ्घर्ष

सङ्घर्ष नै जीवन हो । हरेक वस्तु अस्तिस्वमा रहन सङ्घर्ष गर्नुपर्छ । यो सर्वमान्य मान्यता र विज्ञानको नियम हो । सङ्घर्षबिना परिवर्तन पनि हुन सक्दैन । अहिलेसम्मका परिवर्तनहरू सङ्घर्षकै उपज हुन् । समाज परिवर्तनका लागि जहिले पनि खराब प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्छ । अझै भन्ने हो भने मिडियाभित्र हुने खराब प्रवृत्तिविरुद्ध व्यापक भन्डाफोर गर्नुपर्छ । दलाल, भ्रष्टाचारीको संरक्षण गर्ने, अपराध ढाकछोप गर्ने, कमिसन खाने, दलाली गरी रकम असुल्ने मिडिया र पत्रकारलाई समाजवाट सधैँका लागि बहिष्कार गर्नुपर्छ ।

(ङ) लोककल्याणकारी विज्ञापनको समान वितरण

सरकारी निकायबाट पाइने लोककल्याणकारी विज्ञापनमा विकृति छ । यसमा पनि विभेद र कमिसन चल्छ । सबै मिडियाहरूले समान रूपमा विज्ञापन पाउने वातावरण छैन । सबै मिडियाहरूले समान रूपमा विज्ञापन पाउनुपर्छ । रेडियो, टीभी, पत्रपत्रिका, अनलाइनलगायत सबै सञ्चारका माध्यमहरूलाई विज्ञापन दिनुपर्छ । कुनै मिडियाले पाउने र कुनैले नपाउने प्रणाली अन्त्य हुनुपर्छ । प्रदेश र स्थानीय निकायवाट पाउने विज्ञापनहरू पनि सबै मिडियाहरूले पाउनुपर्छ । काखा र पाखाको अवस्था, विभेदको अवस्था अन्त्य हुनुपर्छ । विभेदरहित र समानताको मर्यादित पेसाका रूपमा पत्रकारिता चिनिनुपर्छ । दलाल पेसाका रूपमा चिनिनु हुँदैन । यस्तै पत्रपत्रिका वर्गीकरणको पनि समस्या छ । सबैभन्दा ठूलो चलखेल हुने गरेको छ । यो पनि वैज्ञानिक तवरले हल गरिनुपर्छ ।

निष्कर्ष

भेरी–कर्णाली क्षेत्रमा मात्र होइन, सिङ्गो देशमा नै पत्रकारिताका क्षेत्रमा चुनौती र समस्याहरू बढ्दै गएका छन् । तिनको सही समाधान खोज्नु हामी सबै सचेत नागरिकको कर्तव्य हो । हामी सचेत नागरिक हुनुको नाताले समाजमा हुने विकृति, विसङ्गति, भ्रष्टाचार, चोरी, कमिसन, डकैती, बलात्कार, हिंसा आदिको सशक्त प्रतिरोध गर्नुपर्छ । अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ । तर हाम्रो देशमा विडम्बना छ ! अपराधी, भ्रष्टाचारी, बलात्कारी जोगाउने व्यवस्था नै छ । यसका सञ्चालकहरू नै छन् । यसको विकल्प नखोजेसम्म हल हुनसक्ने अवस्था छैन । यो अपराधी बचाउने दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न लाग्नैपर्छ । यसको ठाउँमा वैज्ञानिक समाजवाद ल्याउनुपर्छ । अनि मात्र पूर्ण परिवर्तन भएको हामी सबैले महसुस गर्नेछौँ । हामी सबैले पहिला आफैँलाई सच्याउने काम गरौँ । त्यसपछि व्यवस्था सच्याउनेतिर लागौँ । अनि मात्र सवैको भलाइ हुनेछ । जनताको जित हुनेछ ।

(लेखक जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य हुन् । उनको ‘भेरी–कर्णालीमा पत्रकारिताका चुनौती, समस्या र समाधान’ शीर्षक हामीले परिमार्जन गरेका हौँ– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :