कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोटमा २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाईयो

कालीकोट : नेकपाले कालीकोटमा २७ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरी जिल्लाभर भव्यताका साथ मनाएको छ । नेकपाले जिल्लाभर विकेन्द्रित रुपमा नगरपालिका र गाउँपालिका स्तरमा जनयुद्ध दिवस मनाएको प्राप्त समाचारमा जनाइएको छ । जिल्लाको माल्कोट, रास्कोट, पचालझरना, खाडाचक्र, तिलागुफा लगायतका ठाउँहरूमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ ।

नेकपाले रास्कोट नगर कमिटीको आयोजनामा रास्कोट नगरपालिकामा सबै भन्दा बढी सहिद भएको ठाउँ वडा नं. ९ चुत्रिकोटमा जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । नगर कमिटी इन्चार्ज बिशाखर जैसी ‘किरण’ को अध्यक्षमा भएको औपचारिक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जुम्ला÷कालीकोट जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘बिराट’ को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विराटले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै जनयुद्धको औचित्य प्रचण्ड–बाबुरामहरूले सकेपनि आफ्नो पार्टीले नसकेको बताए । उनले जनयुद्धका घाईते, अपाङ्ग र जनयुद्धमा साथ दिने जनताको उच्च सम्मान गर्दै सहिद परिवार, बेपत्ता परिवारहरूलाई निरास नहुँना आग्रह गर्दै समवेदना व्यक्त गरे ।

नेता विराटले आफ्नो पार्टीले सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता समेत सहिद परिवार अगाडि व्यक्त गरे । कार्यक्रममा सहभागी सबैलाई जनयुद्धको २७ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उनले दलाल संसदीय व्यवस्थाले जनयुद्धको सपना पूरा नहुने र त्यसको लागि वैज्ञानिक समाजवादी व्यवस्था चाहिने बताए । उनले राष्ट्रिय स्वाधीनतामाथि माओवादी भन्ने एकथरी प्रचण्डहरूले नै खेलवाड गरेको र अमेरिकालाई एमसीसी पास गराउने प्रतिबद्धता सहितको गोप्य पत्र पठाएर राष्ट्रघात गरेको बताए ।

कार्यक्रममा जनयुद्धमा योगदान पुर्याउने घाइते टन टमट्टा, उमेश खड्का, बृद्ध कम्युनिस्ट नेता राजन रोकाय, सङ्घर्ष दर्जी, मिना तिरूवा, सेती महतारा लागायतलाई प्रमुख अतिथि विराटले दोसल्लाह ओढाएर सम्मान गरे ।

उक्त कार्यक्रममा अतिथिको रुपमा साधारण साखा सेक्रेटरी नेत्रराज वराल ‘भुकम्प’ एकीकृत जनक्रान्तिका घाइते टन टमट्टा, जनयुद्ध घाइते उमेश खड्का, महान् सहिदका आफन्तजन, लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा लागेका बुढापाखा राजन रोकाय, सङ्घर्ष दर्जी, मिना तिरूवा, सेती महतारा लगायत रहेका थिए । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव निर्देशनले गरेका थिए ।

यसैबीच नेकपा पचालझरना गाउँ कमिटीको आयोजनामा जनसमुदायको सहभागीतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइएको छ । गाउँ कमिटी सेक्रेटरी तखतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य शाहसीको प्रमुख अतिथ्यमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहसीले जनयुद्ध दिवस मनाई रहँदा जनयुद्धको सपना पूरा गर्ने पार्टी अवको एकमात्र विप्लव नेतृत्वको नेकपा भएको दाबी गरे । उनले प्रचण्ड–बाबुरामहरूले जनयुद्धप्रति घात गरेर आत्मसमर्पण गरेको भन्दै उनीहरूको धोका गद्दारीविरुद्ध क्रान्तिको झण्डा नेकपाले उठाएको बताए ।

नेता साहसीले अहिले पनि प्रचण्ड–बाबुरामहरू जनतालाई थप धोका दिन राष्ट्रघाती, जनघाती एमसीसी जस्तो परियोजना संसद्बाट अनुमोदन गराउने तिर लागेको आरोप लगाए । उनले दलाल संसदीय व्यवस्थाको संरक्षण गर्ने प्रचण्ड–बाबुरामहरू जनयुद्धमा सामेल नभई धनयुद्धमा सामेल भएको पुष्टि भएको बताए ।

गाउँ कमिटी इन्चार्ज दलमानले देश र जनताको मुक्तिको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी भएको भन्दै यसलाई साथ दिन जनतालाई अपिल गरे । कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा गाँउ कमिटी इन्चार्ज दिलमान, युवा सङ्गठन नेपाल जुम्ला कालीकोट इन्चार्ज मिनेश लगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :