दोलखामा २७ औँ जनयुद्ध दिवसमा समाज घर शिलान्यास, सहिद परिवार र अग्रज सम्मानित

दोलखामा २७ औँ जनयुद्ध दिवसमा समाज घर शिलान्यास, सहिद परिवार र अग्रज सम्मानित

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखाको आयोजनामा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. १ मा २७ औँ महान जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ ।

जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा समाज घरको शिलान्यास गरिएको छ । समाज घरको शिलान्यास पार्टीका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर सिंह ‘प्रवीण’ ले गरेका हुन् । उक्त कार्यक्रममा जनयुद्धका १० जना महान् सहिदहरु चित्रबहादुर थामी, नेत्रबहादुर थामी, तीर्थबहादुर कार्की ‘राजु’, दिलबहादुर थामी, बाबुकाजी थामी, बिन्दु थामी, भीमसेन बुढाथोकी, रेशम थामी, दीपक थामी र बलदेव थामीका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै ६० वर्ष लागेका अग्रज कम्युनिस्ट कर्णबहादुर थामी र गङ्गा थपलियालाई सम्मान गरिएको थियो । सहिद परिवार र अग्रज कम्युनिस्ट योद्धालाई कार्यक्रमका प्रमुख अतिथि प्रवीणले अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य प्रवीणले आफ्नो पार्टीका नेता–कार्यकर्तालगायत योद्धाले मृत्युलाई जितेर आएकाले जसरी पनि महान् जनयुद्धको लक्ष्य एवम् सहिदहरुको सपना पूरा गरिछाड्ने बताए । उनले जनताको सत्ता नआउँदासम्म लडिरहने बताए । मन्तव्यका क्रममा उनले यो जनविरोधी दलालहरुको सत्तालाई जसरी पनि ढालिछाड्ने बताए । उनले नेपालका नदीनाला, उद्योगधन्दा दलालहरुले बेचेर खाएकाले त्यसका विरुद्ध सशक्त रुपमा लड्न आमदोलखाली क्रान्तिकारी जनसमुदायलाई अपिलसमेत गरे । उनले विदेश गएका युबाहरुले समेत देश बनाउन एकपटक अन्तिम लडाइँ लड्नका निमित्त तयार हुनुपर्ने बताए । मन्तव्यका क्रममा उनले चुनावको बेला भोट माग्न आउने दलालहरुलाई प्रतिरोध गर्न अनुरोध गर्दै वैज्ञानिक समाजवाद स्थापनाका निमित्त जनमतसङ्ग्र्रह गर्नुपर्ने बताए ।

दोलखा जिल्ला सेक्रेटरी माधव गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पार्टीका विशेष समिति सदस्य अर्जुन योगीले गरेका थिए । २७ औँ जनयुद्ध दिवस मनाउँदा विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकीहरू समेत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :