मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

मिथ्या र भ्रमपूर्ण समाचार फैलाइएको नेकपा जुम्लाको दाबी

नेपाल कम्युनिस्ट पार्टी जुम्लाले जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै समाचार भ्रमपूर्ण र मिथ्या भएको बताएको छ ।
सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गएका भनिएकाहरु आफ्नो पार्टीमा विभिन्न मुद्धामा कारवाहीमा परेकाहरु भएको भन्दै उनीहरुको माओवादी केन्द्रमा प्रवेशले आफ्नो पार्टीलाई कुनै असर नगर्ने बताएको छ ।
विज्ञप्तीमा २०७६ साल असोज २८ गतेको पूर्ण बैठकबाट रविकिरण भनिने चन्द्रविर तिरुवा, तिर्थ वड, रतन वड, जया परिवार लगायतका केही व्यक्तिहरुलाई रुपान्तरणको लागि निलम्बन गरिएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ “निज व्यक्तिहरुले थप पार्टी नीति विपरित गतिविधि गर्दै हिंड्ने राजनैतिक, वैचारिक, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा स्खलित भएको पुष्ट्याईबाट माथि उल्लेखित व्यक्तिहरुलाई पार्टी केन्द्रको निर्देशन मुताविक मिति २०७६ पुस १५ गतेबाट पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन (खारेज) गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।”
उसले यस्ता समाचारबाट अन्य कार्यकर्ता पंक्तिलाई कुनै भ्रममा नपर्न पनि अपिल गरेको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी प्रभाजितद्धारा मंगलबार जारी विज्ञप्तिमा यस्तो अपिल गरिएको हो ।
नेकपा जुम्लाले मिति २०७८ माघ २५ गतेका दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सामाजिक सञ्जाल फेसबुक (आइडी) मार्फत् नेपाल कम्युनिष्ट पार्टी जुम्लाको विषयमा भ्रम पर्ने गरि केहि व्यक्तिको नाम सार्वजनिक भएकोमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति जुम्ला खेद प्रकट गर्दछ भनिएको छ ।
सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी जुम्लाको इन्चार्ज चन्द्रविर तिरुवा (रविकिरण), सेक्रेटरी तिर्थ वड (विज्ञान), सह–सेक्रेटरी अलि शाही (कैलाश) भनि विभिन्न जनवर्गीय संगठनको नाम र जिम्मेवारी तोकी सार्वजनिक गरिएको व्यक्तिहरुको नामावली भ्रमपूर्ण, मिथ्या र कपोकल्पीत हो जारी विज्ञप्तीमा भनिएको छ ।
नेकपा जुम्लाले नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, पार्टी सदस्य र आम क्रान्तिकारी जनसमुदायहरुमा भ्रममा नपर्न आग्रह गर्दै पार्टी सुदृढीकरण र रुपान्तरणले एकीकृत जनक्रान्तिलाई क्षति हैन थप मजबुत र उर्जा प्रदान गर्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :