जयसिंहको हत्या र साम्राज्यवादविरुद्ध जनआक्रोश

जयसिंहको हत्या र साम्राज्यवादविरुद्ध जनआक्रोश

भारतीय साम्राज्यवादी अतिक्रमण र दादागिरीका कारण फेरि अर्को नेपालीले सीमा क्षेत्रमा ज्यान गुमाउनुपरेको छ । कथित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन तर्दातर्दै डोरी काटिदिएपछि साउन १५ गते महाकाली नदीको बर्खे भेलमा डुबेर बेपत्ता भएका जयसिंह धामी अब जीवितै फर्केर आउने सम्भावना छैन । हजारौँ जयसिंह धामीहरू साम्राज्यवादी दादागिरी, थिचोमिचो र दमनका कारण महाकालीमा मात्र होइन, नेपालको प्रत्येक सीमा क्षेत्रमा र भारतीय भूमिमा श्रम गर्ने क्रममा मारिएका छन् र प्रकारान्तरले सीमारक्षाका क्रममा गोविन्द गौतमको नियति भोगिरहेका छन् । जयसिंहको परिवारले उनी जीवित नरहेको भन्दै साङ्केतिक–प्रतीक निर्माण गरेर अन्तिम संस्कार गरिसकेको अवस्थामा अब उनलाई मृतक नै भन्नुपर्ने अवस्था उत्पन्न भएको छ । यस्तो अवस्थामा साम्राज्यवादी ज्यादतीका कारण अर्को एक नेपालीले सीमाक्षेत्रमा वीरगति प्राप्त गरेको छ । प्रकारान्तरले यो नेपाली नागरिकको सहादत हो । साम्राज्यवादी हस्तक्षेप र दमनका कारण तुइनबाट खसालेर मारिएका युवक जयसिंहप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु र साम्राज्यवादी उत्पीडनबाट मुक्त हुन निरन्तर क्रान्तिमा लामबद्ध हुने प्रण गर्नु देशभक्त र क्रान्तिकारी नेपालीको कर्तव्य हो ।

दार्चुलाको मालघाटस्थित तुइनबाट भारततर्फ जाँदै गरेका ३२ वर्षीय जयसिंह धामीको भारतीय साम्राज्यवादी सैनिकद्वारा गरिएको हत्याले फेरि एकपटक नेपाली जनतालाई साम्राज्यवादी अतिक्रमण, हस्तक्षेप र हत्याविरुद्ध एकतृत भएर राष्ट्रिय मुक्तियुद्ध लड्न प्रेरित गरेको छ । भारतीय साम्राज्यवाद त्यही महाकाली नदीको मुहानमा लिपुलेकदेखि लिम्पियाधुरासम्म अतिक्रमण गर्दै सडक निर्माण गरिरहेको छ भने नेपाली भूमि कालापानीमा ६ दशकभन्दा अघिदेखि साम्राज्यवादी सैनिक तैनाथ गरिरहेको छ । नेपालका सात दर्जनभन्दा बढी स्थानमा अतिक्रमण गरिरहेको भारतीय साम्राज्यवादले भौतिक मात्र होइन, नेपालका सांस्कृतिक, आर्थिक, राजनीतिक, कूटनीतिकलगायत सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गर्दै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि धावा बोल्दै आएको छ । नेपालका कमजोर र बिकाउ शासकहरूलाई दुष्प्रभावमा पारेर नेपालमाथि असमान तथा अत्याचारपूर्ण सन्धिसम्झौताहरू लाद्दै आएको छ । बारम्बार नेपालमाथि नाकाबन्दी गर्दै नेपाली जनतालाई आहत पार्दै आएको छ । नेपालका सम्पूर्ण देशभक्त, राष्ट्रवादी तथा स्वाभिमान जनता र शक्तिले भारतीय साम्राज्यवादको यस किसिमको हस्तक्षेप, अतिक्रमण र हत्या संस्कृतिका विरुद्ध एक भएर लड्नु आवश्यक छ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको रक्षा गर्दै नेपाललाई एक स्वतन्त्र, स्वाधीन, वैज्ञानिक समाजवादी देश बनाउनु आवश्यक छ ।

जयसिंह धामीको हत्यापछि देशभक्त नेपाली जनमत एकपटक फेरि नेकपाको नेतृत्वमा राष्ट्रियताको रक्षा, साम्राज्यवादी उत्पीडनको विरोध र स्वतन्त्रताका पक्षमा सडकमा अभिव्यक्त भएको छ । भारतीय साम्राज्यवाद र उसका नेपाली एजेन्टका लागि जयसिंह र गोविन्द गौतमजस्ता एकाध नेपाली नागरिकको हत्या सामान्य विषय बन्ला तर देशभक्त नेपालीका लागि यो अत्यन्त ठूलो, गम्भीर र संवेदनशील विषय हो । नेपाली जनताले इतिहासदेखि नै कुनै पनि साम्राज्यवादी थिचोमिचो सहेका छैनन् । त्यसैले नेपालीहरू संसारभर देशभक्त र क्रान्तिकारी शक्तिका रूपमा स्थापित छन् । तर नेपालका राष्ट्रघाती, दलाल र साम्राज्यवादका भक्त शासकहरूका कारण नेपालको राष्ट्रियता र नेपाली जनताले बारम्बार साम्राज्यवादी हस्तक्षेप र दमनको मार खप्नुपरेको छ । एकातिर भारतीय साम्राज्यवाद नेपाल र नेपाली जनतामाथि शोषण, दोहन, अन्याय, अत्याचार र दादागिरी लादिरहेको छ भने अर्कातिर अमेरिकी साम्राज्यवाद शेरबहादुर देउवा र केपी ओलीजस्ता राष्ट्रियताप्रति कमजोर र बदनाम पात्रलाई प्रभावित पार्दै राष्ट्रघाती एमसीसी सम्झौता लाद्न खोजिरहेको छ । सिङ्गो नेपालको देशभक्त जनमत साम्राज्यवादी हस्तक्षेप र षड्यन्त्रविरुद्ध चनाखो हुँदाहुँदै पनि साम्राज्यवाद नेपालको शासनसत्तामा गोटी परिवर्तन गरिरहेको छ । ओलीबाट एमसीसी पारित हुन नसक्ने महसुस गरेपछि साम्राज्यवादी डिजाइनमा फेरि नेपालमा सरकार परिवर्तन गरिएको छ । कमजोर राजनीतक, नैतिक, वैचारिक धरातलमा बुख्याँचाका रूपमा सत्तासीन दल र पात्रहरू साम्राज्यवादी उत्पीडनका विरुद्ध खरो उत्रिन सम्भव पनि छैन । फेरि दलाल संसद्वादको चरित्र नै देश र जनताका विरुद्ध पराइप्रति नतमस्तक र प्रतिबद्ध हुनु हो । महाकालीमा राष्ट्रघात गर्ने पात्रहरूकै हातमा सरकार घुमिरहेकाले भारतीय हस्तक्षेप र दादागिरीका विरुद्ध यो सरकार पनि खरो उत्रिन सम्भव छैन । त्यसैले भारतीय साम्राज्यवादका सबै किसिमका हस्तक्षेप र दादागिरी अन्त्य गर्न र युवा जयसिंह धामी र उनीजस्तै साम्राज्यवादको उत्पीडनमा परेका नेपालीले न्याय प्राप्त गर्न यो घटनाविरुद्ध आन्दोलित हुन आवश्यक छ । अपराधीहरूलाई कारबाही गराउन आवश्यक छ । साम्राज्यवादलाई आत्मालोचित गराउन आवश्यक छ । सरकारलाई जिम्मेवार बनाउन आवश्यक छ । देशभक्त नेपाली जनताको स्वाभिमानी चेतलाई कायम राख्न आवश्यक छ र सारमा देश र श्रमिक जनताको उन्मुक्तिका लागि साम्राज्यवादको चाकर र एकाइका रूपमा क्रियाशील दलाल संसद्वादी सत्ता अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न आवश्यक छ । नेपाली जनताको सचेत पहलबाट त्यो असम्भव पनि छैन र निकट क्षितिजमा देखिइरहेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :