धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

धनगढीमा जनपत्रकार सङ्गठनको विचार गोष्ठी

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले धनगढीमा विचार गोष्ठी सम्पन्न गरेको छ। सुदुरपश्चिममा पत्रकारिताको चुनौती, मानवअधिकारको अवस्था र राजनैतिक निकासको बाटो विषयक विचार गोष्ठी आइतबार सम्पन्न गरेको हो ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज ओमप्रकाश पुनले सुदुरपश्चिममा पत्रकारिता क्षेत्रमा अनेकौ चुनौतीहरू भएको बताए। मोफसलमा कलम चलाएर जीविकोपार्जन गरेर पत्रकारिता क्षेत्रमा टिक्न समेत चुनौती रहेको भन्दै सरकारले श्रमजीवी पत्रकार ऐन कडाइपुर्वक कार्यान्वयन गर्नुपर्ने बताए। वर्गीय समाजमा हरेक चिज वर्गीय हुने बताउँदै जनपत्रकार संगठनले उत्पीडित जनताका आवाज उठाउनुपर्ने बताए।

पत्रकारिता र मानवअधिकारको क्षेत्र एकअर्को संग जोडिएको बताउँदै मानवअधिकारको रक्षाका लागी समेत सुरक्षित, स्वतन्त्र र जनमुखी पत्रकारिता गरिनुपर्नेमा उनले जोड दिए। नेपालमा पछिल्लो समय हरेक निर्णय अदालतले गरिदिनुपर्ने अवस्था आएको बताउँदै संसदिय व्यवस्था असफल भएका कारण वर्तमान अवस्था आएको उनको जिकिर थियो। उनले भने “नेपालका नेताहरू मात्र हैन वर्तमान व्यवस्था समेत असफल भइसक्यो, अब यसको विकल्प खोजिनुपर्छ।” नेपालमा व्यक्ति र पार्टी चुन्ने व्यवस्था भए पनि व्यवस्था छान्ने अधिकार नपाएको भन्दै जनताले आफ्नो व्यवस्थाको फैसला आफै गर्न पाउनुपर्ने उनले बताए। लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्नो मत जाहेर गर्न पाउने व्यवस्था उत्कृष्ट भन्ने शक्तिहरू नै जनमतसंग्रहको एजेण्डाबाट डराएको उनको भनाई थियो।

गोष्ठीमा विचार व्यक्त गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक का सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सुदुरपश्चिममा मानवअधिकार र पत्रकारिता क्षेत्र जर्जर रहेको बताउँदै यो अवस्था राजनैतिक दलमा इमानदारिता नहुँदा सिर्जना भएको उनले बताए। राजनैतिक दल लगायत सरोकारवाला सबैले मानवअधिकारको रक्षा गर्दै सुरक्षित, सभ्य र समृद्ध समाज निर्माणमा लाग्नुपर्ने उनको भनाई थियो।

सुदुरपश्चिममा पत्रकारिता क्षेत्रमा रहेका चुनौतीहरूलाई औल्याउँदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका पुर्व अध्यक्ष अर्जुन शाहले पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेर जनताको आवाज बुलन्द गर्न ठुलो चुनौती रहेको बताए। ठुला सञ्चार गृहमा क्रियाशील पत्रकारहरूको अवस्था समेत नाजुक रहेको बताउँदै केही व्यक्तिहरू भने पत्रकारिताका नाममा दालालि गर्दै विलासी जीवन बिताइरहेको उनको भनाई थियो।

कार्यक्रममा नेपाली काँग्रेस कैलालीका नेता केशव मिश्रले मानवअधिकार र पत्रकारिता क्षेत्र असुरक्षित रहे समाज सुरक्षित रहन नसक्ने भन्दै यस क्षेत्रका चुनौतीको न्युनिकरण गर्न आवश्यक रहेको बताए। हरेक व्यवस्था भित्र नकरात्मक गुण रहने भन्दै लोकतन्त्र बलियो बनाउन नेतामा इमानदारिता चाहिने उनको भनाई थियो। दलित साहित्य सोपान का अध्यक्ष गणेश बिकले हरेक क्षेत्रमा समावेशीता आवश्यक भएको भन्दै समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि विचार गोष्ठी महत्वपूर्ण रहने बताए।

जनपत्रकार संगठन का संयोजक शेरबहादुर बिश्वकर्माले पत्रकारिता क्षेत्र सुरक्षित र मानवअधिकारको रक्षा होस् भन्ने उद्देश्यले संगठनले देशव्यापी अन्तरक्रिया गरिरहेको बताए। पत्रकारका पेशागत अधिकारको ग्यारेण्टी हुन नसकेको बताउँदै श्रमजीवी पत्रकार ऐन समेत कार्यान्वयन नहुनु दुखद भएको बताए।

कार्यक्रममा नेकपा कैलाली सेक्रेटरी दिपेन्द्र चलाउने, रातोखबर प्रकाशन गृह प्रा.लि. का पश्चिम संस्करण प्रमुख विनोद बिष्ट लगायत का अतिथीहरूको उपस्थितिमा संगठन का सुदुरपश्चिम संयोजक प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन धर्म सिंह बिकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :