जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

थिचोमिचो र हत्याको बदला लिन्छौँ : नेकपा

जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

कुखुरे आहाल (दोरम्बा) : नेकपा रामेछापले दार्चुलाको मालघाटस्थित तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनालाई साम्राज्यवादी ज्यादती ठहर गर्दै जनताले यसको बदला लिएरै छोड्ने चेतावनी दिएको छ ।

दोरम्बा गाउँपालिकाको ऐतिहासिक स्थल कुखुरे आहालमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले विगत लामो समयदेखि भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथि दमन, शोषण र ज्यादती मच्चाइरहेको र नेपालको दलाल संसदीय व्यवस्थाले साम्राज्यवादलाई आडभरोसा दिइरहेको भन्दै दार्चुला घटना त्यसैको परिणति भएको धारणा राखे । जयसिंहका हत्याराहरूलाई तत्काल कारबाही गर्न र यस किसिमका ज्यादतीहरू दोहोरिने अवस्था उत्पन्न हुन नदिन राज्यले जनतालाई विश्वस्त पार्नुपर्ने उनको भनाइ थियो ।

सेक्रेटरी इन्द्रले भने, ‘नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि वैज्ञानिक समाजवाद अपरिहार्य छ र यसका लागि यो दलाल सत्ता फाल्नु आवश्यक छ ।’ उनले जनमतसङ्ग्रहबाट दलाल संसद्वादी सत्ता फालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्न पार्टीका कार्यकर्तालाई जनताको घरघरमा सन्देश लिएर पुग्न आह्वान गरे ।

रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले संसारभरकै साम्राज्यवादीहरूको चरित्र एउटै रहेकाले अमेरिकी साम्राज्यवादले सिरिया, अफगान्स्तिान, इराक, इरानमा हस्तक्षेप गर्नु र भारतीय साम्राज्यवादले नेपाललगायत दक्षिणएसियाली मुलुकहरूमा दादागिरी मच्चाउनु एउटै कुरा रहेको बताए । उनले भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपबाट नेपाली जनता आजित भइसकेकाले राष्ट्रिय मुक्तियुद्ध लड्नका लागि देशभक्त जनता तयार रहनुपर्ने धारणा राखे । दार्चुला मालघाटस्थित तुइनबाट भारततर्फ जाँदै गरेका ३५ वर्षीय जयकृष्ण धामीको भारतीय साम्राज्यवादले हत्या गरेकाले उनलाई सहिद घोषणा गर्न माग गर्दै उनले दलाल संसद्वादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना सबै किसिमका शोषण, दोहन र व्यभिचारको एक मात्र अचुक समाधान भएको प्रस्ट पारे ।

नेकपा रामेछापका पूर्वसेक्रेटरी कुलदीप थापामागर ‘अभिलास’ ले राष्ट्रियताको रक्षा र साम्राज्यवादी हस्तक्षेप तथा ज्यादती अन्त्य गर्न सबै नेपाली गोविन्द गौतमजस्तै देशभक्त सहिद बन्न तयार हुनुपर्ने धारणा राखे । दलाल पुँजीवादी सत्ता नै देश र जनताका सबै समस्याको कारण रहेको भन्दै उनले वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न सबैलाई आह्वान गरे ।

युवा सङ्गठन नेपाल रामेछापका संयोजक शङ्कर भुजेलको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न विरोध प्रदर्शनमा नेकपा रामेछापका सदस्य रामबहादुर तामाङ ‘भीम’, अखिल क्रान्तिकारी रामेछापका संयोजक कृष्ण भुजेललगायत अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा दोरम्बा, डडुवा कुखुरे आहाल क्षेत्रका बासिन्दा, श्रमिक, किसान र व्यवसायीले पनि दार्चुलाका युवा जयसिंह धामीका हत्यारालाई कारबाही माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । कार्यक्रममा सहिद परिवारका साथै सर्वसाधारणको पनि सहभागिता रहेको जनाइएको छ ।

कुखुरे आहाल रामेछापको जनयुद्धकालको पनि ऐतिहासिक स्थल हो । २०५८ सालमा ५० हजारभन्दा बढी जनताको उपस्थितिमा यसै स्थानमा नेकपा रामेछापको जनसरकार घोषणा भएको थियो । तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ लगायत २१ जना नेता–कार्यकर्तालाई कुख्यात दोरम्बा हत्याकाण्डमा २०६० साल साउन ३२ गते तत्कालीन शाहीसेनाले सामूहिक हत्या गरेको थियो भने उपप्रमुख रेशम चौलागाईं ‘गोपाल’ को केही महिनाअघि निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :