जनमतसङ्ग्रहको बहस किन ?

जनमतसङ्ग्रहको बहस किन ?

केपी ओली नेतृत्वको नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीचमा वार्ता र ‘तीनबुँदे सहमति’ भएपछि ‘जनमतसङ्ग्रह’ बहसको विषय बनेको छ । कतिपयलाई लागेजस्तो यो बहस आकस्मिक रूपमा आएको पनि होइन । यद्यपि सार्वजनिक मात्रै अहिले गरिएको हो । ३ वर्षभन्दा अगाडि नै यो विषय पार्टीको निश्चित तहमा बहसमा थियो । उपयुक्त समय र परिस्थितिमा बहसमा लग्ने सोचिएको थियो । त्यसकारण पछिल्लो परिस्थति देखेर यो विषय छलफलमा ल्याइएको होइन । त्यसकारण विषयप्रति फरकफरक धारणा हुनुलाई हामीले अर्घेल्याइँ गर्नुपर्ने कारण छैन तर विषयलाई हल्का टिप्पणी मात्र नहोस् भन्ने हाम्रो अपेक्षा हो ।

मार्क्सवाद पूर्वसञ्चित ज्ञानको निरन्तरता र विकास हो । जर्मनीको शास्त्रीय दर्शन, इङ्ल्यान्डको शास्त्रीय अर्थशास्त्र र फ्रान्सको क्रान्तिकारी सिद्धान्त (संमृद्ध वर्गसङ्घर्षको इतिहास) लाई कार्ल मार्क्सले ‘निरन्तरता र पूर्णता (Cotinued and Completed) गरेका हुन् । मार्क्सवादका तीन सङ्घटक अङ्गमध्ये क्रान्तिकारी सिद्धान्तभित्र माओवादसम्म आइपुग्दा क्रान्तिमा बल प्रयोगको सिद्धान्त’ र क्रान्तिपछि ‘सर्वहारा वर्गको अधिनायकत्व’ मूल विषय हुन् । पुँजीवादीहरू र संशोधनवादीहरूले सबैभन्दा बढी आक्रमण यसमाथि गरेका छन् । मानव जातिले आर्जन गरेको पूर्वसञ्चित ज्ञानको अवज्ञा गरेर अगाडि बढ्न सकिन्न भने त्यसमा विकास नगरीकन पनि अगाडि बढ्न सकिन्न । विकासका नाममा यथास्थितिको पक्षपोषण गर्ने प्रवृत्तिको चर्चा आवश्यक छैन । विकास गर्नैपर्ने र त्यसो गर्दा जोखिमपूर्ण पाइलाहरू चाल्नैपर्ने हुन्छ । दायाँ र बायाँ दुवैथरी दुर्घटनाहरू हुन सक्छन् ।

क्रान्ति बल प्रयोगको तरिकाले हुन्छ कि शान्तिपूर्ण तरिकाले हुन्छ भन्ने विषयमा मार्क्स, लेनिन र माओका आआफ्नै अनुभव र निष्कर्ष छन् । कार्ल मार्क्सले नेदरल्यान्डको एउटा आमसभामा र लेनिनले १९१७ फरवरी–जुलाईबीचमा क्रान्तिको शान्तिपूर्ण रूपको वकालत गर्नुभएको छ । यद्यपि मार्क्स र लेनिनले बल प्रयोगलाई सार्वभौम रूपमा र शान्तिपूर्ण स्वरूपलाई विशिष्टतामा प्रयोग गर्नुभएको छ । यस सम्बन्धमा माओको धारणा अझ बढी बोधगम्य र संश्लेषित छन् । मार्क्स र लेनिनको भनाइलाई दुरुपयोग गरेर विभ्रम उत्पन्न गर्ने कार्यमा युगोस्लाभियाका टिटो र रुसका ख्रुस्चोभ संलग्न भएपछि माओले मोर्चा समाल्नुभएको थियो ।

माओले समाजवादी सत्ता स्थापना गर्न शान्तिपूर्ण र हिंसात्मक दुवै स्वरूपलाई खुला राख्नुपर्छ भन्नुभएको छ (हेर्नुस् महान् बहस, अन्तर्राष्ट्रिय प्रकाशन, हिन्दी संस्करण, परिशिष्ट १, पृष्ठ ८१, मुजफ्फरनगर, उत्तरप्रदेश, १९९८) । त्यसो गर्नुका ३ कारणहरू रहेको माओको दाबी छ–

(१) शान्तिपूर्ण सङ्क्रमण र गैरशान्तिपूर्ण सङ्क्रमण एउटाको मात्र प्रयोग गर्दा भन्दा दुवै प्रयोग गर्दा बढी गतिशीलता आउँछ । राजनीतिक पहलकदमी जस्तोसुकै समयमा पनि कायम रहन्छ ।

(२) हिंसा सर्वहारा वर्गको रहर नभएर आत्मरक्षाको विषय हो र पुँजीवादले कम्युनिस्टमाथि थोपरेको आरोप खारेज गर्न र जनतालाई सङ्गठित गर्न सजिलो हुन्छ ।

(३) अन्तर्राष्ट्रिय र घरेलु राजनीतिमा आमूल परिवर्तन भएर शान्तिपूर्ण सङ्क्रमणको सम्भावना भयो भने हाम्रो हात बाँध्नेछैन ।

क्रान्तिका दुई तरिकालाई आत्मसात गर्ने हो भने त्यसलाई कार्यनीतिमा पनि ढाल्न सक्नुपर्छ । तयारी एउटाको मात्र गर्ने औपचारिक अर्थमा दुवै भन्नुको अर्थ एउटा मात्र मान्नु हुन्छ । कार्यनीति जे अपनाउँदा रणनीतिको सेवा बढी गर्न सकिन्छ त्यही कार्यनीति अपनाउनुपर्ने हुन्छ । जुनसुकै रूप अवलम्बन गरे पनि सर्वहारा वर्गले आफूलाई वैचारिक रूपले निःशस्त्र पार्नु हुँदैन । त्यही भएर लेनिनले ‘शान्ति र रोटी’ नारा दिनुभयो । त्यत्ति मात्र भन्नुभएन, समाजवादी सत्ता भनेको ‘सम्पूर्ण रसियाको विद्युतीकरण हो’ सम्म भन्नुभयो । माओ बेइजिङको सरकार च्याङ काइसेकसँग वार्तामा बस्नुभयो । क्रान्तिको शान्तिपूर्ण सङ्क्रमणका सबै सम्भव तरिकाहरू प्रयोग गर्नुभयो । जनयुद्धमा संविधानसभाको नारा नै गलत थियो कि थिएन ? बहस भएको छैन । तर नेतृत्वको वैचारिक पतन हुनुभन्दा अगाडि संविधानसभाको नाराले रणनीतिको सेवा गरेकै थियो । त्यसरी नहेर्ने हो भने जनमोर्चाको नेतृत्वमा माओवादीले ४० सूत्रीय माग बुझाउनुको पनि औचित्य पुष्टि हुँदैन तर त्यसले जनयुद्धलाई नैतिक बल प्रदान गरेको थियो । रणनीतिको सेवा नगर्ने कार्यनीति लफ्फाजी मात्र हुन जान्छ ।

संविधानसभा स्वीकार गर्ने कि सम्पूर्ण सत्ता नै गुमाउने ? भन्ने प्रश्न आएपछि नेपालको पुँजीपति वर्गले संविधानसभाको माग स्वीकार गरेको थियो । संसदीय शक्ति र माओवादीबीच लेनदेन भएपछि मात्र संविधानसभालाई स्वीकार गरेको बहस पनि छ । यहाँ समस्या कार्यनीतिमा हो कि कार्यनीतिप्रतिको इमानदारीमा हो ? भन्ने प्रश्न आउँछ । जनता सुधारवादी कार्यक्रमद्वारा क्रान्तिकारी परिणामको अपेक्षा गर्छन् । सचेत जनता क्रान्तिकारी परिणामका लागि क्रान्तिकारी कार्यक्रम नै चाहन्छन् । क्रान्तिकारीहरूले दुवैलाई कार्यक्रमसहित नेतृत्व गर्न सक्नुपर्छ । यहाँ एउटाले विज्ञान र अर्कोले कला पक्षको प्रतिनिधित्व गर्छन् । माओ र च्याङ काइसेकबीच वार्ता, रुसको फेब्रुअरी क्रान्ति शान्तिपूर्ण क्रान्तिको प्रयास, उत्तरभियतनाम र दक्षिणभियतनामको स्विट्जरल्यान्ड विश्वसम्मेलन नभएको भए ती देशहरूको क्रान्ति के हुन्थ्यो ? गोन्जालोहरूको वार्तानीतिलाई कसरी बुझ्ने ? विश्व–कम्युनिस्ट आन्दोलनका यी सबै प्रयोग र अनुभवहरू हाम्रा लागि शिक्षा हुन् ।

क्रान्तिको खासखास चरणमा विपरीत वर्गहरूका बीचमा सहमति र सम्झौता अनिवार्य हुन्छ जसमा प्रगतिशील वर्गले जित्छ । यद्यपि अग्रगामी वर्गले यदाकदा हार्न पनि सक्छ । कवि बर्तोल्त ब्रेख्त भन्छन्, ‘सद्गुण हुनाले पराजित भएका नभई तिनीहरू कमजोर भएका हुनाले पराजित भएका हुन् भन्न साहस चाहिन्छ ।’ जित र हार नै सत्यको कसी होइन । उत्पादक शक्ति अनुकूल हुनु वा समाजका अन्तरविरोधहरू समाधान गर्ने क्षमता अथवा शक्तिले सत्य र असत्यको निरूपण गर्छन् । त्यसो हुँदैनथ्यो भने २०३६/०३७ सालको जनमतसङ्ग्रहले निर्दलीय पञ्चायती व्यवस्था नै अजम्मरी मान्नुपथ्र्यो । निर्दलवादीको तुलनामा बहुदलवादीहरूमा आवश्यक परिपक्वता नभएर वा कमजोर भएर पराजित भएका थिए । त्यस्तो भए पनि राजनीतिक संन्यास लिनु पर्दैन । जनतामा जान कसैले रोक्दैन । आआफ्नै प्रकारका जोखिम तथा सकार–नकार दुवै स्वरूपमा छ ।

समाजको समस्या समाधान गर्न नसक्नु व्यवस्थाको असफलता हो । असफलता सङ्कट नै हो । तर सङ्कट त्यसै क्रान्तिको जननी हुँदैन । वर्गसङ्घर्षको निकासद्वारा सङ्कटलाई क्रान्तिसम्म पुर्याउन सक्नुपर्छ । हात बाँधेर बसेर क्रान्तिकारी सङ्कट आउँदैन । लेनिनको शब्दमा पुँजीवादी सङ्कटलाई ‘क्रान्तिको सङ्कट’ सम्म पुर्याउन योजनाबद्ध पहल आवश्यक हुन्छ ।

यो व्यवस्थामा समाधान छैन भन्नेमा आमसहमति बन्नै लागेको छ तर निकास के भन्ने प्रश्नमा निम्नतम् एकरूपता छैन । आजको समस्या यो हो । वर्गसङ्घर्षलाई विकास गरेर मात्रै ‘सत्यको रहस्योद्घाटन’ गर्न सकिन्छ । वर्गसङ्घर्ष ज्ञानको स्रोत हो । श्रमिक तथा मध्यम वर्ग दुवैको हकमा यो सत्य हो । जनयुद्धले विकास गर्दै जाँदा मध्यम वर्ग क्रान्तिको नजिक आएको हाम्रै अनुभव छ । नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिको ‘उधारो बहस’ नयाँ होइन । हामी कार्यदिशाप्रति स्पष्ट र विश्वस्त छौँ । प्रयोगद्वारा वस्तुगत वा वैज्ञानिक हुन्छ कि हुँदैन ? त्यसको छिनोफानो व्यवहारले गर्नेछ । हामी प्रयोगमा जान, परीक्षा दिन इमानदार प्रयास गर्छौँ तर हामी हिजो पनि, आज पनि ‘दिन कटाउने, काल पर्खने’ मनोविज्ञानमा छैनौँ ।
मार्क्सवादका आधारभूत मान्यताप्रति स्पष्टता र वर्गप्रति इमानदार भएपछि मार्क्सवादबाट विचलित भइन्न । आफ्नो वर्गलाई जे गर्दा हित हुन्छ त्यस बेलाको सत्य त्यही हो । वर्गको हित नै अडानको आधार हो जुन निर्वाचित संविधानसभालाई खारेज गर्ने लेनिनको सैद्धान्तिक आधार वर्गप्रतिको इमान थियो । जनमतसङ्ग्रहको निर्वाचन र त्यसपूर्वका प्रक्रियाहरू जनता हार्ने स्तरमा स्वीकार्य हुँदैन ।

अहिलेको संविधान र व्यवस्थाबाट वैज्ञानिक समाजवाद लागू गरौँ भन्ने प्रस्ताव एमाले पक्षले वार्ताअगाडि नै विभिन्न स्तरमा भनेकै छ । त्यसले हामीलाई कहाँ रोकेको छ र ! एउटै वर्गबीचको जनमतसङ्ग्रह र परस्पर विरोधी वर्गबीचको जनमतसङ्ग्रहको परिणाम र प्रक्रिया आधारभूत रूपले नै भिन्न हुन्छन् । त्यसैले त जनमतसङ्ग्रहद्वारा राजनीतिक समस्या समाधान गरौँ भनिएको हो । हामीले ‘अर्को सूर्यबहादुर थापा’ र पञ्चायती प्रेतात्माको नेतृत्वमा जनमतसङ्ग्रहको माग गरेका हौंला भनेर चिन्ता गर्ने बालसुलभ चेतनाले ग्रसित हुनु हुँदैन । बच्चाहरूले घमण्ड गर्दा सौन्दर्यानुभूति हुनसक्छ तर प्रौढहरूले त्यसै गर्नु विडम्बनापूर्ण !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :