थबाङको आकाशमा एउटा रातो तारा अस्तायो

थबाङको आकाशमा एउटा रातो तारा अस्तायो

कहिले काहीँ कस्तो समय आउँछ, दुई विपरीत कुराहरू एकै चोटी टक्रिन आइपुग्ने ! संयोग र बियोग ।

असार १ गते मगर मुक्ति मोर्चाको केन्द्रीय कार्यालयले असार १ गते मगरहरूको भूमे पर्वको बारेमा शुभकामना आदानप्रदान गर्न एउटा भर्चूअल कार्यक्रमको आयोजना गरेको थियो । १२—१५ जना मोर्चाका साथीहरू कार्यक्रममा आइसकेका थिए । ११ बजेबाट शुरू गर्ने भने पनि प्राविधिक कारणले ढिलो हुन गई १२ बज्नै लागेको बेला औपचारिक रूपले शुरू हुन अगावै म सबैलाई असार १ गते मगरहरूको एउटा लोकप्रिय पर्वको खुशीयालीको अवसरमा सबैलाई शुभकामना मात्र के भन्न भ्याएको थिए, छोरीले मलाई पागो त बित्नु भयो रे भनेर खबर गरिन् । मलाई संसारै अँध्यारो भएको जस्तो लाग्यो र एकै क्षिण है भनेर मैले मेरो जुमको भिडियो र अडियो दुबै अफ गरेर छोरीलाई सोधें कसले भन्यो ? भर्खरै अजय दाईको फोन आयो थबाङबाट, छोरीको जवाफ थियो । त्यसको लगत्तै ठीक १२ बजेको थियो, थबाङबाट विप्लवले फोनबाट जानकारी दिए, गोरे पागो त बितिसक्नु भयो काका । आज बिहानैदेखि उहाँको छोरा अनेरासँग लाइभ कुराकानी भइरहेको थियो, मौसमका कारण फोन डिस्टर्भ थियो । यता काठमाडौँ ल्याउने बारे बिहानै कुरा भइसकेको थियो । मैले के भयो दाईलाई यहाँ त केके अर्कै खबर पो आइरहेको छ त के हो, दाईलाई अप्ठ्यारो त भएन ? भन्दा काका बुवालाई बचाउन सकेनौँ उहाँ त बोल्दाबोल्दै प्राण त्याग्नु भयो, भने । म स्तब्ध भएँ, केही बोल्न सकेन, उ पनि यो भन्दा बढी बोलेन । फोन कट्यो । ठिक सवा १२ भएकोे थियो, म भर्चूअल कार्यक्रममा भएकोले समय मिनेट मिनेटको हिसाव भइरहेको थियो, त्यही बेला अमितको फोन आयो, ‘बोबो गोरे बोबोलाई त बचाउन सकेनौँ । ठूलो क्षति भयो । एउटा धरोहरलाई गुमायौँ’ । उहाँले पनि फोन काट्नु भयो । त्यसपछि त यो खबरलाई साँचो मान्नै पर्ने भयो । त्यसपछि मैले वडा असमन्जस्यताका साथ जूम खोलेँ मेरो अनुहारभरि अलि बदलिएको थियो । मूड अलि खराब भएको थियो । सबै साथीहरूलाई यो खबर दुःखद खबर सुनाएँ, सबैले एकैसाथ श्रद्धाञ्जली भने । भर्खरै एकछिन अगाडि ‘शुभकामना’ भनेका मुखले अर्को शब्द निकाल्न नपाउँदै ‘श्रद्धाञ्जली’ भन्नु पर्ने ππ कस्तो नमज्जा । यसले मोर्चाको त्यो जूम कार्यक्रमभरी पनि मेरो मूड त्यति फ्रेस भएन ।

लेखक : सन्तोष बुढामगर

३१ गते बिहानको कुरा हो, गोरे दाई कोरोना लागेर आइसोलेसन केन्द्रमा सिरियस रहेको खबर विप्लवले गरे । ३० गते बेलुकी एकै चुट्का विप्लवसँग फोन भएको थियो तर मौसम र टावर नभएको कारण फोन कट्यो । पछि लाख कोशिस गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ८ः१० बजे विप्लवको फोन आयो : ‘गोरे पागो क्वारेन्टाइनमा सिरियस बिमारी छन्, हिजोदेखि खाना खान पनि छोड्नु भयो रे । के गर्ने काठमाडौँतिर ल्याउन सम्भव छ कि छैन ?’ मैले थप केही नभनेर तुरुन्त ल्याउने मिलाउनुस् यता मिलाउन सकिन्छ । त्यसपछि कान्छो भाई प्रबेश रोकासँग सम्पर्क भयो र तुरुन्त काठमाडौँ लिएर आउने सल्लाह भयो । यताको चिन्ता नलिनु, मैले भाइहरूलाई भनिसकेको छु, छिटो लिएर आउनु, भनेँ । यता कोविदको र निरन्तर ३ दिनदेखि पानी परिरहेकोले कुनै पनि गाडीहरू नआएकोले गाडी नपाएको, थबाङको एम्बुलेन्स बिग्रेकोले समस्या भएको सुनाए । साँझसम्म भए पनि जसरी पनि ल्याउने जतिखेर पनि अस्पतालहरूमा मिलाउन सकिने, थप कर्मचारी भएकोले कागजपत्रहरू लिएर आउनुसम्म भनेको थिएँ । उनले पनि यति कुरा भन्न भ्याए जसरी पनि आउने मिलाउँछौँ, त्यहाँ आउँदा तपाईसँग सम्पर्क गर्छौँ । त्यसपछि फोन पटक्कै लागेन, सम्पर्क टुट्यो । हिजो बेलुकी एक कल लाग्यो अझैँ गाडी नपाइएको कुरा गरेँ । मङ्गलबार बिहान सम्पर्क गर्दा अमित मार्फत छोरासँग सम्पर्क भयो र तुरुन्त लिने सल्लाह भयो । दुर्भाग्य !! त्यसपछि एकाएक उहाँको डेथ भएको खबर आयो ।

छोराका अनुसार २८ गतेसम्म उहाँ नर्मल नै रहेको, २९ मा अलि असजिलो महसुस गरेको र बढी च्यापेको त्यस दिनदेखि खाना पनि खान नमानेको, भन्ने थियो । उहाँलाई मुटु र दमको समस्या थियो । त्यसमा पनि मुटुको समस्या अलि जटिल रहेछ । पारिवारीक श्रोतका अनुसार ३ बर्ष अगाडि उहाँलाई मुटुको समस्या देखिएपछि गंगालालमा देखाउनु भएको रहेछ । डाक्टरले मुटुको भल्भ फेर्नुपर्छ भनेछन् तर उहाँले अप्रेशन गर्न मान्नु भएन भन्ने छ र त्यसपछि डाक्टरले औषधी दिएर पठाएको र त्यो नियमित खाइरहेको केही महिना यता खाइरहेको मुख्य औषधी छुटाएको अर्थात खान छोडेको र बाँकी खाइरहेको औषधीहरू डेट स्पायर भएको रहेछ भन्ने डाक्टरहरूको भनाई छ भनेर पार्टीका साथीहरूको भनाई छ । त्यहाँको पार्टी सचिव क. अमितको भनाई अनुसार कोरोना निहुँ मात्र भएको रहेछ उहाँलाई पुरानो उहाँको मुटु सम्बन्धी रोगका कारण नै रहेछ । ३१ गतेसम्म हामीसँग रामै्र कुराकनी भइरहेको थियो । हामी रातदिन सँगै छौँ । ज्वरो पनि त्यस्तो थिएन । खाना नखानुको कारण पनि पेट फुलेर हो भनी आफैँ भन्नु हुन्थ्यो । उहाँभन्दा कोरोनाले सिरियस बरु अरू नै थिए । उनीहरू निको भए । हामी क्वारेन्टाइनमा दिनदिनै खाना खुवाइरहेका छौँ । मङ्गलबार पनि उहाँ हामीसँग कुरा गर्दागर्दै एक्कासी प्राण त्याग्नु भयो । अव जे भएपनि हुने भइसक्यो, सबैलाई छोडेर जानु भयो । उहाँको केवल सम्झना र उहाँले गर्नु भएका सकारात्मक कार्यहरूबाट सिक्ने र उहाँले छोडेका अधुरा कार्यहरूलाई पूरा गर्ने, बाचा गर्नु बाहेक हामीसँग अरू उपाय नै पो रह्यो र ।

‘गोरे दाई’ पार्टीभित्र सबैले चिन्ने नाम हो । उहाँको घरको नाम पूर्णजी रोका हो र उहाँको अहिलेको चलन चल्तीको नाम पूर्णवहादुर रोका हो । पार्टीभित्र ‘कमरेड गगन’ नाम चलाउँदै आउनु भएको थियो । उहाँ थबाङको पहिलो सहिद कमरेड लली रोकाको जेठो दाजु हुनुहुन्छ । आमा ढोङ्गा रोका र बुवा हित रोकाको कोखबाट पहिलो सन्तानको रूपमा २००६ साल भदौ १२ गते साविकको थबाङ गाविस वडा नं. ६ हाल थबाङ गाउँपालिका वडा नं. २ थबाङमा जन्मिनु भएका गोरे दाईका तीन भाई र एक बैनी मध्य बैनी लली रोकालाई २०५३ सालमा थबाङ १ फुन्टीबाङ बस्ने दिलमान रोकासँगै सार्वजनिक ठाउँबाटै गिरफ्तार गरी लगेर थबाङ चौकीका थानादार जितबहादुर बस्नेतले निर्मम यातना र पाशविक बलात्कारपछि गोली हानी हत्या गरेका थिए । गोरे दाईका दुई छोरी र एक छोरा मध्य जेठी छोरीको निधन भएको र कान्छी छोरी लालकुमारी रोका र एक मात्र छोरा अनेरा रोका शिक्षण पेशामा छन् । छोरीले धादिङतिर बिवाह गरेकी र छोरा अलग्गै छुट्टिएर बसेको, बुढाबुढीहरू मात्र एक्लै बस्दै आएका थिए ।

उहाँ धेरै नबोल्ने, आवश्यक कुरा मात्र बोल्ने तर काममा लगनशील र इमान्दार, कर्तव्यनिष्ठ हुनुुहुन्थ्यो । सादा जीवन उच्च बिचारका प्रतीकको रूपमा रहेका गोरे दाई नरम, सहनशील र कहिल्यै नरिसाउने स्वभावका हुनुहुन्थ्यो । राजनीतिक, वैचारिक र साँगठनिक बिषयमा घन्टौँसम्म पनि छलफल गर्न सक्ने क्षमता उहाँमा थियो । उहाँले हरेक चीजलाई शुरुदेखि अन्त्यसम्म बीट नमार्दासम्म लागी पर्नु हुन्थ्यो । उहाँले स्कूलको प्राङ्गन टेक्नु भएन र पनि उहाँको लेखन शैली, लेखन क्षमता हेर्दा कसैले प्रोढ कक्षा मात्र पढेको भनेर पत्याउन गाह्रो हुन्थ्यो । उहाँले थबाङको राजनैतिक, ऐतिहासिक र साँगठनिक बिषयहरूमा ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ नामको एक पुस्तक पनि प्रकाशन गर्नु भएको छ । ‘अरू पनि अभिलेखहरू छन् प्रकाशनको लागि’ भन्ने गर्नु भएको थियो । उहाँ २०२३/२४ बाट तत्कालिन प्युठानी मास्तर खिमानसिं गुरुङले थबाङमा ‘बुढो स्कूल’ खोलेर दिउँसो बिद्यालयमा र बेलुकी २ घन्टा प्रौढ कक्षा (बुढो स्कूल) पढाएर थबाङका धेरै युवाहरू (जो स्कूल पढ्न पाएका थिएनन्) तिनलाई साक्षर बनाउनुका साथै कम्युनिस्ट शिक्षा पनि दिनु भयो । उहाँ यस बुढो स्कूलबाट शिक्षा प्राप्त गर्नु भयो र कम्युनिस्ट शिक्षा पनि प्राप्त गर्नु भयो । उहाँले २०३२ सालमा पार्टी सदस्य प्राप्त गर्नु भयो । यसभन्दा अगाडिका र पछिका थबाङको आन्तरिक दुई पक्षीय सङ्घर्षहरूमा कम्युनिस्ट पक्षमा लागेर निरन्तर सङ्घर्ष गर्नु भयो । उहाँले थबाङ इलाका हुलाक कार्यालयमा लामो समय हलकारा भएर चिट्टी बोकेर, देश बिदेशका खबरहरू गाउँगाउँमा पुर्याएर जनताको सेवा गर्नु भयो । उहाँ शुरुदेखि कम्युनिस्ट बिचारधारा अँगालेकोले उहाँलाई राजनैतिक आस्थाकै कारण कहिले रुकुम कहिले रोल्पाका दुर्गम रुटहरूमा पठाएर प्रशासनले निकै सताएको थियो र पनि उहाँ कहिल्यै पेशा र राजनीतिबाट बिचलित हुनु भएन । देश र जनताप्रति बफादार भएकोले जहाँ पनि गएर इमान्दारीपूर्वक काम गर्नु भयो । उहाँ सरुवा भएर जहाँ गएपनि आफ्नो राजनीति छोड्नु भएन । जहाँ जानु हुन्छ सङ्गठन बनाउनु हुन्थ्यो, पार्टी सेल कमिटीहरू गठन गरेर चलाउनु हुन्थ्यो । त्यो नबनाउँदासम्म लेवी थबाङकै कमिटीमा तिर्न आउनु हुन्थ्यो । अन्तिममा उहाँ रुकुम कोल हुलाक कार्यालयमा रहँदै गर्दा त्यहीँबाट उमेरको अबधि पुगेकोले रुकुमबाट पेन्सन निक्लिनु भयो । अवकासपछि पनि उहाँ गाउँको राजनीतिमा निरन्तर लागिरहनु भयो । उहाँ कहिल्यै थाक्नु भएन । उहाँ घरमा त्यतिकै बस्नु हुन्नथ्यो । थबाङमा पार्टी सङ्गठन बिस्तारमा उहाँको ठूलो भूमिका छ । अध्ययन लेखनमा पनि त्यतिकै दिलचस्वी दिने, हरेक घटनाक्रमहरूको अभिलेख राख्ने र कमिटी प्रणालीमा पनि बडो कुशल र सिपालु गोरे दाई थबाङकै एक नमूना लिडर हुनुहुन्थ्यो । उहाँ एक कुशल सङ्गठक र असल कम्युनिस्ट पनि हुनुहुन्थ्यो । उहाँ जीवनभर कम्युनिस्ट भएर बित्नु भयो । उहाँले सबै भाई बैनीहरूलाई पनि कम्युनिस्ट बनाउनु भयो र पार्टीमा आबद्ध गराउनु भयो । पछिल्लो समयमा छोरासँग भने बिचारमा मतभिन्नता आयो । छोरा जागिरका कारण माकेतिर लागे । यसमा छोरासँग बैचारिक रूपमा असन्तुष्ट पनि हुनुहुन्थ्यो र आ–आफ्नै ढङ्गले राजनीतिक आस्थाका आधारमा क्रियाशील हुँदै आएका थिए ।

उहाँ सिद्धान्त र बिचारमा स्पष्ट र अडिग हुनुहुन्थ्यो । थबाङमा २०३२/३३ पछि मोहन बैद्य, निरन्तर आइरहनु भयो । पार्टीमा नारायण शर्मा दाङबाट, बिष्णु पोख्रल, जलजला, चित्रबहादु आले (क.पवन), ४०/४१ पछि क. बादल निरन्तर आइरहनु भयो र प्रशिक्षित गरी रहनु भयो । यस्तै २०३६ पछि त युवा विद्यार्थी नेता कृष्णसेन ‘इछुक’ निरन्तर आउनु भयो । ४० र ४२ सालमा लामा र एमवीसँग पार्टी बिभाजन हुँदा पनि थबाङ नडग्मगाउनुको एउटै कारण गोरे दाई, तेजमान दाई जस्ता हस्थीहरू नडग्मगाउनु हो । प्रचण्डसम्म आउँदा दोस्रो पुस्ताका भनिएका सूर्यलाल बुढामा अलि बिचलन आयो । तर गोरे दाईलाई यी फुटहरूले कहिल्यै छोएन । पछि प्रचण्ड, किरणहरू जो हाम्रा एक जमानाका हाम्रा आदर्शका नेता थिए र ती नेताहरूसँग सम्बन्ध बिच्छेद हुँदा पनि हाम्रा अग्रजहरूमा कहिल्यै बिचलन आएन र त थबाङ थबाङ भएर उभियो ।

प्रचण्डबाट किरणमा आएपछि मेरै सिफारिसमा थबाङको एक अथक योद्धाको सम्मान स्वरूप केन्द्रीय सल्लाहकार सदस्यमा पदस्थापन हुनु भयो । त्यतिबेला भर्खरै मात्र दिवंगत हुनु भएका कमरेड रिङ (स्वर्गीय कमान झाँक्री) लाई मरणोपरान्त सम्मान स्वरूप केन्द्रीय सल्लाहकार सदस्य घोषणा गरिएको थियो । २०७१ मङ्सीरमा क. किरणबाट नेकपाको पुनरगठन गर्दा किरण नेतृत्वका केन्द्रीय सदस्य र सल्लाहकारहरूलाई पनि केन्द्रीय समितिमा राखेर सम्मेलन आयोजक समिति बनाइएको थियो । त्यो छोटो समयका लागि उहाँ केन्द्रीय सदस्य (सम्मेलन आयोजक समिति सदस्य) पनि हुनुभयो । दाङको राष्ट्रिय सम्मेलन पश्चात केन्द्रीय समितिलाई जुझारु र चुस्त बनाउने पार्टी स्पीरिटमा युवा र सक्रिय साथीहरूले जिम्मा लिनुपर्छ, हामी पुुरानाहरूले पार्टीले दिएको सक्दो जिम्मा लिएर काम गर्नुपर्छ भन्ने सुझाव दिनेमा उहाँ पनि एक हुनुहुन्थ्यो । त्यसबेला उहाँ पनि केन्द्रीय समितिबाट हट्नु भयो ।

गोरे दाईको आफ्नै बिश्लेषणमा थबाङका पहिलो पुस्तामा राख्नु भएका पुराना पुस्ताहरूमा एक जना बर्मन बुढा मात्र बच्नु भएको थियो । उहाँ पनि गत २०७७ साउनमा बित्नु भयो । अव पहिलो पुस्ताका थबाङमा कोही रहेनन् । दोस्रो पुस्तामा राख्नु भएका ११ जनामा २ जना मात्र अहिले जीवित हुनुहुन्छ । सूर्यलाल बुढा र धाँत रोका । उहाँहरू दुबै जना राजनीतिमा र सामाजिक कार्यहरूमा सक्रिय हुनुहुन्न । तेस्रो पुस्तामा उहाँ आफैँ लगायत २१ जनाको नाम आफ्नो प्रकाशित पुस्तक ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ’ नामक पुस्तकमा उल्लेख गर्नु भएको छ । त्यसमा ९ जना वितिसक्नु भएको छ । उहाँ (गोरे दाई आफैँ) सहित बाँकी १२ जना जीवित हुनु हुन्थ्यो । ती मध्य राजनीतिमा अलि चासो राख्ने स्थानीय रूपमा क्रियाशील उहाँ नै हुनुहुन्थ्यो । गणेश बुढा थबाङको सन्दर्भमा सामान्यतः काम गरिरहनु भएको छ । अव उहाँले पनि १२ जना जीवित लिस्टबाट नाम कटाउनु भएको छ । बाँकी ११ जनामा ३ जना थबाङ बाहिर बस्नु हुन्छ । अरू ८ जनामा ७ जना निश्क्रिय र समर्थकको रूपमा हुनुहन्छ । उहाँकै पुस्तकमा उल्लेख भए अनुसार चौथो पुस्ताका रूपमा हामी १४ जना लिस्टमा छौँ । त्यसमध्यमा पनि ६ जना हामी माँझ हुनुहुन्न । २ जना जमाना मै बसाइ सरेर गएका छन् । बाँकी रहेका ६ जनामा पनि २ जना शुभचिन्तक, २ जना सामान्य समर्थकको रूपमा छन् । कमरेड हाङ र म मात्रै राजनीतिमा क्रियाशील छौंँ । त्यसमा पनि जिम्मेवारीले म अलि बाहिर बाहिर हुने भएकोले गाउँमा कमरेड हाङ अहिले पाचौँ, छैटौँ, सातौँ पुस्ताका युवा पुस्ताका सक्रिय कमरेडहरूसँग सक्दो सहकार्य गरेर काम गरिरहनु भएको छ । थबाङका पुराना पुस्ताहरू निख्र्रिदै जाने स्थितिले थबाङमा नेतृत्व अव युवा पुस्तामा सर्दै गएको छ र यसले अब हामीलाई पनि एउटा अभिभावकको ठाउँमा ल्याई पुर्याएको महसुस भइरहेको छ । गोरे दाईले आफ्नो उक्त पुस्तकमा उमेरमा भन्दा पनि राजनैतिक सक्रियता र सङ्गठनमा आबद्धताको आधारमा पुस्ता छुटाउनु भएको छ । पार्टी स्थापना काल (२०१३ यता) का सक्रिय व्यक्ति व्यक्तित्वहरूलाई पहिलो पुस्ताको रूपमा राख्नु भएको छ । यहाँ त्यसैलाई आधार मानेर पुस्ताको उल्लेख गरेको छु ।

उहाँको यो निधनले हामी सबैलाई गम्भीर बनाएको छ । उहाँको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षति हुन पुगेको छ । मङ्गलबारदेखि थबाङको आकाशमा एउटा रातो तारा अस्ताएको छ । उहाँ केवल हाम्रो बिचारमा, हाम्रो मानसपटलमा र उहाँले गरेका र खेलेका भूमिकाहरूमा जीवित हुनुहुन्छ । उहाँले गरेका अनुकरणीय कामहरू सबैले सिकौँ, अध्ययन, लेखन, अभिलेखीकरण, लगनशीलता, इमान्दारीता, निरन्तर क्रान्तिकारी स्प्रीट र अडान, पद–प्रतिस्थामा लोभ–लालच नगर्ने, सादा जीवन उच्च बिचारका धनी, समाज सेवा, धैर्यता, कुशल सङ्गठक, कुशल अभिभाकत्व, सरल स्वभाव, कम्युनिस्ट अनुशासन र नैतिकता, जनशैली, जनसम्बन्ध, दृढता र निष्ठता आदि उहाँबाट सिक्नु पर्ने महत्वपूर्ण कुराहरू छन् । उहाँको यो आकस्मिक निधनले थबाङको पार्टी, थबाङका जनतालाई त शोकमग्न बनाएकै छ, सिङ्गो पार्टी (नेपाल कम्युनिस्ट पार्टी) नै शोकमग्न हुन पुगेको छ । उहाँलाई म हाम्रो पार्टी र केन्द्रीय जनपरिषद् नेपालको तर्फबाट हार्दिक श्रद्धाञ्जली !!! साथै यो शोक अवस्थामा उहाँको परिवारजन र पार्टीका सम्पूर्ण नेता र कार्यकर्तामा हार्दिक समवेदना । शोकलाई शक्तिमा बदलौँ । लाल सलाम गोरे दाई, … अलबिदा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :