छोरा विपिनलाई पत्र

कविता

छोरा विपिनलाई पत्र

प्यारो छोरा विपिन
मुटुभरीको माया,
के हाल सुनाउ, मेरो लाललाई ।
के खवर लेखु
मेरो फुदुनेलाई
मनमा धेरै छ,
लेख्न आउँदैन ।
प्रायः रात,
सपनामा भेट्छु ।
प्रायः दिन, मनमा कल्पन्छु ।
यहि मेरो दिनचर्या छ,
यहि मेरो नियमितता छ ।

सैतिस पुषमा झुल्केको तिमी,
पारीलो घाम झै बनेर,
मेरो आँखाको दियो,
मेरो भरोसाको घर,
मेरो सम्पूर्ण भएर ।
तर बाइस बर्षे जवानी मै,
तिन असार उन्सठ्ठीको
मिरमिरे हुनु अगावै,
मस्त निन्द्रामा हुँदा,
बैरी ढोकैमा आयो,
बोकेर राजाको कुरुप हुकुम
भिरेर शेरेको बन्दुक
आयो विक्रमे प्याधा
टप्प टीपी लगि गयो,

कहाँ लग्यो ?
पत्तो भएन।
कहाँ राख्यो?
थाहै भएन ।
गनीरहेछु औला भाँच्दै
असारका तिन, उन्नीस विते,
यो विसौँ असार तिन,
सारै पिडादायक दिन ।

चालीस त तिमी पनि पुग्यौ ।
म तिन विस कि भए,
मलाई लाठीको जरुरत,
खै कसले देला?

भन्थ्यौ
मालेमा विचारले दिन्छ,
यो नेताको प्रशिक्षण हो ।
भन्थ्यौ,
क्रान्तिले दिन्छ,
यो नेताको आदेश हो ।
भन्थ्यौ
नयाँ जनवादले दिन्छ,
यो नेताको अठोट हो ।

तर बाबु विपिन,
थाहा छैन होला तिमीलाई
अचेल विचार ति नेताले
सिंहदरवारसँग साटे
सिंह दरवारले अलिकति कमिसन लिएर
आधा दक्षिणको छिमेकीसँग साट्यो,
बापतमा नागरिकताको दर भाउ घट्यो
बापतमा कालापानी लिपुलेख उसैको हुने भो ।
आधा समुन्द्र पारीको डनसँग साटियो
बापतमा एमसिसि ब्रान्डको बुट पाउने भो,
क्रान्तिको के कुरा गर्नु ?
बालुवाटारको जग्गा दलेको नाउँमा
दले मन्त्री सिहंदरवारमा,
सिंहदरवार अयोध्यामा,
अयोध्या नेपालमा
यताको जल जमिन र जंगल उता
उताको जन नागरिकमा परिवर्तन भएर यता ।
नयाँ जनवादको झन के भनौँ,
भन्ने गथ्र्यौ
भन्थ्यौँ सत्ता विना सवै भ्रम,
यो ति नेताको भनाई हो,
तर आजभोली
मन्त्री विना सवै भ्रम हो
यो उही नेताको गराई हो
त्यसैले,
जनवाद धनवादमा रुपान्तरण भयो,
धनवादले दलाल मौलायो,
अबको लडाई दलालसँग,
अबको छिनो फानो दलालसँग
दलालको अन्त,
जनताको सत्ता
तिम्रो सपना साकार
तिमीसँग भेट
मेरो अन्तिम अभिलाषा

अझ के भनौ विपिन,
अचेल,
टाउको खसीको देखाउँछन
मासु कुकुरको बेच्छन
कुरा समाजवादका गर्दछन
भरीया दलालका बन्छन
केपीले पिकेलाई घिउ वेच्यो
पिकेले केपीलाई तरबार
घीउ उतैको तरबार पनि उतैको
व्यापार मात्रै यता भो

प्यारो विपिन
प्यारो छोरा
हरेश खाएकी छैन,
म तिम्रो खोजीमा निरन्तर
तिम्रो सपनामा निरन्तर
निरन्तर निरन्तर
लागि रहने छु
बगिरहने छु
आजलाई यति
तिम्री आमा ।

लेखक : शान्ता भण्डारी, राज्यद्वारा वेपत्ता पारिएका विद्यार्थी नेता विपिन भण्डारीकी आमा हुनुहुन्छ । २०७८।०३।०२

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :