अपुताली

कविता

अपुताली खान खोज्नेहरू
लगानी खान खोज्नेहरू
उमेर परिपक्क पुग्नेहरू
यदि तिमी मानव हौ भने
आफ्नै श्रममा बाँच्ने गर
अशंवंश दाइजो खोज्नेहरू
महिला हुर्मत लिनेहरू
सत्तामा बसी राज्य ढुकुटी
बेथितिबाट लुट्ने लुटेराहरू
प्रजातन्त्र गणतन्त्र लोकतन्त्र
नारा ओराल्नेहरू
राजा महाराजा भै बसिखानेभन्दा
के नै फरक भयो र !
अझै पनि
धर्मको नाममा श्रम लुट्ने
सामन्तजस्तो बर्बराउने
ए राजनीतिक बुख्याँचाहरू हो
नीति बेथिति हिंसामा उत्रने नगर ।
आपसमा फुटी
वरिपरिकालाई हँसाउने नगर ।
युवायुवती भाडामा परदेश पठाएर
रिमिन्टयान्सबाट देश चलाउने नगर ।
घरमा श्रम नगरी
खाने अल्छी अधमहरू
अनेकौँ विकृतिको कुम्लो बोक्नेहरू
श्रमका क्षेत्र स्वदेशमा खोज्ने गर ।
श्रीमान्को मृत्युपछि
विदेशीको पेन्सनमा
रमाउने बज्जै आमा, दिदी बहिनीहरू
मेरो देश निहुरिएको
तिमीलार्ई लाज लाग्दैन ।
मेरो देशलाई विश्वमा नहँसाऊ
हिजो
बेथितिलाई समान थिति बसाल्न
सहिदअगाडि लगाएकाहरू
निरङ्कुशतन्त्रका विरुद्ध
जेलनेलको यातना खाएकाहरू
स्वतन्त्रता लोकतन्त्रको
धज्जी उडाउन लाज लाग्दैन ?
ए चप्पलेहरू हो
जनको बलले टुप्पोमा पुगेर
देशलाई फुल्न नदिनेहरूसँग
लम्पसार पर्न हुँदैन
प्रजातन्त्रको बलमा उभिए
निरङ्कुश सामन्त जस्तो
आदेश फर्मान गर्न लाग्दैन
बरु तिमीले
स्वास्थ्य शिक्षा निःशुल्क
रोजगारी व्यवस्थापन गर्दै जाऊ
तब नि
तिम्रो नीतिको गीत गाऊँला ।
हाँसी–हाँसी नाची–नाची
गणतन्त्र दिवस मनाऊँला
अपुताली खाने
संस्कार संस्कृतिको धज्जी उडाऊँला ।

विनपा १०, दीपनगर, सुर्खेत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :