अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज कार्यक्रम आयोजना गरी सन्धिखर्कमा भित्तेपात्रो विमोचन गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ वर्ष २०७८ सालकोे भित्तेपात्रो विमोचन गरेको हो ।

विमोचन कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव तथा कार्यक्रमका प्रमुख अतिथि खेम घर्तीले सङ्गठनले भित्तेपात्रो प्रकाशन गरेकोमा धन्यवाद दिए । उनले सरकारले जनतालाई भेडाबाख्रालाई जस्तै खोरमा थुनेर देश नै बेच्न आँटेको बताए । विभिन्न बहाना गर्दै नदीनाला, गिट्टी, बालुवा, काठलगायत प्राकृतिक स्रोतसाधन भारतलाई बिक्री गर्ने निर्णय गरेर राष्ट्रघाती काम गरेको पनि उनले बताए । एमसीसी पास गर्नका निम्ति अहिले सरकारले टीभी, पत्रिका र रेडियोमा प्रचारप्रसार गरिरहेको र यसो गर्दै जाने हो भने यो दलाल पुँजीवादी सरकारले नेपाललाई सिक्किमीकरण गर्ने धारणा उनले व्यक्त गरे ।

अर्को प्रसङ्गमा उनले सरकारले अहिलेसम्म ३ बुँदे सहमति कार्यान्वयन नगरेको र पार्टीका नेता–कार्यकर्ताहरू अझै पनि झूट्टा मुद्दा झेल्दै जेलमा बसेको स्मरण गराउँदै कोरोनाको महामारीमा पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने लुछाचुँडी गरेर अमानवीय हर्कत जारी राखेको बताए । चुनाव नै गर्ने भए संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवाद ठीक भनेर चुनाव गराउन उनले सरकारलाई सुझाव पनि दिए ।

सङ्गठनका जिल्ला इन्चार्ज नवीन खड्काले आफ्नो सङ्गठनले अग्रपङ्क्तिमा रहेर मुलुकमा विद्यमान थुप्रै विसङ्गतिविरुद्ध आन्दोलन गर्दै आएको र शैक्षिक माफियाहरूले लकडाउनको समयमा पनि शु्ल्क उठाएको पाइएकाले त्यसको प्रतिरोध गर्ने चेतावनी पनि दिए ।

भित्तेपात्रो विमोचन कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसकेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :