महासचिव विप्लवद्वारा केन्द्रीय सदस्य माइला लामालाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत

महासचिव विप्लवद्वारा केन्द्रीय सदस्य माइला लामालाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत

कपिलवस्तु : नेकपाका महासचिव विप्लवले करिब दुई वर्ष जेलजीवन काटेर धरौटीमा मुक्त भएका पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा स्वागत गरेका छन् । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार महासचिव विप्लवले केन्द्रीय सदस्य लामालाई केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् ।

महासचिव विप्लवले नेता लामालाई स्वागत गर्दा पार्टीका अन्य नेता–कार्यकर्ता पनि सहभागी थिए । गत फागुन २१ गते सरकारसँग भएको तीनबुँदे सहमतिपछि नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटे पनि नेकपाका सयौँ नेता–कार्यकर्ता अझसम्म रिहा भएका छैनन् । पार्टीमाथिको प्रतिबन्ध हटे पनि कारागार र हिरासतबाट पार्टीका नेता–कार्यकर्तालाई अझसम्म रिहा नगरेको भन्दै नेकपाले सहमतिप्रति सरकारको ढिलासुस्तीबारे प्रश्न उठाइरहेको छ ।

२०७६ साल साउनमा गिरफ्तार भएका नेता लामालाई सरकारले झूट्टा मुद्दा लगाउँदै दर्जनौँ जिल्ला घुमाएर सङ्खुवासभा कारागारमा बन्दी बनाएको थियो । सरकारले सहमतिअनुसार बन्दी रिहा नगरेपछि लामा धरौटी बुझाएर गत वैशाख १६ गते जेलमुक्त भएका थिए । एक महिना स्वास्थ्यलाभ गरेपछि नेता लामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् ।

नेकपाले जेल–हिरासतबाट मुक्त भएका नेता–कार्यकर्तालाई स्वागत गर्ने संस्कार बसालेको छ । महासचिव विप्लवले यसै सन्दर्भमा नेता लामालाई केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :