कोरोना भाइरसभन्दा खतरनाक संसदीय भाइरस

प्रकृति र मानव समाजमा विभिन्न किसिमका घटनाहरू भइरहन्छन् । ती घटनालाई समाधान गर्न, पूरै निमूुल पार्नका लागि उक्त विषयवस्तुसम्बन्धी खोज र अनुसन्धानको विषय तीव्र रूपमा अगाडि बढाउनु प्रतिस्पर्धात्मक विज्ञानको पाटो र जिम्मेवारीको विषय हो । वर्तमान समयमा मानव जातिलाई विश्वभरि कोरोना भाइरसले मनोविज्ञान नै खल्बलिने गरी सताइरहेको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस विश्वभरि सम्पूर्ण क्षेत्रलाई तहसनहस बनाएर, मानवीय सिकार गरेर निकै चर्चा बटुलिरहेको छ । कोरोनाले हाम्रो देशको पनि गाउँगाउँ, घरघर र दैलोदैलोमा ‘भेटघाट अभियान’ अर्थात् सङ्क्रमण बढाइरहेको देखिन्छ । यसबाट सतर्क बन्नु स्वयम् नागरिकको उत्तरदायित्व बनेको छ किनकि राज्य पक्ष जिम्मेवार छैन ।

हाम्रो राष्ट्र अल्पविकसित, नवऔपनिवेशिक राष्ट्रको संज्ञाबाट परिचित हुनुका साथै विद्यमान खच्चड दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीतिबाट अग्रीम भूमिका खेलिरहेको लोकतान्त्रिक गणतन्त्रात्मक नीति आफैँमा अक्षम र छाडा हुनुले नेपाली जनता अहिले स्वास्थ्य क्षेत्रलगायत बन्दाबन्दीले गर्दा अतिरिक्त आवश्यकतालाई टार्न नसकेर जीवन–मरणको लडाइँ लडिरहेका छन् । यसमा राज्य पक्षबाट अभिभावकत्व निर्वाह गर्नुपर्ने थियो तर उसको भूमिका नेतृत्वविहीन नै देखिन्छ ।

हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउने सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक श्रद्धाञ्जली ! मृतकका परिवारजनप्रति गहिरो समवेदना ! महामारीलाई प्रतिरोध गरेर लडिरहनुभएका सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना । मानव जातिको सबैभन्दा अन्तिम युग विश्व–साम्यवादी युगमा जब राष्ट्रविहीन, जातिविहीन, धर्मविहीन, सम्पूर्ण निजी स्वामित्वको अन्त्य हुन्छ तब मानव जातिले मानव जातिसँग नभएर प्रकृतिसँग प्रतिरोध र सङ्घर्ष गर्नेछ । त्यो विकसित मानव समाजमा सङ्घर्ष गर्नुपर्ने केही प्रकृतिप्रकोप वर्तमान युगमा पनि कतैकतै देखापरिरहेको छ, यसलाई उच्च मनोबलका साथ सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । स्वयम् आफैँले प्रतिरोध र सङ्घर्ष गर्नुपर्ने देखिन्छ भने विज्ञानलाई चुनौतीपूर्ण विषयको उत्थान भएको देखिन्छ । विकसित राष्ट्रले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पुँजी सङ्कलन गर्ने केन्द्र बनाइरहेको देखिन्छ । यो हुनु भनेको स्वास्थ्य विज्ञानका क्षेत्रमा नै प्रश्नचिह्न खडा हुनु हो । यसको समाधानका विषयमा गहिरो अनुसन्धानबाट निष्कर्ष निकालिनुपर्छ ।
नेपाली जनतालाई उपचार र सुरक्षाको एउटा मात्र माध्यम छ, त्यो हो : लकडाउन जसले गर्दा रोगले भन्दा भोकले खपिनसक्नु पीडाबाट ग्रसित, दिनभरि मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्ने सर्वहारा, श्रमजीवी, किसान, मजदुर, बेसहारा नागरिकको जीवन साँच्चिकै कष्टकर छ । व्यापारी, उद्यमी र व्यवसायीहरूको पनि दैनिकी निराशाले छाइरहेको छ । भ्रष्टाचार, कमिसन, कालोबजारीमा चुर्लुम्म डुबेको केपी ओली नेतृत्वको सरकारलाई आफ्नो सरकार कसरी टिकाउने भनेर हम्मेहम्मे परेको छ । अन्य संसदीय दलका काला भालुहरू आफू कसरी कुर्सी र पदमा जाने भनेर विभिन्न जालजेल र षड्यन्त्रको जाल फिँजाइरहेका छन् । एकचोटि खुब चर्चामा आएको संसद् विघटन पुनः गठन भएर फेरि केपी ओलीको सिफारिसबाट भोका भालुहरूको समूहलाई विघटन गरिएको छ । २०७८ साल कात्तिक २६ गते र मङ्सिर ३ गते मध्यावधि चुनाव तोकिएको छ । यो सरकार टिकाउने र कुर्सी अड्काउने बकम्फुसे चलखेल मात्र हो । यो हुनु पनि हुँदैन । नेपालमा खोल ओढेका कम्युनिस्टको मिलोमतोमा दुईतिहाइको बहुमत सङ्कलन गरेर लाइसेन्स प्राप्त खिचडी सरकारलाई राजनीतिक सङ्कट आउनु भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफल चरित्र नाङ्गेझार हुनु हो । बलात्कार, हत्या, हिंसालगायत घटना मौलाउनु भनेको दलाल पुँजीवाद हाबी हुनु हो । एउटा घरको अभिभावकले जसरी पिरिवारका सदस्यको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाको पूर्ण जिम्मेवारी लएको हुन्छ त्यसैगरी राज्यले आफ्ना नागरिकको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ । यो दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट बिल्कुल सम्भव छैन । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एउटा स्वाभिमानी नागरिकको पहिचान हुनका लागि एक मात्र व्यवस्था हो– वैज्ञानिक समाजवाद । वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले वैदेशिक हस्तक्षेपलाई प्रतिरोध गर्छ । जुन नागरिक जन्मन्छ राष्ट्रका लागि जन्मन्छ । केही गर्छ भने राष्ट्रका लागि गर्छ । मर्छ भने राष्ट्रका लागि मर्छ । त्यसैले प्रिय नयाँ पुस्ताले अब सोच्ने बेला आएको छ– एकचोटि हाम्रा पुर्खाको बहादुरीलाई ब्युँझाउनुपर्छ । सत्यतथ्य विषयबस्तुको ठोस निर्णय लिन सक्नुपर्छ । कुनै दलालका नाइकेहरूलाई भोट सङ्कलन गर्न लगाएर लाइसेन्स प्राप्त गराई जनतामाथि दमन लाद्ने किसिमको व्यक्तिविशेषको पुँजीपतिका हनुमानहरूलाई चयन गर्ने चुनाव हाम्रो पुस्ताका लागि स्वीकार्य छैन, बरु नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने व्यवस्थाविशेषको चुनाव गरिनुपर्छ । जनमतसङ्ग्रहद्वारा आफ्नो व्यवस्थाको फैसला गर्ने जिम्मा नेपाली जनतालाई दिनुपर्छ । जनमतसङ्ग्रह अहिलेको राजनीतिक सङ्कटको एक मात्र विकल्प हो ।

प्रिय विद्वान् युवा पुस्ताहरू दलाल संसदीय व्यवस्था अठारौँ शताब्दीमै असफल भैसकेको व्यवस्था हो । यसले हाम्रो सङ्कटको समाधान गर्दैन । हाम्रो भविष्यको निष्कर्ष दिँदैन । त्यसैले दलाल पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा चुनाव हुनुपर्छ । यसलाई विश्लेषण गर्नु तपाईं–हाम्रो चुनौतीपूर्ण विषय हो । पुँजीवाद आफँैमा रक्तपिपासु हो । यो व्यवस्थाबाट सञ्चालित राष्ट्रहरू अहिले पनि असफल भएका छन् । कोरोना भाइरसको महामारीलाई प्रतिरोध गर्ने मात्र नभएर जनताको सम्पूर्ण समस्याको समाधान गरेर अगाडि बढेका राष्ट्रहरू भनेका समाजवादी व्यवस्थाको विकासक्रमबाट अगाडि बढेका राष्ट्रहरू मात्र हुन् । तपाईंहरूले अध्ययन गर्न सक्नुहुन्छ मित्र राष्ट्र चीन, जनगणतन्त्र कोरिया (उत्तरकोरिया) लगायत समाजवादी व्यवस्थालाई पक्षपोषण गर्ने राष्ट्रहरू दिनौँदिन तीव्र गतिमा विकसित भएर अगाडि बढेका छन् । जुन राष्ट्रका नागरिक समान ढङ्गबाट चिन्ताजनक जीवनबाट मुक्त छन् भने दलाल पुँजीवादी व्यवस्थाबाट सञ्चालित राष्ट्रहरू वर्तमान महामारीमा धनी झन् धनी र गरिब झन् गरिब हुँदैछन् । यो दलाल पुँजीवादको असली चरित्र हो । लुट्नु, राज्यको ढुकुटीलाई निजीकरण गर्नु भनेको दलाल पुँजीवादको नीतिभित्र पर्छ । समाजवादी राष्ट्रबाहेक अन्य राष्ट्रका किसान, मजदुर, उद्यमी, व्यवसायी, श्रमजीवी वर्गका पीडाहरू एउटै हुने गर्छन् । वर्तमान महामारीलाई ध्यानमा राखेर गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा हेर्ने हो भने नेपालमा धेरै ठूलो सङ्कट पैदा भएको देखिन्छ । दैनिक जीवनयापन गर्न नसकेर कोरोनाबाटभन्दा आत्महत्या गरेर मृत्यु हुनेहरूको सङ्ख्या बढी देखिन्छ । शिक्षा क्षेत्रमा त झन् दिनौदिन खस्किँदो अवस्था देखिन्छ । सुविधासम्पन्न धनाढ्यका छोराछोरीहरू इन्टरनेट र अनलाइनबाट अध्ययन गरिरहेका छन् भने गरिबका छोराछोरीको भविष्य बादलझैँ मडारिएको देखिन्छ । स्वास्थ्य क्षेत्रमा आर्थिक हिसाबबाट सम्पन्न र राज्यको पहुँचमा भएकाहरूको स्वास्थ्य उपचार र परीक्षण पटकपटक भैरहेको छ भने बिचरा, गरिब जनताले अक्सिजन नपाएर, विकट ठाउँमा सिटामोल नपाएर अल्पायुमै मर्नुपरेको छ । त्यसैले कोरोना भाइरस र दलाल पुँजीवादी संसदीय व्यवस्था उस्तै हुन् । यसले चाहेर पनि जनतालाई लाउन–खान दिँदैन । यसलाई प्रक्षपोषण गर्ने संसदीय भाइरस पनि खतरनाक हुने गर्छन् । यसकारण संसदीय व्यवस्थालाई जरैदेखि उखेली चितामा लगेर जलाउन हाम्रो पुस्ता तयार हुनुपर्छ । यसको स्वरूप जुकाको जस्तै हुन्छ । अरूको रगत पिउन बानी परिसकेको हुन्छ । पुँजीपतिका मूर्तिहरूलाई कथित चुनावमा खर्च गर्ने पुँजी कहाँबाट आउने हो, दाता राष्ट्रसँग कचौरो थापेर कि राष्ट्रिय सम्पत्तिलाई हस्तान्तरण गरेर ? राज्यका नागरिकको जीवनयापन गर्न हम्मेहम्मे छ । चुनावमा वितरण गरेर लाइसेन्स किन्ने पुँजी कहाँबाट आउने हो ? सकिन्छ भने जनताको जीवन जोगाउन लाग ब्वाँसा हो, रगत चुसेर राज गर्ने काम बन्द गर । विदेशी नागरिकलाई नेपाली नागरिक बनाएर राष्ट्रलाई सिक्किमीकरण र फिजीकरण गर्ने चलखेल बन्द गरियोस् । यो हाम्रा लागि स्वीकार्य छैन, बरु बलिदान गर्न तयार छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :