प्रिय रातो झन्डा !

कविता

लेखक : रमेश रावत ‘विक्रान्त’

सहिदको रगतले लतपतिएको
गरिब, किसान र मजदुरका
गहनास्वरूप हँसिया–हथौडा अङ्कित
वैज्ञानिक समाजवाद र साम्यवादको
रातो झन्डालाई झुकाउनु हुँदैन
प्रिय रातो झन्डा तिमी
झुकेको सुहाउँदै–सुहाउँदैन ।

मालेमावादको सिद्धान्त र रातो झन्डालाई पनि
बलियोसँग पकड्नुपर्छ ।
आदरणीय नेतृत्व
माक्र्सवादसँग हड्बडाउनुभएको भए
माक्र्सवाद चिरञ्जीवी हुँदैनथ्यो
लेनिन चुकेको र झुकेको भए
रसियामा समाजवाद आउँदैनथ्यो
एकीकृत जनक्रान्ति
हड्बडाउनु हुँदैन
फर्फराउनुपर्छ ।
प्रिय वीर योद्धा
रातो झन्डालाई झुकाउनु हुँदैन ।

प्रिय कमरेड
हामी गोन्जालो बन्न तयार हुनुपर्छ
हामी कुमार पौडेल बन्न तयार हुनुपर्छ !
हामीले धनरूप बटलाबाट सिक्नुपर्छ !!
हामी आत्मघाती बन्न तयार छौँ !!!
तपाईंले प्रज्वलबाट सिक्नुपर्छ !!!!

अर्को प्रचण्ड बन्न कसैलाई छूट छैन
अर्को बाबुराम बन्न कसैलाई छूट छैन ।

प्रिय वीर योद्धा
रातो झन्डालाई
झुकाउनु हुँदैन !!

क्रान्तिकारी रातो झन्डाको
आस र भरोसाको केन्द्रबिन्दु
सगरमाथाको चुचुरोमा
फरफराउने हाम्रो सपना
नाम्चे बजारमै थाक्नु हुँदैन ।
प्रिय रातो झन्डालाई
नाम्चे बजारमै झुकाउनु हुँदैन ।

आदरणीय नेतृत्व
हामीले रातो झन्डा फरफराउनैपर्छ
प्यारो रातो झन्डा झुकाउनु हुँदैन ।

तपाईं नयाँ माक्र्स र एङ्गेल्स बन्नुपर्छ
तपाईं नयाँ लेनिन र स्टालिन बन्नुपर्छ
हामी जनसेना बन्न तयार नै छौँ

माओ आत्तिनुभएको भए
चिनियाँ जनवादी क्रान्ति सम्पन्न हुँदैनथ्यो
प्रिय कमरेड ! रातो झन्डालाई
पुँजीवादका अगाडि झुक्नु हुँदैन
तपाईंहरू नयाँ माओ बन्नुपर्छ !
हामी जनमुक्ति सेना बन्न तयार नै छौँ !!

क्रान्तिको साम्यवादी यात्रामा
थकाइ भन्ने कार्यनीति हुँदैन
हन्डर, ठक्कर र चुनौतीलाई
हाँसीहाँसी पार गर्नुपर्छ
एक सेकेन्ड पनि
रातो झन्डालाई झुकाउनु हुँदैन ।

हेमन्त र शिशिरऋतुको
चिसोलाई नपचाएर
वसन्तऋतु आउँदैन !
प्रिय कमरेड, हामी
आत्तिनु र मात्तिनु हुँदैन
प्रिय रातो झन्डा
झुकेको बिल्कुल सुहाउँदैन ।

रातो झन्डालाई बेरेको
जनक्रान्तिको यात्रा
चुनाव जित्नेसम्म मात्र हुँदै–हैन
उत्तरसाम्राज्यवादलाई जित्नका लागि हो
सबैको दृष्टि क्षितिजतिरै तेर्सिएको छ
आसैआस छ–
कालो रातलाई परास्त गरेर
बादललाई पन्छाएर
अवश्य पनि सूर्य उदाउनेछ ।

प्यारो रातो झन्डा, तिमीलाई चम्काउन
बिहानी पखको सूर्यले
अनौठो उज्यालो ल्याउनेछ ।

नयाँ जोस र उमङ्गका साथ
क्रमशः यात्रा अगाडि बढ्नेछ
प्रिय रातो झन्डा ! चहकिलो घामसँगै
तिम्रो फरफराउने तरिका
एकदमै नयाँ हुनेछ ।

प्रिय रातो झन्डा
तिमी गरिबको झुपडीमा फर्फराउनुपर्छ ।
पूर्व र पश्चिमबाट फर्फराउनुपर्छ ।
विश्वलाई परिक्रमा गर्ने अभिभारा
प्रिय रातो झन्डा, तिम्रो कार्यभार भएको छ ।

प्रिय रातो झन्डा
तिमी मधुरो हुनु हुँदैन
तिमी मधुरो भयौ भने
संसार अँध्यारो हुनेछ
तिमीलाई मधुरो भएको
कदापि सुहाउँदैन !

तिमीलाई चम्किलो बनाउन
रगतका खोलाहरू बगाउन
मन्जुर छन् तिम्रा बलिदानी योद्धाहरू
प्रिय रातो झन्डा तिमी झुक्नु हुँदैन
प्रिय रातो झन्डा तिमी चुक्नु हुँदैन
लालकिरणसँगै
तिम्रो फर्फराउने तरिका
पहिलाभन्दा नयाँ हुनुपर्छ ।

प्रिय कमरेड
हामी सगरमाथाको
चुचुरोसम्म पुग्नुपर्छ
प्रिय रातो झन्डा तिमी
सगरमाथाको चुचुरोमा
हर्षका साथ फर्फराउनुपर्छ ।

९ चैत २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :