त्यो बाघ हैन, बाघछाला हो

कविता

त्यो बाघ हैन, बाघछाला हो

अचम्म किन ? त्यो बाघ हैन
त्यो त बाघको छाला हो
त्यो छालाभित्र भुस भरिएको छ
भुस भरिएको बाघछाला
कहाँ गर्जन्छ र डमरु ?
हो डमरु हो, त्यो बाघ हैन
त्यो त बाघछाला हो
बाघ त उहिले नै मरेको थियो
जहिले स्यालको पासोमा परेको थियो
अबको बाघ तिमी हौ, डमरु तिमी !
तिमी गर्जनुपर्छ डमरु
तिमीले गर्जन छोड्नु हुँदैन डमरु
तिम्रो गर्जन फरक हुनैपर्छ डमरु
तिमी अब डमरु मात्र हैन
तिम्रो काँधमा बाघ बन्ने
जिम्मेवारी आएको छ
तिम्रो गर्जनबाट मुलुकले
क्रान्ति र शान्ति मागेको छ ।
यहाँ हजारौं बाघमुखे स्यालहरूले
प्रतिगामी बाटो लिदैछन्
यहाँ लाखौँ स्यालहरू
रङ्गिएर बाघ हुँ भन्दैछन्
यहाँ मुलुकलाई तिनले
यथास्थितिमा अड्काएका छन्
यहाँ देशमा दाह्रा र नङ्ग्रा गाड्दैछन् ।
अब एक गर्जनबाट
अब हरेक कदमबाट
लोकले स्वतन्त्रता मागेको छ ।
यहाँ विश्वजनहरूले
बाघमुखे स्यालहरूको
अन्त्येष्टि चाहिरहेका छन् ।
त्यसैले डमरु तिमीले बाघ बन्न
अग्रगामी मार्गदर्शनमा हिँड्नुपर्छ
अबको गर्जन झन् फरक हुनैपर्छ ।
तिम्रो फरक पहिचानबाट
क्रान्ति पूरा हुनुपर्छ
सुनौलो बिहानी आउनुपर्छ
स्वाधीनता र समृद्धि छाउनुपर्छ
इसका लागि तिमीले
ती बाघमुखे स्यालहरूको
सिकार गर्नुपर्छ
इतिहासमा असत्यको राज्य
बदल्न सक्नुपर्छ
तिनको नामनिसान मेटाउनुपर्छ
त्यसपछि इतिहासको
नयाँ अध्याय सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्